आइतबार, जेठ ६, २०८१

वैदेशिक रोजगार विभाग पुगे श्रममन्त्री

भन्छन्– सेवाग्रहीले राम्रो सेवा पाएनन्, सुधार्नुस्

मेरोन्यूज २०७८ माघ २३ गते १७:४७

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।

Advertisement

आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिएका हुन् ।

आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरुले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै विभागका कर्मचारीहरुले कार्यशैलीमा सुधार गर्न पनि उनले निर्देशन दिए ।

विभागका महानिर्देशक लगायतका कर्मचारीहरुलाई निर्देशन दिदैँ उनले पीडितहरु आउँदा समयमा उनीहरुलाई रेस्पोन्स गरिदिन आग्रह गरे ।

‘सचिवज्यू र म अहिले आएर हेर्दाखेरी तपाईहरुको कर्मचारीबाट त्यो चिज हामीले पाइएन भनेपछि सेवाग्राहीलाई पक्कैपनि यहाँ सेवा राम्रोसँग पाएको छैन भन्ने हामीलाई लाग्यो । यसलाई सुधार्नुस् ।’– मन्त्री श्रेष्ठले भने ।

विभागको अनुगमनपछि मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीने श्रमिकहरुलाई सहजीकरण गर्नका लागि केही दिनमै श्रमिक सहायता कक्ष सञ्चालन हुने जानकारी दिएका छन् ।

प्रतिक्रिया