आइतबार, जेठ ६, २०८१

प्रचण्डका गम्भीर दुई ‘भुल’

जे गर्नुपर्ने हो त्यो गर्न र बोल्न किन डराउँछन् प्रचण्ड ?

शित्तल शर्मा । काठमाडों २०७८ माघ २३ गते १४:१३

डा‍. बाबुराम भट्टराई पत्नी हिसिला यमीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २०५७ र २०६७ सालमा दुईपटक एउटै प्रश्न गरिन्, ‘कमरेड ! तपाईको नाम विश्वास कसले राख्यो ?’ प्रचण्डले दुवै पटक यसबारेमा हिसिलाको प्रश्नमा कुनै जवाफ दिएनन् ।

Advertisement

हिसिलाले प्रचण्डलाई पहिलोपटक माओवादी जनयुद्धकै बेला । दोस्रोपटक शान्ति प्रक्रियापछि २०६७ सालको पार्टी केन्द्रीय समिति बैठकका क्रममा उक्त प्रश्न गरेकी थिइन् । ।

प्रचण्ड ‘प्रचण्ड’ नामले चिनिनुअगाडि पार्टीभित्र ‘विश्वास’ उपनामले चिनिन्थे । युद्धका बेलामा पनि उनी पार्टीका औपचारिक काममा प्रचण्ड र भूमिगत रहँदा बस्दा विश्वासले चिनिन्थे ।

बेला-बेला प्रचण्डको बोली र व्यवहारमा फरकपन देखा परेपछि आफूले दुईपटक प्रचण्डलाई ‘तपाईंको नाम विश्वास कसले राखेको ?’ भनेर प्रश्न सोधेको तर जवाफ प्रचण्डले नदिएको हिसिलाले एक सन्दर्भमा बताएकी थिइन् । हिसिलाले प्रचण्डको बोली र व्यवहारमा फरक आएपछि विश्वास भन्ने कुरा के रहन्छ भन्दै त्यस्तो प्रश्न गरेको बताएकी थिइन् ।

हुन पनि हिसिलाको जस्तै, प्रचण्डप्रति धेरै मानिसहरूको प्रायः एउटै जिज्ञासा हुन्छ, उनी चलायमान हुन् कि अस्थिर ? उनका केही बहिरमुखी स्वभाव छन्, छिटोछिटो राजनीतिक कदम चाल्न सक्ने । छिनमा चर्को आलोचनामा उत्रने । तिनै आलोचकसँग उत्तिनखेरै मिल्न सक्ने । फ्याट्ट बोल्ने । फेरि फनक्क फर्किने । हिसिलाकै शब्द सापटी लिएर भन्दा ‘मजदुरसँग कुरा गर्‍यो भने मजदुर झैं कुरा गर्न सक्ने, मालिकसँग कुरा गर्‍यो भने मालिक झैं, किसानसँग कुरा गर्दा किसान झैं, सामन्तसँग कुरा गर्दा सामन्त झैं, पुँजीपतिसँग कुरा गर्दा पुँजीपति जस्तो, अर्थात बहुरंगी व्यक्तित्व भएको निम्न पुँजीवादी चरित्र प्रचण्डमा देखिन्थ्यो ।’

प्रचण्डले शान्ति प्रक्रियामा आएपछि ‘गम्भीर दुई भुल’ गरेका छन् । जसले उनी पार्टीभित्रै भलै उनलाई चुनौती दिइहाल्ने नेता छैनन् । तर, ‘अविश्वासी’ बनिरहेका छन् । त्यस्तै अविश्वासको गहिरो खाडल प्रचण्ड आफैले यसपटक फेरि खनेका छन् ।

प्रचण्ड निरन्तरतामा क्रम भंग गर्न रुचाउने नेता हुन् । प्रचण्ड जरुर प्रतिभाशाली नेता हुन् । समकालीन नेताहरूमा प्रचण्डको तुलना अरू नेतासँग छैन । परिस्थिति कस्तो बनेको छ, त्यसको माग के छ, जनताको भावना र मनोविज्ञान कस्तो छ भन्नेमा प्रचण्डको बढी ध्यान जाने गर्छ ।त्यसैअनुसार उनले आफूलाई ढाल्ने गरेको देखिन्छ ।  त्यही कारण हुन सक्छ, उनलाई  कतिपयले गतिशील त कतिपयले अस्थिर नेताका रुपमा टिप्पणी गर्ने गरेका ।

प्रचण्डको राजनीतिक जीवनमा धेरै यस्ता मोड आए । जसमा उनले ‘बोल्ड डिसिजन’ लिएका छन् । तुरुन्तै कमजोरी भयो भन्दै आत्मालोचना र गल्ती स्वीकार पनि गरेका छन् । त्यही स्वभावकै कारण उनले हालै सम्पन्न पार्टीको आठौँ महाधिवेशनमा आफ्नै राजनीतिक दस्तावेजमा आफ्नै कमजोरीको पनि निर्मम समीक्षा गरे ।

जसका कारण पनि बुझ्नै गाह्रो पार्ने विशेषता प्रचण्डसँग छन् । कतिपय उनका स्टेपले भने कालान्तरमा उनी आफैलाई अप्ठ्यारो पनि पारेको छ ।

प्रचण्डले शान्ति प्रक्रियामा आएपछि ‘गम्भीर दुई भुल’ गरेका छन् । जसले उनी पार्टीभित्रै भलै उनलाई चुनौती दिइहाल्ने नेता छैनन् । तर, ‘अविश्वासी’ बनिरहेका छन् । त्यस्तै अविश्वासको गहिरो खाडल प्रचण्ड आफैले यसपटक फेरि खनेका छन् ।

प्रचण्डले २०६२/०६३ को शान्ति प्रक्रियामा आएलगत्तै पहिलो गम्भीर भूल गरे । त्यो हो, ‘मुखमा चुनाव मनमा विद्रोह’को अन्तरविरोधी लाइन ।

बालाजुमा भएको पार्टीको विस्तारित बैठकमा संविधानसभाको पक्षमा जa दस्तावेज पेस भयो । हल त्यसको करिब विपक्षमा देखियो । बालाजु विस्तारित बैठकमा सहभागी करिब ७५ प्रतिशत प्रतिनिधिले विद्रोहमा जानुपर्ने पक्षमा प्रचण्डमाथि दबाब बढाए । त्यसपछि प्रचण्डले भनिदिए, ‘मुखमा चुनाव मनमा विद्रोह ।’

उनको भित्री मनको लाइन चुनवाङ बैठकयता नै संविधानसभाबाट संविधान निर्माणको राजनीतिक लाइन थियो । जब उनी आफैले नेतृत्व गरेको रुकुमको खारा मोर्चामा माओवादी पराजित बन्यो । त्यसपछि प्रचण्ड भित्रभित्रै संविधान सभामार्फत संविधान निर्माण गर्ने, लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने राजनीतिक लाइनमा पुगिसकेका थिए । तर, नेता-कार्यकर्तामा अझै विद्रोहको ‘ह्याङ्ग’ उत्रेको थिएन । सोही कारण बालाजु विस्तारित बैठकमा झण्डै दुई तिहाई हिस्साले विद्रोहको लाइनमा आफूलाई उभ्याए ।

त्यसपछि प्रचण्डले क्रान्ति र विद्रोहका कुरा गर्ने नेताका अगाडि क्रान्ति र विद्रोह, शान्तिपूर्ण राजनीतिको कुरा गर्ने नेतासँग संविधानसभाबाट संविधान निर्माणको कुरा गर्न थाले । यही दोहोरो नीति उनले ०६४ देखि ०६८ सालसम्म पनि लिइरहे ।

प्रचण्डमाथि यतिबेला चौतर्फी दबाब छ । एमसीसी नेपालको स्वार्थमा मात्र केन्द्रीत छैन । यो विषयमा अहिले अन्तर्राष्ट्रिय चलखेल पनि उत्तिकै छ ।

त्यसबेलासम्म उनले पार्टीभित्र किरण, विप्लवहरुसँग विद्रोह र बाबुरामसँग संविधानको कुरा गरिरहे । यसले अन्ततः माओवादी पार्टीलाई संग्लो माओवादीको रुपमा रहन दिएन । ०६९ मा माओवादी पार्टी विभाजित नै बन्न पुग्यो । पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव, मनमा विद्रोहको नीति लिनुलाई गल्ती भएको अन्तत: प्रचण्डले अहिले आफैले स्वीकार गरिसकेका छन् ।

पार्टीको आठौँ महाधिवेशनका क्रममा उनले लेखेको दस्तावेजमा उनले त्यसबेला विद्रोहको कुरै गर्नु हुँदैनथ्यो, गरेर  गल्ती भएको स्वीकारेका छन् । तर त्यो स्वीकारोक्तिले माओवादी पार्टीभित्र टुटफुट र विभाजन रोक्ने र फेरि एकताबद्ध हुने  स्थिति थिएन । त्यसको क्षति भइसकेको थियो ।

अहिले फेरि प्रचण्डले अर्काे गम्भीर भुल गर्दै छन् । त्यो हो, अमेरिकी सहयोग नियोग मिलेनिमय च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्पाक्ट सम्झौताका विषयमा । प्रचण्डमाथि यतिबेला चौतर्फी दबाब छ । एमसीसी नेपालको स्वार्थमा मात्र केन्द्रीत छैन । यो विषयमा अहिले अन्तर्राष्ट्रिय चलखेल पनि उत्तिकै छ ।

छिमेकी भारत या चीन या अमेरिकाको मामिला यसमा सीधा जोडिएर आएको छ । भूराजनीतिक छिटालाई व्यवस्थापन गर्न सक्ने-नसक्ने विषय अहिले एमसीसीसँग जोडिएर आएको छ ।

यसमा पनि प्रचण्डको १४ वर्षअगाडिकै जस्तो ‘मुखमा चुनाव मनमा विद्रोह’को अन्तरविरोधी लाइन जस्तै मनमा एमसीसी मुखमा विरोधको लाइन देखा परिरहेको छ । त्यसको पटाक्षेप प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसीको मुख्यालयलाई लेखेको पत्रले गरेको छ ।

एमसीसीको पक्षमा नखुल्यौं, अमेरिकाले टिआरसी मुद्दामा जुनकुनै बेला ‘हिट’ गर्न सक्ने भय प्रचण्डमा छ । त्यस्तै अर्काे भय सत्तागठबन्धन दल कांग्रेससँगको सम्बन्ध चिसिने ।

प्रचण्डले देउवासँग मिलेर लेखेको संयुक्त पत्र र पार्टीको महाधिवेशनले लिएको नीति आफैमा अन्तरविरोधी देखिएको छ । प्रचण्डको पार्टीले महाधिवेशनमा पारित प्रस्तावमा भनिएको छ, ‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधिनता र हित प्रतिकूल असर पर्ने देखिएकाले  यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस । यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसदसहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।’

तर उनले देउवासँग मिलेर एमसीसी मुख्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘नेपाल सरकार एएमसीसी अनुदानको पक्षमा रहेको र यसलाई नेपालको आर्थिक विकासमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको तपाईलाई विश्वस्त पार्न चाहन्छौँ । प्रतिनिधिसभाबाट सम्झौता अनुमोदनका लागि आवश्यक बहुमत प्राप्तिको उद्देश्यसहित एमसीसीप्रति हाम्रो प्रतिबद्धता जनाउन हामी सहमत छौँ ।’

यसले प्रचण्ड फेरि १५ वर्षअगाडिको जस्तै अवस्थामा पुगेको  छनक दिन्छ । एमसीसीमा भने उनको भित्री मन र बाेली एउटै छ, यसलाई यथास्थितिमा पारित नगर्ने । तर व्यवहार एमसीसीको नाममा पश्चिमा शक्ति राष्ट अमेरिकालाई समेत नचिढ्याउने । जसको चर्काे ‘अक्कर’ मा प्रचण्ड परेका छन् ।

एमसीसीको पक्षमा नखुल्यौं, अमेरिकाले टिआरसी मुद्दामा जुनकुनै बेला ‘हिट’ गर्न सक्ने भय प्रचण्डमा छ । त्यस्तै अर्काे भय सत्तागठबन्धन दल कांग्रेससँगको सम्बन्ध चिसिने । गठबन्धन भत्कने र सम्मुख रहेको निर्वाचन परिणामको भय पनि प्रचण्डमा छ । एमसीसीको पक्षमा प्रष्टै खुल्यौँ, पार्टी जनमत सम्पूर्ण रुपमा विपक्षमा छ । उत्तरी छिमेकी मुलुक चीन रिसाउँला भन्ने पिर उत्तिकै छ । यही दुविधाको चपेटामा प्रचण्ड देखिन्छन् ।

जसका कारण उनले भित्रभित्र एमसीसीलाई नचिढ्याउने र बाहिर एमसीसी संशोधनबिना पारित गर्न नहने रणनीतिक योजनामा छन् । यसले पनि अन्तत: बोली र व्यवहार एउटै बनाउन नसक्दा प्रचण्डलाई हानी पुर्‍याउने देखिन्छ । देउवासँगै चिठी लेखेकै कारण उनको पार्टीभित्र असन्तुष्टि चुलिसकेको छ ।

एमसीसीमा जे गर्ने हो, त्यो उनले बाेली र व्यवहारमा तालमेल मिलाउनु नै प्रचण्ड र माओवादीका लागि  पनि हितकर हुने छ । अन्यथ प्रचण्डको एमसीसीका सवालमा लिएको दोहोरो नीतिले दोस्रो गम्भीर भूल दोहोराउने छ ।

प्रतिक्रिया