आइतबार, जेठ ६, २०८१

श्रम स्वीकृतिबिना वैदेशिक रोजगारीमा नजान अपिल

मेरोन्यूज २०७८ माघ १४ गते २०:२१

काठमाडौं । खाडी तथा युरोपियन मुलुकमा भिजिट भिसामा गएर काम गर्दा अलपत्र परेको गुनासो बढेपछि सरकारले श्रम स्वीकृतिबिना वैदेशिक रोजगारमा नजान सरकारले अपिल गरेको छ ।

Advertisement

वैदेशिक रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा खाडीदेखि युरोपसम्म पुर्याउने गरेको भन्दै श्रम स्वीकृति विना नजान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अपिल गरेको हो ।

दक्षिणपूर्वी एसियाली, युरोपेली तथा अमेरिकी मुलुकहरुमा वैदेशिक रोजगारीमा लैजाने प्रलोभन देखाएर भिजिट भिसामा जानेहरु विभिन्न ठाउँमा अलपत्र पर्ने गरेका छन् ।

त्यसरी जाने नेपाली अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारामा परेको श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले बताए ।

राम्रो रोजगारी र आकर्षक तलब सुविधा पाउने लोभमा कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट वैदेशिक रोजगारीमा जान नमिल्नेभन्दै उनले श्रम स्वीकृति लिएर मात्रै गन्तब्य मुलुकमा जान उनले सुझाए । मन्त्रालयमा यस्ता ठगीका मुद्दाहरु आइरहेको भन्दै भुसालले त्यसतर्फ सचेत गराएका छन् ।

सरकारले वैदेशिक रोजगारीमा पुगेर पीडित बनेकालाई न्याय दिलाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ ।

भिजिट भिसाको नाममा रकम ठगी गर्नेलाई कारबाही गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा मार्सल टिम गठन भएको छ ।

मार्सल टिममा सीआइबीका डिएसपीको नेतृत्वमा एउटा टोली हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केही दिन अघि गृह मन्त्रालयमा श्रममन्त्री कृष्णप्रसाद श्रेष्ठ पर्यटन, परराष्ट्र र गृहसचिवसमेत सहभागी बैठकले पोखरेलको नेतृत्वमा चारै मन्त्रालयका प्रतिनिधि रहनेगरी भिजिट भिसाको समस्या समाधानका लागि योजना पहिल्याउन समिति बनाएको थियो ।

प्रतिक्रिया