शनिबार, जेठ ५, २०८१

कांग्रेस केन्द्रीय समिति बैठक

कार्यसम्पादन समितिमा को-को पर्न सक्छन् ?

मेरोन्यूज २०७८ माघ १४ गते ७:४५

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज शुक्रवार बस्दैछ । भर्चुअल माध्यमबाट अपराह्न ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

Advertisement

पार्टीको जम्बो केन्द्रीय समितिबाट कार्यसम्पादन गर्न अप्ठ्यारो पर्ने भएकोले प्रत्येक महिनामा एक् पटक अनिवार्य बैठक बस्ने गरी कांग्रेसले ४७ जना सम्मको कार्यसम्पादन समिति गठन गर्न लागेको हो ।

पार्टी सभापति र कांग्रेसको संसदीय दलको नेता प्रधानमन्त्री शेरवहादुर देउवा नै रहेकोले उसले ४६ जनाको मात्र अहिले कार्यसम्पादन समिति बनाउन पाउनेछ । काग्रेसको विधानको ब्यवस्था अनुसार पार्टीका पदाधिकारी १४ जान स्वत यसको पदेन सदस्य हुने छन् ।

त्यस्तै पार्टीले तोकेको केन्द्रीय प्रवक्ता पनि पदेन सदस्य हुनेछ । यसअतिरिक्त पार्टी सभापतिले समावेशी सिद्धान्तका आधारमा थप ३१ जनालाई कार्यसम्पादन समितिमा मनोनित गर्न पाउने तर त्यसको अनुमोदन केन्द्रीय समिति बैठकबाट गर्नुपर्ने उल्लेख छ ।

सोही आधारमा आजको केन्द्रीय समिति बैठकले कार्यसम्पादन समिति गठनको सभापतिको प्रस्तावमा छलफल गरी केन्द्रीय समितिले अनुमोदन गर्नेछ ।


को-को नेता पर्न सक्छन् ?


कांग्रेसको कार्यसम्पादन समितिमा पदाधिकारी स्वत पदेन सदस्य हुनेछन् । यसो गर्दा सभापति देउवासहितका १४ पदाधिकारी कार्यसम्पादन समितिमा पर्नेछन् । उपसभापति पूर्णवहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्दय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु भीष्मराज आङदाम्बे, जीवन परियार, महालक्ष्मीउपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र महेन्द्र यादव स्वत पदेन सदस्य हुनेछन् ।

विधानको ब्यवस्था अनुसार एक कोषाध्यक्ष अझै पनि कांग्रेसले चयन गरेको छैन । कोषाध्यक्ष मनोनित गर्ने ब्यवस्था विधानमा छ । त्यस्तै पार्टीको केन्द्रीय प्रवक्ता पनि कार्यसम्पादन समितिको स्वत पदेन सदस्य हुन्छन् । यो पनि काग्रेसले चयन गर्न वाँकी नै छ ।

यसअतिरिक्त थप ३१ जना समावेशी सिद्धान्तका आधारमा सभापतिले प्रस्ताव गर्ने र केन्द्रीय समितिले अनुमोदन गर्ने ब्यवस्था कांग्रेसमा छ । त्यसो गर्दा ३१ जनामा को को नेता पर्छन ? भन्ने अहिले चासो छ ।


देउवाले अहिले पार्टीमा सिनियर रहेका र पूराना नेताहरुलाई पहिलो चरणमा कार्यसम्पादन समितिमा समेटने र केही पद रिक्त राखेर पछि अर्काे चरणमा थप गर्ने गरी तयारी गरेको बालुवाटार स्रोतले बताएको छ । त्यसो हुँदा ३१ जना नै आजकै बैठकबाट कार्यसम्पादन समितिमा रहने नेताहरुको नाम टुग्गो लाग्ने सम्भावना भने नरहेको बालुवाटार स्रोतले बताएको छ ।

तर पहिलो चरणमा कम्तीमा २१ देखि २५ जना सम्म नेताहरु को बारेमा भने प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले नाम प्रस्ताव गर्ने सम्भावना अधिक रहेको बताईएको छ ।


त्यसो हुँदा नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह सम्पादन समितिमा समेटिने छन् । यी नेताहरुले सभापतिमा देउवालाई कोहीले प्रत्यक्ष कोहीले अप्रत्यक्ष सहयोग गरेका थिए । त्यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अजुर्ननरसिंह केसी, प्रकाशशरण महत र सुनिलबहादुर थापा पनि कार्यसम्पादन समिति सदस्यमा पर्ने करिव पक्का छ ।

यस्तै केन्द्रीय सदस्यहरू शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, जीप छिरिङ लामा, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, सुजाता कोइराला, डा नारायण खड्का, आनन्द ढुङ्गाना, कृष्णचन्द्र नेपाली पोखरेल, जीवनबहादुर शाही, दीपक गिरी र अजयकुमार चौरसियाससम्मको नाम चर्चामा छ ।

दुई महिनामा काग्रेसको केन्द्रीय समिति बैठक बस्नुपर्ने र कार्यसम्पादन समितिको महिनामा एक पटक अनिवार्य बैठक बस्नुपर्ने विधानको ब्इवस्था छ । यस अतिरिक्त काग्रेस केन्द्रीय समितिको एउटा बैठक देखि अर्काे बैठकसम्मका वीचमा गर्नेपर्ने काम कार्यसम्पादन समिितले गर्ने ब्यवस्था छ। काग्रेसभित्र यो समिति निर्णायक हुने भएकोले पनि सवैको चासो को नेता पर्छन् भन्नेमा छ ।

प्रतिक्रिया