शनिबार, जेठ ५, २०८१

कांग्रेसले बनाउन लागेको कार्यसम्पादन समितिले के गर्छ ?

१४ पदाधिकारी, प्रवक्ता सहित थप ३१ जना सभापतिले मनोनित गरेर कार्यसम्पादन समिति बनाउन कांग्रेसले सक्छ

मेरोन्यूज २०७८ माघ १३ गते २१:३७

काठमाडौं । नेपाली कांग्रेसले पार्टी कामलाई प्रभावकारी बनाउने उदेश्यसहित कार्यसम्पादन समिति बनाउने भएको छ । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले कार्यसम्पादन समितिमार्फत पार्टी काम गर्न चाहेपछि कार्यसम्पादन समिति गठन हुन लागेको हो ।

Advertisement

त्यसका लागि छलफल गर्न कांग्रेसले भोलि दिउँसो ३ बजे भर्चुअल माध्यमवाट केन्द्रीय समितिको बैठक बोलाएको छ । सम्पादन समिति गठनको तयारीका लागि सभापति देउवाले उपसभापति पूर्णवहादुर खड्का, महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गरिसकेका छन् । पार्टीका तीन पदाधिकारीसँगको परामर्श पछि देउवाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

उसले गठन गर्ने कार्यसम्पादन समिति विधानमा ४७ जना सम्मको बनाउन पाइने उल्लेख छ । तर विधानको ब्यवस्थामा टेकेपनि उसको कार्यसम्पादन समिति ४६ जनाको हुने छ । जम्वो केन्द्रीय समिति र्निाण भएको बेला सवै केन्द्रीय समितिका सवै सदस्यलाई बोलाएर निर्णयहरु गर्न कतिपय अवस्थामा अप्ठ्यारो र नभ्याइने हुँदा र कोरोनाका कारण पनि त्यो सम्भव पनि नहुने देखेपछि काग्रेसले कार्यसम्पादन समिति गठनमा हतारो देखाएको हो ।

सभापति देउवाले पार्टीका काम गर्नका लागि कार्यसम्पादन समिति बनाएर हतारो गर्न खोजेको देखिन्छ । तयसैको एउटै एजेण्डाका साथ भोलिको काग्रेस केन्द्रीय समिति बैठक बोलाइएको हो ।

को-को हुन्छन् कार्यसम्पादन समितिमा ?


केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बीचमा कार्यसमितिले गर्नुपर्ने काम केही परेमा केन्द्रीय कार्यसम्पादन समितिले गर्ने गरी विधानमा ब्यवस्था गरेर कांग्रेसले कार्यसम्पादन समिति गठन गर्न सक्ने उल्लेख गरिएको छ ।

यो समितिले गरेको आफ्नो निर्णय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदन भने गर्नुपर्ने हुन्छ । यसले पार्टीको केन्द्रीय विभागको कामको समीक्षा गर्ने देखि समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसँग संयुक्त रूपमा विषयगत छलफलको आयोजना समेत गर्ने अधिकार राख्दछ ।

काग्रेसभित्र यसलाई प्रभावकारी समितिको रुपमा लिइन्छ ।

विधानानुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा एकपटक अनिवार्य बस्नुपर्ने हुन्छ । अर्थात्, वर्षमा कम्तीमा १२ पटक कार्यसम्पादन समितिको बैठक बस्नुपर्ने विधानको ब्यवस्था छ । जबकि, विधानले केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा एकपटक अनिवार्य बस्नुपर्ने भनेको छ ।

जम्वो केन्द्रीय समिति रहेकोले तत्कालका कामका लागि केन्द्रीय समिति बोलाउन नसकिने भएकोले पनि थोरै संख्याको कार्यसम्पादन समिति गठन गर्न लागेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका १४ पदाधिकारीहरू स्वतः पदेन सदस्य हुन्छन् । त्यसवाहेक सभापतिले ३१ केन्द्रीय सदस्यहरूलाई कार्यसम्पादन समितिमा मनोनित गर्न पाउनेछन् ।

तर त्यसरी मनोनित गर्दा समावेशी सिद्धान्तलाई अनिवार्य गरिएको छ ।

यस्तै, संसदीय दलका नेता र केन्द्रीय प्रवक्ता पनि कार्यसम्पादन समिति सदस्य बन्न पाउने व्यवस्था छ । अर्थात्, ४७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बनाउनुपर्ने हुन्छ । वर्तमान अवस्थामा कांग्रेसका सभापति र संसदीय दलका नेता एकै व्यक्ति भएकाले ४६ सदस्यीय कार्यसम्पादन समिति गठन हुनेछ ।

प्रतिक्रिया