शनिबार, वैशाख ८, २०८१

भारतबाट समातिएका फरार कैदी परियार कारागार चलान

मेरोन्यूज २०७८ माघ १२ गते २१:२८

दाङ । घोराही कारागारबाट भागेको एक महिनापछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका परियार गत पुस ८ गते भागेका थिए ।

प्रहरीले उनलाई भारतको पन्जाबबाट पक्राउ गरेर कारागार प्रशासनले बुधबार अदालतमा बुझाएको थियो ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी परियारलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

परियारको बयान र थुनछेकपछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।

कारागारका नाइकेसमेत रहेका परियारले कारागार भित्रै आर्थिक चलखेल गरेर भागेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रेमिकाको हत्या मुद्दामा २० वर्ष कैद सजाय पाएका परियारले साढे ७ वर्ष कैद भुक्तान गरेका थिए ।

कानुनमा कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको छ ।

प्रतिक्रिया