शुक्रबार, चैत १६, २०८०

आहारारा गोल्डकपः एपीएफ १४ वर्षपछि फाइनलमा

मेरोन्यूज २०७८ माघ १२ गते २०:५३

काठमाडौं । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब ‘आहारारा गोल्ड कप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा जारी २०औँ संस्करणको सो प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ उपाधि नजिक पुगेको हो ।

मच्छिन्द्र शहीद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन क्लव हो ।

पहिलो हाफको खेलमा दुवै टोलीबाट समान एक÷एक गोल भएकामा दोस्रो हाफमा एपिएफले दुई गोल गर्न सफल भयो ।

दोस्रो हाफको २० मिनेट मच्छिन्द्र १० खेलाडीमा सीमित भएर खेलेको थियो ।

Advertisement

पहिलो हाफको २५औँ मिनेटमा एपिएफका सनिश श्रेष्ठले मणि लामाको फ्रिकिकमा हेडमार्फत गोल गर्दै टोलीको अग्रता बनाए ।

मच्छिन्द्रले पनि खेलको ४०औँ मिनेटमा ओमोलाजा करिमको हेडिङ गोलमार्फत खेल बराबरी गर्न सफल भए । कप्तान रञ्जित धिमालको फ्रिकिकमा डिफेण्डर करिमले गोल गरेका थिए ।

एपिएफले खेलको ६८औँ मिनेटमा खेलको ‘म्यान अफ दी म्याच’ घोषित प्रदीप लामाको गोलबाट खेलमा पुनःअग्रता बनायो ।

खेलको ७०औँ मिनेटमा मच्छिन्द्रका गोलकर्ता ओमोलाजा दोहोरो पहेंलो कार्डपछि रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मच्छिन्द्र १० खेलाडीमा सीमित भएको भएको थियो ।

खेलको पाँच मिनेटका इन्ज्युरी समयको अन्तिम मिनेटमा एपिएफका कप्तान नवीन लामाले गोल गर्दै मच्छिन्द्रसँगको गोल अन्तर फराकिलो बनाए ।

एपिएफ विसं २०६४ को छैटौँ संस्करणमा पहिलो पटक आहाराराको फाइनल पुगेको थियो ।

प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया