शनिबार, वैशाख ८, २०८१

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी चैतमा

मेरोन्यूज २०७८ माघ ११ गते १५:३३

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण आगामी चैत्र हुने भएको छ ।

महोत्सव चैत १० गतेदेखि १४ गतेसम्म कामाठाडैंमा आयोजना गरिने नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठान अध्यक्ष केपी पाठकले जानकारी दिए ।

उक्त महोत्सवमा ३८ देशको ८९ वटा चलचित्रहरु छनोट भएका छन् । महोत्सवमा सहभागीताको लागि ५५ देशबाट ४ सय भन्दा बढी चलचित्रहरुको आवेशन प्राप्त भएका थिए ।

सबै चलचित्रहरु राम्रा हुँदा हुँदै पनि निश्चित समय र मापदन्डको पालना गर्दै निफ चलचित्र छनौट समितिले सिफारिस गरेको आधारमा ८९ वटा चलचित्रहरु छनौट गरिएको पाठकले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्ममा चलचित्रहरुको आवेदन परेको थियो ।

“बिश्वभरिका कथाहरुको उत्सब नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’’ भन्ने नाराका साथ आयोजना हुन लागेको पाँचौ संस्करणमा नेपाली प्रतिष्पर्धामा पचास हजार नगद पुरस्कार सहितको ‘वेष्ट डकुमेन्ट्री अवार्ड’ पनि थप गरिएको छ ।

नियमित रुपमा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर राशीको बाग्मती अर्वाड प्रदान गरिनेछ ।

त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया