शनिबार, वैशाख ८, २०८१

काठमाडौंमा अपरान्हपछि वर्षाको सम्भावना

मेरोन्यूज २०७८ माघ ११ गते ६:३९

काठमाडौं । काठमाडौं उपत्यकामा आज अपराह्न्नपछि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ४.७ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ । दिउँसो काठमाडौंको तापक्रम १३ देखि १५ डिग्री सेल्सियससम्म रहनेछ ।

“काठमाडौंमा वर्षाको सम्भावना छ । काठमाडौंका सबै स्थानमा वर्षा नभए पनि केही स्थानमा अपराह्न्नपछि वर्षा हुने सम्भावना छ,” विभागले जनाएको छ ।

त्यस्तै, देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

आज राति देशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपात हुने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

मनाङ, मुस्ताङ, सोलुखुम्बुल, हुम्लालगायत जिल्लामा लगातारको हिमपातका कारण तापक्रम शून्य डिग्री सेल्सियसभन्दा तल झरेको छ । तापक्रम न्यून हुँदा जनजीवन प्रभावित भएको छ ।

पश्चिमी भागमा आइतबार र शनिबारको तुलनामा आज वर्षा कम हुने विभागले जनाएको छ ।

प्रतिक्रिया