आइतबार, जेठ ६, २०८१

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि संखुवासभा जिल्ला अस्पतालको सेवा पनि बन्द

मेरोन्यूज २०७८ माघ १० गते २१:०९

काठमाडौं । जिल्ला अस्पताल सङ्खुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

Advertisement

आजदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा योगेन्द्रमणि बस्नेतले बताए ।

एन्टिजेन परीक्षण गर्दा जिल्ला अस्पतालका कार्यरत आठ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ १५ गतेसम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको छ ।

आजदेखि अस्पतालमा आकस्मिक सेवा, प्रसूति सेवा र फिभर क्लिनिक मात्र सञ्चालन हुने उनको भनाइ छ । जिल्लामा सञ्चालित कोरोना विरुद्धको खोप अभियान भने यथावत सञ्चालन रहने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संखुवासभामा कोरोनाको तेस्रो लहर फैलिएपछि जिल्लामा सक्रिय सङ्मितको संख्या १४१ पुगेको छ । हालसम्म ४७ जना निको भएका छन् ।

त्यस्तै, जिल्ला कारागार खाँदबारीले कोभिड सङ्क्रमण जोखिम बढ्दै गएपछि कैदीबन्दी भेटघाटलाई माघ १५ गतेसम्म बन्द गरेको जिल्ला कारागारका जेलर विनोद अधिकारीले बताए ।

मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने स्थानीयवासीको सुझाव छ ।

कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया