बुधबार, वैशाख १२, २०८१

जापान जान छाडेर स्वदेशमै रमाएका ‘बब्लु’

जो ‘प्रकाश सपुत’ भनेर झुक्किन्छन्

नरेन्द्र रौले २०७८ माघ ८ गते १६:११

म त पर्खेको पख्र्यै छु…………………
टिकटक स्क्रोल गर्‍यो कि यो गीत बजिहाल्छ । कतै यात्रामा हुनुहुन्छ वा रेस्टुराँ, क्याफेमा बसिरहनु भएको छ भने दिनमा एक पटक तपाईंले यो गीत सुनेकै हुनुपर्छ । यस गीतमा अभिनय गर्दै टिकटक बनाउनेको संख्या त दिनदिन बढेको बढ्यै छ । युट्युबमा यस गीतले दुई हप्तामा २२ लाख भन्दा बढी भ्युज पाएको छ ।

यो गीतको सिर्जना, पृष्ठभूमीको कथा सुनाउन गायक देबेन्द्र बब्लु कफीको टेबलमा छन् ।

म त पर्खेको पख्र्यै छु… भन्दा पहिले पनि देबेन्द्रले गाएका गीतहरु हिट् छन् । ‘म हाँसे हाँस्छौ र ?’ ‘भेटै हुन्न कि ?’ जस्ता गीतहरुले युट्युबमा क्रमश: ४४ लाख र ४१ पटक भ्युज पाएका छन् । थुप्रै टिकटक भिडिओहरु बनेका छन् । संगीतको तालमा मीठो आवाज भरेर कैयौं दर्शक, श्रोताहरुको मनमा बस्न सफल देबेन्द्रको सांगितिक यात्राको कथा पनि आज खोतल्नु छ ।

सिधै परिचय गराउँदा देबेन्द्र बब्लु चर्चित गायक प्रकाश सपुतका सहोदर भाइ हुन् । तर, देबेन्द्रलाई चिनाउन आफै परिचय नै काफी छ । प्रतिभा, कला र साधनाका माध्यमबाट उनले एकदिन पूरा गरेरै छाड्ने अठोट लिएका छन् । गाउनकै लागि जन्मिए जस्ता लाग्ने उनले २६ वर्षको खुड्किला टेक्दै गर्दा नाट्यकर्म र सञ्चारकर्ममा पनि अनुभव बटुलिसकेका छन् ।

एकैछिन फेरी चर्चा गरौं, उही अहिलेको चर्चित गीत म त पर्खेको पख्र्यै छु….। पहिलो लकडाउनकाबेला देबेन्द्र जन्मगाउँ बाग्लुङको धम्जा पुगेका थिए । उनको घर मास्तिर एक जना अन्टी विदेश बस्ने आफ्ने जीवनसाथीसँग गफिदै थिइन् । ‘यो लकडाउन रहिरह्यो भने त हाम्रो भेट हुन्न होला है ?’ उहाँ हाँसिहाँसी बोलिहनु भएको थियो ।

‘म त पर्खेको पख्र्यै छु ।’ यो पनि हाँसिहाँसी उहाँ भन्दै हुनुहुन्थ्यो ।

त्यो संवाद सुनेर देबेन्द्रको मनमा क्लिक भइहाल्यो । कोमल हृदय भएका देबेन्द्र । अन्टीले हाँसेरै बोलिरहनु भएको थियो । तर, उनको कविहृदयलाई त्यो संवाद सुनेर रुवायो । ‘हाम्रो भेट हुन्न होला है ?’ ‘म त पर्खेको पख्र्यै छु ।’ भन्ने दुई लाइन उनले मोबाइलमा नोट गरे ।

काठमाडौँ फर्किएपछि उनले गीत बनाए । यी दुबै बोलका गीतमा संगीत ताल र सुमधुर आवाज भरेपछि जब सार्वजनिक गरे । लाखौं दर्शक र श्रोताहरुको मनमनमा बसिहाल्यो । हजारौं टिकटक भिडिओ बनेपछि त झन् भाइरल भईहाल्यो । हरेक व्यक्तिको मनलाई स्पर्श गर्न सफल गीत मुखमुखमा झुन्डिएको छ । ‘गीत लेख्न मलाई समय नै लागेन ।’ कफीको चुस्की लाउदै देबेन्द्रले सुनाए हुहुर्ती आगो झैं बलिहाल्यो । ‘विषयवस्तु दिमागमा आउन मात्र समय लाग्ने हो ।’

देबेन्द्रले युट्युबमा अपलोड गरेका मध्ये सबैभन्दा धेरै भ्युज पाएको गीत हो, म हासे हास्छ्यौ र ? यो पनि उनले बाग्लुङ पुग्दा त्यहाको लवज, बोलीलाई झक्लिने गरी रचिएको गीत थियो । जसले अहिलेसम्म ४४ लाख भन्दा बढी भ्युज पाइसकेको छ ।
‘म त पर्खेको पख्र्यै छु ।’ गीत यति छिटो यति धेरै चल्छ भन्ने उनलाई लागेको थिएन । तर, मनमा आशा र विश्वास भने थियो । मेरा गानाहरु बिस्तारै पिक अप लिन्छन् । ‘यसले थोरै राम्रो र छिटै नै पिकअप लियो ।’ उनले आफ्नो अनुभब सुनाए ।

कुनै पनि चिजको ब्राण्ड बन्न समय लाग्छ । गीत यति लोकप्रिय बने पनि देबेन्द्रलाई आफू अझैं ब्राण्ड बन्न सकेको जस्तो लाग्दैन । आफ्नो सिर्जनालाई पर्खेर बस्ने, नाम सर्च गर्नेको संख्या थोरै छ जस्तो लाग्छ । उनका गीत प्राय:ले सुनेका छन् । तर, नाम र अनुहार भने कमैले याद गरेका छन् जस्तो लाग्छ । त्यसमा उनलाई दु:ख त लाग्दैन । सबैले चिनिदिए हुन्थ्यो । कतै देख्दा बोलिदिए हुन्थ्यो भन्ने पक्कै लाग्छ ।

देबेन्द्रलाई प्रकाश सपुत ठानेर दर्शक झुक्किदा

चर्चित गायक प्रकाश सपुतका भाइ हुन्, देबेन्द्र । झट्ट हेर्दा देबेन्द्रको अनुहार प्रकाशसगै मिल्छ । उनको आवाज पनि प्रकाशकै जस्तै छ । पहिलो भेटमा त धेरैलाई दुई भाइ छुट्याउँन गार्‍हो पर्छ । देबेन्द्रले धेरै पटक त्यस्ता घटनाहरु भोगेका छन् ।

एक पटक लेखक अमर न्यौपानेको गुलाबी उमेर किताब बिमोचनपछि हस्ताक्षर गर्ने कार्यक्रम थियो । देबेन्द्र त्यही ठूलो लाइनमा थिए । भिडभाड थियो । किताब हातमा लिएर अमर न्यौपानेले उत्साहित हुँदै लेखेछन्, प्रिय प्रकाश जी, तपाईंका गीतहरुले मेरो हृदयका तारहरु धेरै पटक हल्लाएका छन् । धन्यवाद ।

त्यो भीड र हल्लाबीच देबेन्द्रले आफूलाई चिनाउने मौका पाएनन् । पछि घर पुगेर लेखक अमर न्यौपानेलाई म्यासेज गरे । ‘म प्रकाश सपुत होइन । उहाँको भाइ हो ।’ ‘ए, त्यहीबेला चिनजान नै गर्न पाइएन । कस्तो खुसी लाग्यो ।’ प्रतिउत्तरमा अमरले म्यासेज लेखेछन् ।

कतिपय कार्यक्रमहरुमा पुग्दा प्रकाश सपुत भनेर देबेन्द्रसँग फोटो खिचाउँछन् । यस्ता थुप्रै घटना र सम्झनाहरु छन् उनीसित । प्रकाश सपुतको भाई भनेर चिनिन पाउँदा उनलाई खुसी नै लाग्छ । ‘प्रकाश दाईबाट कलाकारिता, शैली, व्यक्तित्वबारे सिकेको छु ।’ उनी भन्छन्, ‘मेरो सिर्जनामा मेरै नाम, कला, प्रतिभाले चिनिन पाए जस्तो लाग्छ ।’

रेस्टुरेष्टमा २ वर्ष वेटरको काम गर्दा

बाग्लुङबाट एसएलसी दिएर ०६९ मा काठमाडौँ प्रवेश गरेका देबेन्द्र पासाङ ल्हामु कलेजमा भर्ना भए । बिहानको समयमा कलेज जान्थे । कलेजको पढाई सकेपछी रेस्टुराँमा काम गर्थे । रातको १ बजेसम्म काम गर्दा अनिदो र थकान उत्तिकै हुन्थ्यो । भोलिपल्ट बिहानै उठेर कलेज जानु पर्दा एकदमै मुस्किल हुन्थ्यो । कुनै कुनै बेला त अनिदोले गर्दा उनलाई रुन मन लाग्थ्यो ।

देबेन्द्रले काम गर्ने रेस्टुराँमा हरेक दिन लाइभ म्युजिक हुन्थ्यो । हरेक साँझ ७ बजेपछि लाइभ म्युजिक सुरु हुनु अगाडि उनले स्टेज बनाउने काम गर्थे । लुकेर गीत गाउने, बाजा बजाउने काम पनि गरिहाल्थे । आफ्नो अन्तर हृदयमा लुकेको रहर उनले यसैगरी पूरा गर्थे । पछि उनले दोहोरीमा पनि काम गरे ।

उनका दाइ प्रकाश सपुतले गीत गाउँथे । उनले होटलमा अरु काम गर्थे । त्यहा काम गर्दा उनको थुप्रै कलाकारहरुसँग चिनजान भयो । कहिलेकाहीं गीत पनि गाउँथे । यसरी आफ्ना रहरहरु उनले पूरा गर्थे ।

जापान जाने रहर यसरी तुहियो

प्लस टु पछि खाली समय थियो । के गर्ने, कसो गर्ने दिमागमा कुनै योजना थिएन । उनमा जापान जाने भुत सवार भयो । उनले ३/४ महिना जापनिज भाषा पनि सिके । तर, भिषा लागेन । ठमेलकै एक दोहोरीमा काम गर्छु भनेर मालिकसँग उनले कुरा राखे । उनले डेढ वर्ष त्यो दोहोरीमा काम पनि गरे ।

समय अनुसार देबेन्द्रका रुचीहरु फेरिन्छन् । त्यो कुरा उनलाई तत्कालै त थाहा हुन्न । दोहोरीपछि उनले रेडियो सगरमाथामा काम गरे । गीत, संगीतसँग सम्बन्धित कार्यक्रम तीन वर्ष चलाए । कताकता आफ्नो गायकी रहर पनि पूरा गरे । रहर यतिमै कहाँ सिमित हुन्छन् र ? रेडियो पछि देबेन्द्र थियटर आर्टिस्ट बन्न पुगे । शैली थियटरमा उनले तीन वर्ष काम गरे । नाट्य कर्ममा तीन वर्ष कटेको उनलाई पत्तै भएन ।

रेडियो कर्म छोडेर दोहोरी क्षेत्रमा जानु, दोहोरी छोडेर थियटर आर्टिस्ट बन्नु र थियटर आर्टिस्ट बन्न छोडेर गीत, संगीतमै डुब्नुमा देबेन्द्रको खुसी थियो । आफ्ना रहरहरु चिन्न भने उनलाई समय लाग्यो । गीत, संगीतसँगै अभिनय उनको अत्यन्त रुचीको विषय हो ।

आमाको प्यारो ‘बब्लु’

देबेन्द्रलाई आमाले बब्लु भनेर बोलाउनु हुन्थ्यो । पछि बा, दाई र उनका साथीहरु पनि उनलाई यहि नामले बोलाउने गर्थे । आमाबाट उनी अत्यन्त प्रभावित छन् । खेतबारी होस् कि जंगल जता पुग्दा पनि आमासँगै उनले समय बिताए । भौतिक र मानसिक रुपमा बिताएको समय उनका लागि अनमोल छ । हृदयमा आमाको गहिरो छाप गढेको छ ।

आमाले बोलाउने त्यही प्यारो नाम बब्लु उनले छाड्नै मानेनन् । शहर पस्दा कतै त्यो नाम हराउँछ कि भनेर आफ्नो नामका पछाडी बब्लु जोडे । यही नाम नै उनका लागि प्रिय लाग्छ ।

देबेन्द्रलाई त्यो भन्दा प्रिय लाग्छ, आफ्नै काम ।

उनले संगीतको कुनै औपचारिक शिक्षा त लिएका छैनन् । गर्दै, सिक्दै अघि बढे । उनको संगत, वातावरण र माहोल र आफ्नै रुचीले गीत, संगीततिर डोर्‍यायो । त्यही नै उनको सिकाई बन्यो । निरन्तरको अभ्यास र दैनिकीले सफलताको बाटोतिर लम्क्याई रहेको छ ।

देबेन्द्रका बुबा, आमाको मनमा कताकता सरकारी जागिर खाइदिए हुन्थ्यो भन्ने थियो । अव्यक्त इच्छा थियो । तर, उनलाई भने त्यतातिर रहर थिएन । बाग्लुङको त्यो क्षेत्रमा एसएलसीपछि विदेश जाने, लाहुर जाने वा नेपाल आर्मीमा जाने लहर थियो । तर, देबेन्द्रलाई ती कुनै पनि कुराले आकर्षित गरेन ।

‘जे छु, त्यही पेशा नै ठीक छ ।’ उनले भने ‘बरु अरु पेशामा भएको भए गीत, संगीत मिस हुन्थ्यो । बरु खोज्थे हुँला कुनै न कुनै रुपमा ।’

‘म त पर्खेको पख्र्यै छ’ु….गीतका गायक देबेन्द्र स्वयं भने कसैका लागि पर्खिएका छैनन् । उनका लागि कोही पर्खिरहेको छ ? तत्काल त्यस्तो पनि कोही छैन । बरु उनलाई प्रशंसकहरुका फोन र म्यासेजहरु भने धेरै नै आईरहेका छन् । स्पेशल त्यस्तो कोही छैन, जसलाई उनी पर्खिरहेका छन् । उनलाई पनि ‘म पर्खिरहेको छु’ भनेर कसैले भनेको छैन ।

गायक देबेन्द्रका रहरहरु

२६ वर्षिय देबेन्द्र फकिर स्वभावका छन् । आफूलाई मन लाग्दा कतै यात्रा गर्न रुचाउँछन् । कुनै बेला त उनलाई महिना दिनसम्म हराईदिन मन लाग्छ । उनी कम बोल्छन् । उनका साथीहरु पनि सिमित छन् । फकिर तरिकाले आफ्नै क्यालेन्डरमा हिंड्न उनलाई रहर लाग्छ छ । गीतमा गरेको डुबे पनि उनलाई त्यसको चिन्ता लाग्दैन । ‘तर, चाहे जसरी हिंड्न नपाईने रहेछ ।’ परिवारका साइला छोरा उनी भन्छन्, ‘केही कुराले बाँधिनु पर्ने रहेछ । विहे, कमाउने, सम्पत्ति जोड्ने कुराले बिस्तारै गाँज्दै लैजाने रहेछ ।’

देबेन्द्रलाई सुदूरपश्चिम र सुदूर पूर्व घुम्न एकदम रहर छ । नेपालगञ्जभन्दा पश्चिमतिर उनले पाइलो टेक्न पाएका छैनन् । कोरोना महामारी र लकडाउन नभइदिएको भए विदेश जाने बाटो पनि खुल्थ्यो । ती बाटाहरु पनि तत्कालका लागि बन्द भईदिए ।

देबेन्द्र आफूलाई कफी लभर भन्न रुचाउँछन् । कलात्मक क्याफेमा बसेर २, ४ घण्टा क्याफेमा बिताउनु उनको सोख हो । सपिङ र खानपिनका लागि भने त्यति सौखिन छैनन् । फुर्सदको समयमा संगीत अभ्यास गर्ने, गाउने र सोसल मिडियामा रमाउँछन् ।

मुड चल्दा यात्रामा निस्किदिन्छन् । आफ्नै छरछिमेक, प्रकृतिसँग नजिकिन मन लाग्छ । आफ्नोपनमा बेग्लै आभाष मिल्छ । त्यही आत्मियताले उनी नयाँ–नयाँ सिर्जना फुराईदिन्छन् ।

कफी लबर र यात्रा गर्न रुचाउने देबेन्द्रसँग जति नै गफिए पनि समय कटेको पत्तै हुँदैन । सांगितिक जीवन, संघर्ष र जिजिविषाबारे जति नै गफिए पनि थोरै लाग्छ । कुराकानीलाई बिट मार्नु अगाडी देबेन्द्रलाई सोधियो, ‘फेरी जापान नजाने ?’

‘गइन्नँ ।’ हल्का मुस्कान छोड्दै उनले थपे, ‘गीत गाउन जाने अर्कै कुरा हो । तर, कमाउँन, काम गर्नका लागि जान्नँ ।’

प्रतिक्रिया