बिहीबार, वैशाख १३, २०८१

रिक्त मन्त्रालय भर्न देउवाको कसरत

प्रकाशमान सिंहको रोजाई गृह मन्त्रालयमा

मेरोन्यूज २०७८ माघ ३ गते २१:००

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक समीकरण मिलाउन प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्ने वा भएकै मन्त्रालयमा केही नेताहरुलाई मिलाउने चर्चा चलिरहेको छ ।

कांग्रेसको महाधिवेशनपछि यो चर्चा चलेसँगै मन्त्रि थपिने संभावना नभएपनि भएका मन्त्रीलाई विदा गरेर केही नेताहरुलाई मन्त्रीको जिम्मेवारी दिने सम्भावना रहेको चर्चा शुरु भएको हो ।

रक्षामन्त्री रहेका मिनेन्द्र रिजालले राजिनामा दिएपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैले लिएका छन् ।

प्रधानमन्त्री देउवाले सो मन्त्रालयमा अर्को कुनै मन्त्रीलाई पठाएर उनको स्थानका उपप्रधानमन्त्री दिने गरी प्रकाशमान सिंहलाई ल्याउने चर्चाले प्राथमिकता पाएको छ ।

‘प्रकाशनसिंहले तत्कालै मन्त्रालयको जिम्मेवारी लिने कुरा गर्नु भएको छैन तर सभापतिबाट उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएमा सरकारमा सहभागी हुने संभावना रहेको छ’, उनी निकट स्रोतले भन्यो । तर अहिले नै कुन मन्त्रालय लिने भन्ने बारेमा केही खुलेको छैन ।

महाधिवेशनमा गरेको प्रतिबद्धताअनुसार प्रकाशमान सिंहलाई उपप्रधानसहित कुनै एउटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिन बताइएको छ । रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको अवस्थामा देउवाले मन्त्रिपरिषद हेरफेरमा छलफल गरेको स्रोतको दावी छ ।

सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने क्रममा सिंहले देउवालाई साथ दिएका थिए । देउवापछि विमलेन्द्र नीधिले पनि देउवालाई नै साथ दिएका थिए । तर नीधिले यसक्रममा कुनै पनि मन्त्रालयको दावी गरेका छैनन् । उनलाई पार्टीभित्रै समावेश गरेर लैजाने बताइएको छ ।

यतिबेला प्रकाशनमान सिंहको रोजाई भने गृहमन्त्रालय रहेको छ । गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामा पठाएर सिंहलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री दिने संभावना रहेको कांग्रेसवृत्तमा चर्चा रहेको छ ।

‘प्रकाशमान सिंहसँग दुई पटक कुराकानी भैसक्यो तर मन्त्रिपरिषदमा लैजाने विषयमा कुराकानी भए नभएको बारे केही जानकारी छैन, ‘देउवा निकट रहेका एक नेताले भने ‘सिंहले सरकारमा जाने कुराचाहि गर्नुभएको हो तर कुन मन्त्रालयल हो भन्नेबारेमा टुंगिएको जस्तो लाग्दैन ।’

कांग्रेसभित्रको आन्तरिक किचलोले सुरक्षा निकायमा समेत असर परेको भन्दै नेताहरुले बालकृष्ण खाँणको आलोचना गरिहेका छन् । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवा र खाँणको कुरा नमिल्दा गृहमन्त्रीलाई रक्षातिर धकेल्ने खेल पनि हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया