बिहीबार, चैत १५, २०८०

प्रदेश २ अब ‘मधेस’ प्रदेश, राजधानी ‘जनकपुर’

मेरोन्यूज २०७८ माघ ३ गते १७:५५

जनकपुर । लामो समयपछि प्रदेश २ को स्थायी राजधानी र प्रदेशको नाम टुंगो लागेको छ ।

सोमवार प्रदेश २ को बैठकबाट मतदान गरी प्रदेशको राजधनी र प्रदेशको नामाकरण टुंगो लगाइएको हो ।

सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।

प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।

संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ ।

Advertisement

सोमवार मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको हो ।

सभामुख सरोजकुमार यादवले प्रदेशको नाम तोक्नका लागि आवश्यक दुई तिहाई मत पुगेकाले प्रस्ताव स्वीकृत भएको घोषणा गरेका छन् ।

प्रदेशको नाम मधेस पारित भएसँगै नामकरण सम्बन्धमा पेस भएका अन्य प्रस्ताव निस्क्रिय भएका छन् ।

यसअघि प्रदेशसभामा सोमबार नै भएको गोप्य मतदानमा जनकपुरका पक्षमा दुई तिहाइ मत खसेको थियो । प्रदेश सभामा १०४ जना सांसद छन् ।

जनकपुर राजधानी तोकिएसँगै अव प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम भएको छ ।

प्रदेश २ सभाको सोमबारको बैठकमा ९९ जना सांसदहरुको सहभागीता थियो । जसमध्ये जनकपुरधामको पक्षमा ७८ मत परेको थियो । पहिलो प्रस्तावले नै दुई तिहाई मत पाएकोले दोस्रो प्रस्तावमा मतदान नगदैं प्रदेश २ को राजधानी जनकपुर कायम भएको हो ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।

वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पनि आएको थियो ।

प्रतिक्रिया