शुक्रबार, चैत १६, २०८०

‘ए’ डिभिजन लिगः एनआरटीको सहज जित

मेरोन्यूज २०७८ माघ ३ गते १६:२२

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटीले सोमवार सहज जित निकालेको छ ।

युवा मिडफिल्डर दर्शन गुरुङको दुई गोलसँगै न्युरोड टिम एनआरटीले जावलाखेल युथ क्लबलाई २–० को सहज जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौँ चरणको अन्तिम खेलमा जितसहित एनआरटीले मध्यसिजनको सुखद अन्त्य गरेको छ ।

६९औं मिनेटमा स्टेफिन बिनोङको पासमा दर्शनले गरेको गोलमा एनआरटीले पहिलो अग्रता लिएको थियो ।
७३ औं मिनेटमा बिनोङकै पासमा दर्शनले बललाई पोस्टको दिशा दिँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।

अन्य समय दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

Advertisement

८५औं मिनेटमा जावलाखेलका मिडफिल्डर रुपबहादुर लामाको फ्रिकिक एनआरटीका गोलकिपर अजित प्रजापतिले रोक्दा जावलाखेलले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।

जावलाखेलमाथिको जितपछि एनआरटी नौ खेलमा १३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । एनआटरीले आठौ चरणमा आर्मीलाई २–० को नतिजा सुम्पिएको थियो ।

नौ खेलको समाप्तीमा आठ अंक बटुलेको जावलाखेल १० औं स्थानमा यथावत छ । पछिल्लो खेलमा जावलाखेल एपीएफसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यससँगै लिगको नवौं चरणको खेल समाप्त भएको छ । अब लिगमा अन्तर्राष्ट्रिय ब्रेक हुनेछ । नेपालले १५–१८ माघमा मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रतिक्रिया