शुक्रबार, वैशाख ७, २०८१

दुवईमा अलपत्र छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दै भुजेल दम्पती

मेरोन्यूज २०७८ माघ २ गते १४:२६

काठमाडौं । संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र अवस्थामा रहेको आफ्नो छोराको शव नेपाल ल्याउनका लागि आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पत्तीले आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक खाडीचौरका स्थायी बासिनद्या रही काठमाण्डौंको काँडाघारीमा अस्थायी रुपमा बसोबार गर्दै आएका श्याम बहादुर भुजेल र उनकी श्रीमती बुद्धीमाया भुजेलले छोराको शव ल्याउन आर्थिक अवस्थाले नभ्याउने भन्दै सहयोगका लागि अपील गरेका हुन् ।

गत भदौ अन्तिममा छोरा विकास भुजेल बलजफ्ती पर्यटक भिसाबाट संयुक्त अरब इमिरेट् पुगेको मृतककी आमा बेद्धीमायाले बताइन् । अलग भिसामा गएको छोरा काम गर्न थालेको र दशैंसम्म सम्पर्कमा रहेको भए पनि त्यस पछि सम्पर्कविहीन भएको उनले बताइन् ।

रोजगारी भिसामा गएको अवस्थामा मृतकको शव नेपाल ल्याउन समस्या नहुने भए पनि पर्यटक भिसामा दुवई पुगेर काम गर्न थालेका कारण उनको शव ल्याउन झण्डै ३ लाख रुपैंया खर्च लाग्ने र उक्त रकम आफुहरुसँग नभएको मृतक विकासका बावु श्यामबहादुर भुजेलले बताए ।
‘छोराले धेरै करकर गरेर कता के मिलाएर गएको थियो, अहिले शव पनि ल्याउन सकिएन, सहयोगीहरुको साथ पाए कम्तीमा मृत छोराको शव ल्याएर अन्तिम संस्कार गर्ने थियौं,’ भुजेलले भने ।

नेपाल बंगलादेश बैंकको काँडाघारी शाखामा रहेको श्याम बहादुर भुजेलको बैंक खाता नम्बर ०९६००२९३२ डब्ल्यू मा सहयोग रकम जम्मा गरिदिन उनले आग्रह गरेका छन् । साथै सहयोगका लागि आफ्नो सम्पर्क नम्बर ९८८७०८८७४२ मा फोन गर्न पनि उनले आग्रह गरेका छन् ।

संयुक्त अबर इमिरेट्सका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले पनि २१ वर्षीय विकास भुजेलको मृत्यु भएको खबर स्थानीय प्रहरीले धेरै पहिले जानकारी गराए पनि बल्ल परिवारसँग सम्पर्कमा पुगिएको पुष्टि गरेका छन् ।

पर्यटक भिसामा आएका उनको शव ल्याउन व्यक्तिगत रुपमा आफुले सघाउने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

संयुक्त अरब इमिरेट्समा वेद अर्याल तथा अन्य सहयोगीहरुले भुजेलको शव नेपाल पठाउनका लागि समन्वय गरिरहेका छन् । त्यहाँबाट आर्थिक सहयोग गर्न चाहनेहरुले अर्याललाई सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ ।

गत भदौमा पर्यटक भिसामा दुबई पुगेका भुजेलको दशैं लगत्तै मृत्यु भएको थियो । छोराको मृत्यु भएको खबर भुजेल दपत्तीले गत साता मात्र पाएका थिए ।

उनीहरुले रोजगारीका लागि विदेश जान चाहने जो कोहीलाई पनि आफ्नो छोराको जस्तो अवस्था नआओस भन्दै अनिवार्य रुपमा श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरेका छन् ।

प्रतिक्रिया