बिहीबार, वैशाख १३, २०८१

‘ए’ डिभिजन लिगः आर्मीसँग पराजित फ्रेण्डस् रेलिगेशनको संघारमा

मेरोन्यूज २०७८ माघ १ गते १७:५८

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा पनि फ्रेण्डस् क्लवले पराजय ब्यहोरेको छ ।

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–१ अन्तरले पराजित फ्रेण्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो पटक रेलिगेसन संघारमा रहेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा आर्मीसँग पराजित हुँदा फ्रेण्ड्सले छैटौं हार ब्यहो¥यो ।
खेलको १०औं मिनेटमा आर्मीका जगजित श्रेष्ठले अग्रता दिलाए । २२औं मिनेटमा आर्मीले अग्रता २–० को बनायो । जर्ज प्रिन्स कार्कीले दायाँ कर्नरबाट गरेको क्रसलाई पेनाल्टी एरियामा रहेका दीनेश हेम्जनले ‘वान टच’ मा गोल गरे ।

दोस्रो हाफको सुरुआतमै फ्रेण्ड्सले अग्रता २–१ मा झा¥यो । विदेशी खेलाडी जमोउल एन्थोनी पाउलले गोल गरे । आर्मीका गोलरक्षक विकेश कुथुले राम्ररी क्लियर नगरेको बललाई एन्थोनीले खाली पोस्टमा गोल गरे ।

७१औं मिनेटमा आर्मीले अग्रता ३–१ को बनायो । जगजित श्रेष्ठले प्रहार गरेको कर्नरलाई बक्स भित्रबाट हेड गर्दै सुमन अर्यालले सहज जित दिलाए ।
जितसँगै आर्मी क्लव तेस्रो स्थानमा उक्लिएको छ । आर्मी ९ खेलमा १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको हो ।

पराजित फ्रेण्ड्स भने ९ खेलबाट ३ अंक सहित पुछारमा रहेको छ ।

प्रतिक्रिया