शनिबार, वैशाख ८, २०८१

हिक्मत महराको यात्रा: जनयुद्धदेखि कमेडी च्याम्पियनसम्म

नरेन्द्र रौले २०७८ माघ १ गते १७:०६

काठमाडौं । कमेडी च्याम्पियनको पहिलो भाग हेरिसकेपछि महेन्द्रनगरका हिक्मत महरा हौसिएका थिए । उनलाई ‘म पनि कमेडी गर्न सक्छु’ भन्ने लागेको थियो । जब दोस्रो चरणको सिजन सुरु भयो, उनले डिजिटल भिडियो पठाए । उनी कति सम्म ढुक्क थिए भने, सेलेक्सनमा पर्छु, टप १० मा छानिन्छु भन्ने सुरुमै लागिसकेको थियो ।

कमेडी च्याम्पियनको दोस्रो सिजनमा ६ हजार भन्दा बढी डिजिटल भिडिओ प्राप्त भए । त्यसमध्ये पहिलो चरणमा १ सय ८८ वटा भिडिओहरु छानिएका थिए । त्यसबाट पनि उत्कृष्ट २४ छानिएपछि मात्र कार्यक्रम प्रशारण हुने गर्छ । हिक्मत उत्कृष्ट ४ सम्म पुग्न सफल कलाकार हुन् ।

बैतडीको पुर्चौडी नगरपालिका महरागाउमा जन्मिएका हिक्मत सानैदेखि राजनीतिप्रति रुचि राख्थे । बैतडीकै गलेश्वर माविबाट ६ कक्षा पास गरेका उनले कञ्चनपुरको सिद्धवैजनाथ माविबाट ०६६ मा एसएलसी पास गरे ।

गाउमा छदा जनयुद्धको प्रभाव बढी थियो । उनी पनि कहा अछुतो रहन सक्थे र ? स्कुलहरुमा माओवादी पुग्थे । संगठन बनाउथे । राजनीति बुझाउन र प्रचारप्रसारका लागि अभियानमा पनि लैजान्थे । हिक्मत त्यही बेलादेखि नै राजनीतिमा होमिए । अभियानमा पनि सरिक भए । पछि उनी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसम्म बने ।

आफै विद्यार्थी राजनीतिमा होमिएकाले हिक्मतलाई राजनीतिक विषयमा कमेडी गर्न सजिलो भयो । आफै विद्यार्थी नेता भएर आफै माथि उनी व्यङ्ग्य गरिरहेका थिए । तर, आफू जोडिएको राजनीतिक पार्टी, नेताप्रति मात्र उनी लक्षित भएनन् । उनले कसैलाई पनि व्यङग्य गर्न बाँकी राखेनन् ।
हिक्मत राजनीतिमा कतिसम्म चासो राख्छन् भने उता कमेडी च्याम्पियनको सुटिङ चलिरहेको हुन्थ्यो । ठीक त्यहीबेला यता माइतिघर मण्डलामा उखु किसानको आन्दोलन चर्किरहेको थियो । उनी उखु किसानका पक्षमा आवाज उठाउन दिनहु माइतिघर मण्डला धाइरहेका हुन्थे ।

लिपुलेक नक्सा जारी गर्नेबेला पनि माइतिघर मण्डलामा आन्दोलनहरु भइरहे । ती दिनहरुमा पनि हिक्मत आन्दोलनकारीकै रुपमा सहभागी भइरहेका हुन्थे ।

‘माइतिघरले चिन्ने अनुहार हो म ।’ हालैको साता ठमेलको छाया सेन्टरमा भेटिएका उनले सुनाए ।

जुनबेला कमेडी च्याम्पियनको दोस्रो सिजन चल्दै थियो । त्यही बेला देशमा महत्वपूर्ण राजनीतिक घटनाक्रम बिकसित भइरहेका थिए । पार्टीहरुबिच अन्तरद्वन्द्व, संसद बिघटन, संसद पुर्नस्थापना, संसद अवरुद्ध जस्ता राजनीतिक किचलोमै देश अल्झिरहेको थियो । नेताहरुको झगडाले कन्टेन्ट बनाउन सजिलो भइदिदो रहेछ । हिक्मतले आफ्नो अनुभव सुनाए । टप १० मा परेपछि मात्र कमेडी च्याम्पियन आफैले शीर्षक दिन्छ । त्यो भन्दा अगाडि आफैले शीर्षक छान्नु पर्ने हुन्थ्यो । एक हप्ताभित्र नयाँ विषयवस्तु छान्ने, लेख्ने, अभ्यास गर्ने काम हुन्थ्यो । बुधबार सुटिङ, शुक्रबार र शनिबार प्रशारण हुने गथ्र्यो ।

महराले प्रस्तुत गरेका कमेडी शीर्षक किसान, छिमेकी, शक्तिशाली नेता एकदमै रुचाइए । उत्कृष्ट १० मा परेपछि उनले प्रस्तुत गरेका १५ मध्ये उनी आफैलाई यी तीन वटा कमेडी चित्त बुझ्ने कमेडी हुन् । यसबाट नसोचेकै प्रतिक्रिया पाएपछि हिक्मतको हिम्मत अझैं बढेको थियो । उनका प्रस्तुतीहरु हसाउँने खालका भन्दा बढी सिरीयस बनाउने खालका थिए । कतिपयले कमेडी च्याम्पियनका पहिलो विजेता हिमेश पन्तलाई बिर्साउने खालका प्रतिक्रिया दिए ।

कमेडी च्याम्पियनमा भाग लिएपछि हिक्मतलाई पहिचान दिलायो । फरक लवज, फरक भाषा, रहनसहन र सोच भएका साथीहरुसँग नजिकबाट चिनजान गर्ने मौका पनि मिल्यो । अझ त्यो भन्दा बढी देश, विदेशमा बस्ने नेपालीहरुको अपार मायाले उनमा झन् उत्साह थपियो । मन्त्री प्रेम आले मगर, पूर्व मन्त्री एनपी सावद, बीना मगर र सांसद डा. दीपकप्रकाश भट्टले उनलाई भेटेर हौसला थपे ।

आफ्नो क्षेत्रबाट अग्रजहरु कमेडी क्षेत्रमा कोही नभएकाले अलि असहज भएको उनको अनुभव छ ।

‘अग्रजहरु यो क्षेत्रमा कोही भएनन् । त्यसमाथि सुदूरपश्चिममा कमेडीका त्यति दर्शक नभए जस्तो लाग्यो ।’ हिक्मतले सुनाए, ‘सुरुमा गार्‍हो त अति नै भयो ।’ यसअघि स्टेजमा कहिल्यै कमेडी शो नगरेका हिक्मत नयाँ थिए । अरु प्रतिष्पर्धीहरु भने त्यसैमा खारिएका थिए । उनले निरन्तर दमदार प्रस्तुती दिदै गए । प्रतिष्पर्धीहरुलाई हिक्मत कमेडी च्याम्पियन बनिदिन्छन् कि भन्ने डर थियो ।

हिक्मतको विचारमा मानिसहरुलाई हसाउँने एकदमै गार्‍हो काम हो । दुनियाँमा सबैभन्दा गार्‍हो काम के हो ? भनेर सोध्यो भने उनको जवाफ हुन्छ, ‘अरुलाई हसाउँने ।’ ‘एउटै कुराले कोही हाँस्न सक्छ । कोही नहाँस्न सक्छ ।’ उनी भन्छन्, ‘उमेर र पुस्ताका कारण त्यसो हुन जान्छ । अरु सांगितिक शोमा अरुको गीत गाए पनि हुन्छ । तर, कमेडीमा आफ्नै प्रस्तुती हुनुपर्छ ।’

उनको अनुभवमा कमेडीमा आफू रोएर पनि अरुलाई हसाउँनुपर्छ । मिहिनेत पनि अति नै गर्नुपर्छ । त्यसमाथि कमेडी बुझ्नका लागि पनि ज्ञान हुनुपर्छ भन्ने उनको मान्यता छ । ‘राजनीतिक विषयमा कमेडी गर्न राजनीति त बुझेकै हुुनुपर्छ ।’ हिक्मत भन्छन् ‘त्यसबाहेक दिनकै अपडेट हुनुपर्छ । सबै पार्टी, नेतालाई समेटेर व्यङग्य गर्न सक्नुपर्छ ।’ कतिपयले भोट तान्न आफ्नो दु:ख देखाउने गर्छन् । तर, उनले त्यसो कहिल्यै गरेनन् । प्रतिभा र कलालाई नै उनले बढी महत्व दिए । प्रतिष्पर्धाबाट बाहिरिदा कतिजना रुने गर्छन् । तर, उनी रोएनन् । बरु उनले अरुलाई रुवाए ।

कमेडी च्याम्पियनमा भाग लिएपछि शो का निर्देशक विशाल भण्डारी महराको मनमा राम्रै छाप छोड्न सफल भए । महराको नजरमा भण्डारीले आफूलाई कहिल्यै ठूलो हुँ भन्ने भान पारेनन् । महरा जी, राजा भनेर सम्बोधन गर्ने निर्देशकबाट महरा एकदमै प्रभावित छन् । ‘सबैसँग बोल्ने, राम्रो तरिकाले सम्झाउने, सबैलाई महत्व दिनु हुन्थ्यो । महरा त्यो अनुभव सुनाउँदै भन्छन्, ‘मान्छे त विशाल दाई जस्तो पो बन्नु पर्छ भन्ने लाग्यो ।’

निर्देशक भण्डारीको संगतबाट महरालाई लाग्यो, निरन्तर काम गर्दै गयो, संघर्ष गर्दै गयो भने सफलता मिल्छ भन्ने लाग्यो । कोहलपुर एक्सप्रेस चलचित्र उति नचले पनि भण्डारीले हरेस नखाएको उनले उदाहरण दिए ।

निर्णायकहरुको प्रतिक्रियाले धेरै फरक पार्ने महराको अनुभव छ । राम्रो र सकारात्मक प्रतिक्रिया पाउँदा अझ राम्रो गर्ने हौसला मिल्छ जस्तो उनलाई लाग्छ ।

अध्ययनका लागि २०७२ मा काठमाडौँ छिरेका हिक्मतले कहिल्यै जागिर गरेनन् । अब पनि उनी जागिर गर्ने सुरमा छैनन् । अर्काको नियन्त्रणमा काम गर्नु उनका लागि गार्‍हो काम हो । खुसी र स्वतन्त्रता मध्ये एउटा छान्नु परे उनी स्वतन्त्रता छान्छन् ।

जे गरे पनि आफ्नै काम गर्छु भन्ने उनको मानसिकता छ । विदेशमा भन्दा स्वदेशमै रमाउने उनको स्वभाव छ ।

‘अब कमेडी गर्ने कि राजनीति ?’

‘कमेडी नै गर्छु ।’ महरा ढुक्कसित भने ।

‘किनकि त्यसमा मेरो मिहिनेत, समय, उर्जाको लगानी छ ।’ उनले थपे, ‘जीवनको महत्वपूर्ण उमेरमा कमेडीमा प्रवेश गरें । अब किन छाड्ने ?’

२८ वर्षीय हिक्मत अविवाहित छन् । तर तत्कालै विवाह गरिहाल्ने उनको मुड छैन । स्थापित भइसकेपछि मात्र त्यता पट्टी सोच्ने उनी बताउँछन् । उनी कसैसँग मायामा छैनन् । ‘यसलाई माया गर्छु भनेर हुँदैन । माया त ख्यालख्यालमै बस्छ ।’ महरा प्रष्ट सुनिए, ‘तर, माया बसेपछि ख्याल ख्यालमा लिनु हुँदैन ।’

प्रतिक्रिया