शुक्रबार, वैशाख १४, २०८१

योगेश भट्टराईको बालुवाटार इन्ट्रीः खुट्टामा मास्क, मुखमा खाली !

मेरोन्यूज २०७८ माघ १ गते १५:३१

काठमाडौं । नेकपा एमालेले कोभिड १९ को संक्रमण बढ्दै जाँदा पनि सरकारले रोकथामको पहल नगरेको भन्दै शनिवार ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर नेकपा एमालेका सुभाष नेम्वाङ, योगेश भट्टराई लगायतका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाए ।

पछिल्लो समय राजनीतिक दलका नेताहरुबाटै कोरोना संक्रमण फैलिएको छ । नेकपा (माओवादी केन्द्र)को महाधिवेशनबाट कोरोना तीब्र फैलिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायत पार्टी सचिवालयका सबैजसो सदस्यलाई कोरोना देखियो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालदेखि एमाले नेता विष्णु पौडेललाई पनि शनिवार कोरोना संक्रमण देखियो ।

कोरोना फैलिँदैजाँदा यसको नियन्त्रण प्रयास नभएको भन्दै ज्ञापनपत्र बुझाउन गएका एमाले नेता योगेश भट्टराई आफैले मुखमा मास्कसमेत लगाएका थिएनन् ।

खुट्टामा जुत्ताबाहिर प्लाष्टिक बेरेका भट्टराईले न हातमा पञ्जा लगाएका थिए, न मुखमा मास्क नै । उनीसँगै रहेका एमाले नेता सुभाष नेम्वाङ भने सुरक्षित भई उपस्थित भएका थिए ।

प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका नेम्वाङ्को मुखमा मास्क मात्र नभई हातमा सर्जिकल ग्लोब्समेत लगाएका थिए ।

कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री निवास बालुवाटारमा कसैलाई पनि मास्क नलगाएर प्रवेश गर्न दिइँदैन । तर एमाले नेता भट्टराईले भने बेवास्ता गर्दै प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए ।

एमाले नेम्वाङको नेतृत्वमा आएको एमाले प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई शनिवार कोभिड रोकथाम र उपचारकाबारेमा ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया