शुक्रबार, वैशाख १४, २०८१

एमालेकाे २९ जिल्लामा प्रतिस्पर्धा, दशबुँदेलाई मूलगेटमा भोटे ताल्चा

मेरोन्यूज २०७८ पुष ३० गते २१:४७

काठमाडौं । एमालेको ६३ जिल्ला मध्ये २९ जिल्लाको नेतृत्व प्रतिस्पर्धाबाट भएको छ । केन्द्रीय संगठन विभागका तर्फबाट सर्वसम्मत गर्न दिएको निर्दैशनलाई उल्लंघन गर्दै २९ जिल्लाको नेतृत्व चुनावी प्रतिस्प्र्धाबाट छानिएको हो ।

आन्तरिक लोकतन्त्रमाथि केन्द्रको निर्देशन हावी नहुने भन्दै अधिकांश जिल्लामा प्रतिस्पर्धा गर्न खोजिएको थियो । तर धेरैजसो जिल्लाको प्रतिस्पर्धा हुनबाट रोकिएपनि २९ जिल्लाको पदाधिकारीहरु भने चुनावी प्रतिस्पर्धाबाटै छानिएका छन् ।

एमालेले जिल्ला कमिटीहरूको अधिवेशनमा सर्वसहमति र मतदानको समानान्तर अभ्यास गरेको भएपनि धेरै कार्यकर्ताहरुमा निराश देखिएको छ । आठ वर्षको अन्तरालमा सम्पन्न जिल्ला अधिवेशनहरूमा आकांक्षी व्यवस्थापन गर्न कठिनाइ भएपछि एमालेले सर्वसम्मतिलाई प्राथमिकतामा राखेको थियो । तर, अधिकांश जिल्लामा दुवै विधिको समानान्तर अभ्यास गर्दै नेतृत्व चयन भएको हो ।

निर्वाचनमा दशबुँदे सहमति गरी एमालेका रहेका नेताहरुलाई जिल्लातहबाटै रोकिएको छ भने पूर्व माओवादीहरुको पनि पदाधिकारीमा झिनो उपस्थिति रहेको छ ।

त्यस्तै प्रतिस्पर्धा भने केपी ओली समूहमै देखिएको छ ।

चुनावी प्रतिस्पर्धाबाट चयन भएकामध्ये बाग्लुङमा दशबुँदे सहमतिसँगै एमालेमा रहेका हिरा केसी अध्यक्षमा निर्वाचित भए ।

प्युठानमा अध्यक्ष निर्वाचित विजयविराज विष्ट पनि दशबुँदे सहमतिसँगै एमालेमा बसेका थिए । उनी सचिव योगेश भट्टराईनिकट मानिन्छन ।

सर्वसम्मत चयन भएकामध्ये भोजपुरका शरण राई पनि दशबुँदे समूहबाटै निर्वाचित भएका हुन ।

त्यस्तै, रूपन्देहीका तेजेन्द्र केसी स्थायी समिति सदस्य घनश्याम भुषालनिकट मानिन्छन् भने गुल्मीका बालकृष्ण काउछामगर सचिव गोकर्ण विष्टनिकट मानिन्छन् । अधिवेशन हुन बाँकी चितवन र सिन्धुपाल्चोकमा दशबुँदे सहमतिसँगै एमालेमा रहेका नेताहरूको प्रभाव बढी छ । पहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिएका, तर पार्टी विभाजनका वेला एमालेमै रहेका थुप्रै जिल्ला नेता पदाधिकारी र सदस्यमा चुनिएका छन् ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले पार्टीभित्र सकेसम्म सर्वसम्मत तथा नभए प्रतिस्प्र्धालाई पनि खुला छाडिएकाले दुवै विधि अवलम्बन भएको बताए । उनले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने पार्टी भएका कारण एमालेले जिल्ला अधिवेशनहरूमा मतदान र सर्वसहमतिका दुवै विधिलाई पनि उत्तिकै प्राथमिकतामा राखेको बताएका छन् ।

एमालेले २५ र २६ मंसिरको केन्द्रीय कमिटी बैठकबाट जिल्ला अधिवेशनहरूले नेतृत्व चयन गर्दा सर्बसहमतिलाई पहिलो प्राथमिकतामा राख्न र सहमति हुन नसके मात्र मतदानको प्रक्रियामा जान अन्तरपार्टी निर्देशन जारी गरेको थियो । दशौँ महाधिवेशनको प्रतिनिधिदेखि नेतृत्व चयनसम्म सर्वसहमतिमा जोड दिएको एमालेले जिल्ला अधिवेशनहरूमा भने सहमति र चुनावी दुवैखाले विधिको समानान्तर अभ्यास गरेको छ ।

चुनावी प्रक्रियाबाट नेतृत्व चयन भए पनि जिल्ला अधिवेशनहरूमा उम्मेदवारहरूले प्यानल नबनाई व्यक्तिगत प्रतिस्पर्धा गरेका छन् । तर १० बुँदे सहमतिपछि पार्टीमा रहेका नेताहरुको पक्षमा भने झिनो मात्रै उपस्थिति देखिएको छ ।

कैलाली, कञ्चनपुर जस्ता जिल्लामा पनि अध्यक्ष जित्न सकेनन् । भीम रावलकै जिल्ला अछाममा उनी निकट अध्यक्ष प्रकाश शाह पराजित भए ।
कैलालीमा सचिव लेखराज भट्ट र पूर्वउपाध्यक्ष भीम रावलले समर्थन गरेका अध्यक्षका उम्मेदवारबीच कडा प्रतिस्पर्धाबाट चुनावी परिणाम आएको छ ।

रावलले समर्थन गरेका रणबहादुर चन्दलाई तीन मतले पछि पार्दै भट्टले समर्थन गरेका उम्मेदवार रतन थापा विजयी भए ।

अछाममा रावलले समर्थन गरेका प्रकाशबहादुर शाह संस्थापन पक्षका राजेशचन्द्र बोहोरासँग पराजित भए । यद्यपि, त्यहाँ उपाध्यक्षसहित धेरै पदाधिकारी र सदस्यहरू भने रावलनिकट निर्वाचित भएका छन् ।

एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी र युवा नेता योगेश भट्टराई जिल्ला अधिवशेनमा धक्का लागेको छ । जिल्ला अधिवेशनमा आफू अनुकुलको नेतृत्व चयन गर्न नसक्दा उनीहरुलाई धक्का लागेको हो ।

नेकपा एमाले कास्की अध्यक्षमा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ निकट रहेका मनबहादुर गुरूङ निर्वाचित भएका छन् । जिल्ला नेतृत्व चुन्न मंगलबार भएको निर्वाचनमा गुरूङले ४५६ मत पाएर निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी दामोदर पौडेल ‘बैरागी’ ले ४०७ मत पाएका थिए । संगठन विचार विभाग प्रमुख सुब्बा र संगठन विभाग प्रमुख अधिकारीबीच नै निर्वाचन भएझै कास्कीमा एमालेका नेताहरु दुई भागमा विभाजित भएका थिए । अध्यक्षमा निर्वाचित गुरुङ यसअघि एमाले कास्कीका उपाध्यक्ष थिए ।

सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङमा भूपेन्द्र थेवेले बहालवाला अध्यक्ष बलबहादुर सामसोहाङलाई पराजित गरेका छन् । चुनावी प्रतिस्पर्धामा भट्टराई तटस्थ बसेका थिए । पराजित भएका सामसोहाङ दशबुँदे सहमतिसँगै एमालेमै रहेका थिए ।

एमाले सुनसरीको सातौँ अधिवेशनमा सर्वसम्मति जुटेन । अध्यक्षमा बहालवाला अध्यक्ष खेमराज पोखरेलसहित दुई पूर्व अध्यक्ष रेवतीरमण भण्डारी र द्वारिकालाल चौधरी इच्छुक भएपछि चुनाव भयो । रेवतीरमण भण्डारीले जित्दा खेमराज पोखरेल उपबिजेता बने ।

तीन जनामा सबैभन्दा ‘भाइरल’ उम्मेदवार द्वारिकलाल चौधरी भने ज्यादै थोरै मत ल्याएर तेश्रो स्थानमा रहे । १८०५ मतदाता भएको चु्नावमा बिजेता भण्डारीको ९२० आएको छ भने उपबिजेता खेमराज पोख्रेलको ७३३ मत आएको थियो । पूर्व सचिव भीम आचार्यको समर्थन रहेका पोखरेलले जीत हात पार्न सकेनन् ।

इलाममा महेश बस्नेतले डा. देवी दुलाललाई, ओखलढुंगामा शंकर कटुवालले सीताराम गुरुङलाई पराजित गरेर अध्यक्ष निर्वाचित भए ।

ओखलढंगामा यज्ञराज सुनुवार हावी हुन सकेनन । उपाध्यक्ष सुरेन्द्र पाण्डेको गृहजिल्ला चितवनमा चुनावी प्रतिस्पर्धा देखिएपछि अधिवेशन स्थगित भएको छ । त्यहाँ तेजेन्द्र खड्का, रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल र कमल पाठक आकांक्षी छन । उनीहरूमध्ये खड्का दशबुँदे सहमतिसँगै एमालेमै बसेका नेता हुन् ।

स्याङ्जामा पूर्वमाओवादी समूहका सूर्यप्रसाद गैरेलाई सचिव पद्मा अर्याल र मरासिनीलाई स्थायी समिति सदस्य खगराज अधिकारीले समर्थन गरेका थिए । तर गैरेले जित हात पारे ।

प्रतिक्रिया