बिहीबार, वैशाख १३, २०८१

‘ए’ डिभिजन लिगः सातदोबाटोद्वारा मनाङ पराजित

मेरोन्यूज २०७८ पुष ३० गते १९:३४

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शुक्रबार भएको दोस्रो खेलमा उपाधि दाबेदार मनाङ मस्र्याङदी क्लव सातदोबाटो युथ क्लवसँग पराजित भएको छ ।

सातदोबाटो यूथ क्लबसँग अप्रत्याशित २–१ ले स्तब्ध भएसँगै मनाङको ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिने अवसरसँगै उपाधि यात्रामा चुनौति थपिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा पराजित भएसँगै मनाङ संकटमा परेको हो ।

खेलको पहिलो हाफमै सातदोबाटोले २–० को अग्रता लिएको थियो । ११औं मिनेटमा मार्टिन एडेल्फे सिलोले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो ।

३८औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्स अजयीले हेडरमार्फत सातदोबाटोको अग्रता दोब्बर पारेका थिए ।

५६औं मिनेटमा आफिज ओलाओलेले गोल गर्दै मनाङलाई खेलमा फर्काउने संकेत गरेका थिए । सातदोबाटोका रक्षकले क्लियर गर्न नसकेको बललाई ओलाओलेले पोस्टको दिशा दिएका थिए ।

यसपछि पनि दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न सकेनन् । ६९औं मिनेटमा दीपकराज सिंह ठकुरीको प्रहार मनाङका गोलकिपर विशाल सुनारले विफल पार्दा सातदोबाटोले अग्रता बढाउने अवसर खेर फालेको थियो ।

७३औं मिनेटमा निशान लिम्बुको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिँदा मनाङले खेलमा फर्कने अवसर गुमायो ।

जारी लिगमा आफिजको यो छैटौँ गोल हो र उनी सर्वाधिक गोलकर्ताको सुचीको अग्रस्थानमा छन् । सातदोबाटोका अजयी र मछिन्द्रका सुनिल बलको समान समान ५ गोल रहेको छ ।

लिगमा उत्कृष्ट सुरुआतका बाबजुद पछिल्लो खेलमा लय गुमाएको सातदोबाटो अन्ततः जितको लयमा फर्किएको हो । यसअघि सातदोबाटोले दोस्रो चरणमा थ्री स्टार क्लबलाई हराएको थियो ।

पराजित भएसँगै मनाङ ९ खेलमा १९ अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत् छ । ८ खेल खेलेको मच्छिन्द्र २० अंकका साथ शीर्ष स्थानमा छ ।

सातदोबाटो ९ खेलमा १२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा विभागीय एपीएफले हिमालयन शेर्पालाई १–० ले हराएको थियो । शनिबार लिगमा दुई खेल हुनेछन् ।

प्रतिक्रिया