शुक्रबार, वैशाख १४, २०८१

ए डिभिजन लिगः हिमालयन शेर्पामाथि सशस्त्रको जित

मेरोन्यूज २०७८ पुष ३० गते १७:१६

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लवले हिमालयन शेर्पालाई पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा आभाष लामिछानेको निर्णायक गोलमा एपीएफले दोस्रो जित निकालेको हो । पहिलो हाफको इन्जुरी समयमा नविन लामाको कर्नरमा आभाषले उत्कृष्ट हेड गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पिन सदुपयोग गर्न सकेनन् । शेर्पाविरुद्ध एपीएफले तीन विदेशी खेलाडी उतारेको थियो । पहिलो हाफको इन्जुरी समयमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन ।

एपीएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार अकासिएको थियो ।

६३औं मिनेटमा मिलनको कर्नरमा उलरिच सिइबीले गरेको हेड बाहिरिँदा हिमालयनले खेलमा फर्कने अवसर गुमायो ।

७०औं मिनेटमा अर्मान्डले गरेको प्रहार हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले रोक्दा एपीएफले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । जारी लिगमा एपीएफको यो दोस्रो जित हो । यसअघि एपीएफले फ्रेन्डस क्लबमाथि जित हात पारेको थियो । एपीएफ जितसँगै रेलिगेशनको सम्भावना टरेको छ ।

हिमालयनको भने यो लगातार दोस्रो हार हो । हिमालयन पछिल्लो खेलमा थ्री स्टार क्लबसँग पराजित भएको थियो ।

जितपछि एपीएफले नौ खेलमा १० अंकसहित आठौं स्थानमा उक्लिएको छ । समान खेलमा ११ अंकसहित हिमालयन शेर्पा छैटौं स्थानमा छ ।

शुक्रबार ५७ खेल सम्पन्न भएपछिको अंक तालिका

प्रतिक्रिया