शनिबार, वैशाख १५, २०८१

अस्पतालमा भर्ना भएका अधिकांशमा अक्सिजन आवश्यक नपर्ने

मेरोन्यूज २०७८ पुष ३० गते १५:३१

काठमाडौं । पछिल्लो केही दिनदेखि नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । अस्पतालमा संक्रमित बढी भर्ना भए पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन् ।

कोरोनाको दोस्रो लहर गत बैशाख र जेष्ठ महिनामा अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले संक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने देखिएको चिकित्सकले बताएका हुन् ।

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालका डा प्रविन नेपालले पनि अहिले भर्ना भएका धेरैमा अक्सिजन नचाहिने बताए । दोस्रो लहरको जस्तो अहिले देखिएका संक्रमितमा अक्सिजन नचाहिने उनले जानकारी दिए । उनले भने, ‘भर्ना भएका १५ प्रतिशत बिरामीलाई मात्र अक्सिजन दिएर उपचार गरिरहेका छौँ ।’

यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताइन् । उनका अनुसार अहिले अस्पतालमा उपचार गर्न आएका कोरोनाका बिरामीलाई अक्सिजनको आवश्यकता परेको छैन । उनले भनिन् , ‘भर्ना भएका ६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यकता परेको छैन ।’

उनले अक्सिजन नचाहिए पनि अक्सिजन प्लान्ट अस्पतालले तयारी अवस्थामा राखेको जानकारी दिइन् । उनले भनिन्, ‘अस्पतालमा भर्ना भएका १२ मध्ये तीन जनालाई आइसीयूमा अक्सिजन दिई उपचार गरिएको छ । भने नौ जना हाई डिपडेन्सी कक्ष (एचडीयू)मा उपचार भइरहेको छ । ’
उनका अनुसार अस्स्पतालमा भर्ना भएको अधिकांश बिरामी घाँटीमा अप्ठेरो बनाउने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्नेजस्ता समस्या देखिएका छन् । अस्पतालमा १०० शैयासहित २४ आइसीयू रहेको छ ।

त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमले हाल भर्ना हुने कोरोना संक्रमितको संख्या बढेको बताउँछन् । उनले भने,‘कुनै पनि दिन ‘आउट ब्रेक’ हुन सक्छ । तयारी अवस्थामा बसेका छौँ ।’

पाटन अस्पतालका निर्देशक डा.रवि शाक्यले अबको दुई सातामा संक्रमितको संख्या बढ्ने बताउँछन् । ‘उच्च सतर्कताका साथ तयारी अवस्थामा बसेका छौँ । अबको दुई सातामा संख्या बढ्न सक्छ,’ उनले भने, ‘यो लहरमा जनशक्तिको अभाव हुन सक्छ । तीव्र गतिमा संक्रमण फैलिँदा ग्रुपमा स्वास्थ्यकर्मी संक्रमित हुने जोखिम छ । पोजिटिभ भए पनि काम गर्नुपर्ने स्थिति आउन सक्छ ।’
ओमिक्रोन भेरियन्टले कस्तो रुप लिन्छ । त्यसैको आधारमा अवको दुई हप्ता चुनौतीपूर्ण रहेको बताए ।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख डा.भूपेन्द्र वस्नेतले संक्रमण बढेसँगै संक्रमित पनि भर्ना हुन आउने बढेको बताए ।
वीरमा अहिले ५२ बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये नौ जना आइसियुमा उपचारत रहेका छन्। उनले भने,‘अहिलेसम्म भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता छैन् । ’
अस्पतालमा दैनिक २५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लाण्ट र २० टन क्षमता भएको तरल अक्सिजन प्लान्ट रहेको छ । अस्पतालमा ५०० शय्यासहित १०० शय्याको आइसियु रहेको छ ।

ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रमणदर गुणात्मकरुपमा फैलिने बताइएको छ । ओमिक्रोनले कोरोना खोप लगाएका÷नलगाएका दुवैलाई संक्रमित हुने विभिन्न अध्ययनहरुले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण तिब्र रुपमा फैल्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा हाल दुई हजार ७९७ आइसियु , भेन्टिलेटर एक हजार आठ, एचडीयू तीन हजार ८४६ रहेका बताए । उनका अनुसार उपत्यकामा दुई हजार ४९४ आइसोलेसन शय्या, ३२४ एचडियु, ४४५ आइसियु र २५४ भेन्टिलेटर रहेका छन् । देशैभर अक्सिजन सिलिण्डर १३ हजार ९३९, अक्सिजन कन्सटे«टर ६९३ रहेका छन् । २५ अक्सिजन ट्याङ्कमा १९ वटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेको छ । हालसम्म नेपालमा २७ वटा ओमिक्रोनका बिरामी पत्ता लागेका छन् ।

प्रतिक्रिया