बिहीबार, वैशाख १३, २०८१

तीन एआइजीपी थपको फाइल मन्त्रिपरिषदमा, क–कसको सम्भावना ?

मेरोन्यूज २०७८ पुष ३० गते १०:१३

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआइजीपी) पद सृजना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिस अनुरुप गृह मन्त्रालयले प्रक्रिया सुरु गरेको हो ।

नेपाल प्रहरीको प्रस्तावअनुसार आवश्यकता पहिचानका लागि छानबिन समिति गठन गरेर छानबिन समितिको निष्कर्ष अनुरुप सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको थियो । अर्थ मन्त्रालयले सहमति प्रदान गरेपछि मन्त्रिपरिषदमा पेस गर्नका लागि प्रहरी शाखाले टिप्पणी उठाएको थियो ।

त्यो टिप्पणी शान्ति सुरक्षा महाशाखा प्रमुख र सचिवले सदर गरेर मन्त्रिपरिषदमा निर्णयार्थ प्रस्तुत गर्न गृहमन्त्री बालकृष्ण खाँण समक्ष प्रस्तुत गरिएको निकट स्रोतले जानकारी दिएको हो । स्रोतका अनुसार गृहमन्त्री खाँणले टिप्पणी सदर गरेर मन्त्रिपरिषदमा पेश गर्न निर्देशन दिएका छन् । उनले सदर गरेसँगै फाइल मन्त्रिपरिषदमा पुगेको गृहमन्त्रालयको प्रहरी कर्मचारी शाखाका एक अधिकृतले जानकारी दिए ।

अब मन्त्रिपरिषद्ले पारित गरेपछि बहालवाला प्रहरी नायव महानिरीक्षक मध्यबाट तीन जनालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गरिनेछ ।

क–कसको छ सम्भावना ?

एआइजीपीमा पद थपिने भएपछि बहालवाला डिआइजीपी एआइजीपी बन्न शक्तिकेन्द्र धाइरहेका छन् । सत्तारुढ दलका नेताहरुसँग अहिलेका डिआइजीहरुको लाइन लागिरहेको छ ।

निकटस्थ स्रोतले अर्थमन्त्री जनार्दश शर्माले आफ्नो सिफारिसमा एक जनालाई एआइजीपी बढुवा गर्ने शर्तमा तीन एआइजीपी थप्न सहमति दिएका छन् । स्रोतका अनुसार उनले रविन्द्र धानुकलाई एआइजीपी बनाउन सिफारिस गरेका छन् । तर, प्रहरीमा धानुक काबिल अधिकृत नभएको भन्दै बढुवा गर्न नहुने आवाज पनि उठिरहेको छ ।

शर्मा सत्तारुढ दल माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा आएका हुन् । माओवादीको कोटामा उनी एआइजीपी बन्ने पक्का जस्तै रहेको स्रोत बताउँछ ।

त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले भने डिआइजीपी ईश्वरबाबु कार्कीलाई एआइजीपीमा बढुवा गर्न चाहेका छन् । गृह मन्त्रालयमा कार्कीको आवतजावत बाक्लिएको स्रोतहरु बताउँछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र विशेषगरी देउवा पत्नी आरजु उत्तम सुवेदीलाई एआइजीपी बनाउन चाहेका छन् । आरजुले देउवामार्फत सुवेदीलाई एआइजीपी बनाउन गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक शैलेश थापालाई निर्देशन दिएको बताउँछ । तर, गृहमन्त्री खाँण आफूलाई असहयोग गरेको भन्दै सुवेदीलाई एआइजीपीमा बढुवा गर्न नचाइरहेको स्रोत बताउँछ ।

काठमाडौँ प्रहरी परिसरका एसएसपी अशोक सिंहलाई काज सरुवा गर्दा डिआइजीपी सुवेदीले आइआजीपी हरि पालसँग मिलेर असहयोग गरेको गृहमन्त्री खाँणको बुझाई छ । सुवेदी र सिआईबीमा रहेका धिरज प्रताव सिंहमध्ये एक जना मात्रै डिआईजी बन्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया