मंगलबार, वैशाख ११, २०८१

पाँच महिनामा करिब चार खर्ब रेमिट्यान्स भित्रियो

मेरोन्यूज २०७८ पुष २९ गते २०:३५

काठमाडौँ । प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ ।

सो अवधिमा कूल तीन खर्ब ८८ अर्ब ५८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया