शुक्रबार, वैशाख ७, २०८१

मलेसियामा मृत्युदण्ड सुनाइएकासहित २५ नेपालीको उद्धार

मेरोन्यूज २०७८ पुष २४ गते ८:०९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन् ।

यसरी घर फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार साह र दुई महिलासहित २५ नेपाली रहेका छन् । सन् २०१८ को २९ जुलाइमा उच्च अदालतले राजकुमारसहित मलेसियाका अन्य दुई व्यक्तिलार्ई ‘लागू औषध’ कारोवारमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला सुनाएको थियो ।

उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँस्थित नेपाली दूतावासको आर्थिक र अन्य सहयोगमा राजकुमारले माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए । संघका उपाध्यक्ष डा केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्धार कार्यक्रममार्फत ती नेपालीलाई जेलबाट छुटाएर स्वदेश फर्काइएको हो ।

प्रतिक्रिया