बिहीबार, चैत १५, २०८०

सुरक्षाकर्मीकै मिलोमत्तोमा सर्लाहीमा तस्करी !

मेरोन्यूज २०७८ पुष २३ गते १२:२३

काठमाडौं । सर्लाहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको मिलेमतोमा सीमा तस्करी खुला गरिएको छ । नेपाल-भारत सीमा क्षेत्रलाई दैनिक चार घण्टा चेकजाँच विनानै खुला गरेर तस्करी खुला गरिएको हो । ‘राती, विहान, दिउँसो र साँझगरी मिलाएर चार घण्टा खुला गरिएको छ’, सर्लाहीबाट एक सुरक्षा अधिकारीले बताए ।


उनका अनुसार नेपाल प्रहरीलाई मिलाउने जिम्मा सशस्त्र प्रहरीका एसपी भरत खनियाले मिलाएका छन् । ‘सशस्त्रका एसपी खनिया र नेपाल प्रहरीका एसपी कृष्ण प्रसाई हप्तामा एक पटक सीमा निरिक्षणको नाममा सीमा क्षेत्रमा गएर कार्यालय फर्कने गरेका छन्’, एक प्रहरीले भने । उनका अनुसार दुवै एसपीले मिलेर घुमुवा परिचालन गर्ने गरेका छन् ।

सर्लाहीको पर्सा गाउँपालिका -३ स्थित नारायणपुरमा नेपाली र भारतीय नागरिकलाई निर्बाध हिडडुल गर्न दिइएको छ । सीमा क्षेत्रमा सैयौं बिघा नेपाली जमीनको मालिक भारतीयहरु रहेका छन् । त्यहाँ नेपाली भूमिमा बाँस र आँप रोपेको कारण उनीहरुको आउजाउ बढेको मात्रै होइन तस्करीमा पनि उनीहरुको संलग्नता रहेको छ । तर नजिकै रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवै मौन रहेको छ ।

त्यसैगरी उखु खेतीबाट पलायन गराउने चिनी उद्योगीहरुले भारतबाट उखु तस्करी गरी नेपाल ल्याउन पनि प्रहरीको सहयोग रहेको छ । ‘सर्लाही प्रहरी प्रशासनको मिलोमतोमा भारतबाट दैनिक हजारौँ क्वीन्टल उखु नेपालतर्फ तस्करी भइरहेको छ, सीमा रहेको प्रहरीले केही गर्देन उल्टै पैसा लिएर छाडिदिन्छ’, स्रोतले भन्यो । स्रोतका अनुसार अवैध रुपमा भारतबाट उखु भित्र्याउनको लागि चिनी उद्योगीहरुले सीमा क्षेत्रमा नै दुई दर्जन उखु तौल गर्ने मेसिन काँटाको स्थापना गरेर बस्दा पनि जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरीले कुनै पनि कारवाही अघि बढाएका छैनन ।

भारतबाट अवैध रुपमा उखु तस्करी गराउन चिनी उद्योगहरुले सर्लाहीको बलरा तथा फेनहाराको दशगजा क्षेत्रमा करिब दुई दर्जन काँटा संचालनमा ल्याएको स्रोतको दावी छ । मलंगवाको गोरखकाली मुख्य नाकासहित अन्य ७ वटा छोटी नाकामा निर्वाध रुपमा तस्करी सञ्चालनमा आएको छ ।

Advertisement


‘छोटी नाकाहरु संग्रामपुर, पर्सा, त्रिभुवननगर, भाडसर, बाराउद्योरण, फेनहारा र बलरा नाकाबाट उखु मात्रै तस्करी भएको छैन,होइन नेपालबाट चुरे दोहोन गरेर लगिएको गिटी वालुवा पनि भारततर्फ निकासी हुने गरेको छ । ‘बर्दिवासबाटै च्यानल मिलाएर लगिएको हुन्छ, त्यहाँ प्रहरीले यसो हेर्ने दिए थापेर लिने नत्र माथिको आदेश अनुसार छाडिदिने गरेको छ’, स्रोतले भन्यो ।

सर्लाहीबाट तस्करी बढेको भन्दै नेपाल–भारत सीमा क्षेत्रस्थित सर्लाहीका तीन स्थानमा एक वर्ष अघि एकैदिन सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) थप गरिएको थियो । सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका-३, बहादुरपुर, मलंगवा नगरपालिका-५, भाडसर र ब्रम्हपुरी गाउँपालिका-५, सखुअवामा बीओपी स्थापना गरिएको थियो ।

सर्लाहीको ५१ किलोमिटर सीमा क्षेत्रमा १७ वटा बोर्डर आउट पोष्ट निर्माण गर्ने क्रममा सर्लाहीको प्रत्येक बीओपीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वमा ३५ जनाको हाराहारीमा सशस्त्र प्रहरी राखिएको थियो । तर एसपी खनिया गएपछि ती विओपीमा १५ जना पनि जनशक्ति नभएको र गस्तीमा दुई देखि तीन जना मात्रै जाने गरेका छन् ।

त्यसैगरी नेपाल प्रहरी समेत कहिलेकाही संयुक्त गस्ती बढाउदा नेपाल प्रहरीलाई पनि सशस्त्र प्रहरीले नै तस्करीमा सहयोग पुर्याउन आग्रह गरिरहेको त्यसवापत नेपाल प्रहरीका एसपी कृष्ण प्रसाई आर्थिक लाभ लिने गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया