शुक्रबार, वैशाख ७, २०८१

माओवादीको केन्द्रीय समिति घोषणाको क्षण

प्रचण्डले कसरी फकाए महाधिवेशन प्रतिनिधिलाई ?

मेरोन्यूज २०७८ पुष १९ गते १६:१०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनले २३६ जनाको केन्द्रीय समिति सर्वसम्मत चयन गरेको छ । प्रचण्डले वन्दशत्रमा पेश गरेको केन्द्रीय समितिको नाम घोषणालाई सर्वसम्मत पारित गरेर महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनले वन्दशत्र सम्पन्न नहुँदा सम्म निर्वाचन हुन्छ की या के होला भन्ने निक्कै कौतुहलता थियो । असन्तुष्टि बढन सक्ने आंकलन पनि उत्तिकै थियो । तर जव प्रचण्ड केन्द्रीय समिति घोषणा गर्न वन्दशत्र हलमा केन्द्रीय सदस्यहरुको नामावली लिष्ट बोकेर पुगे, धेरैलाई उनले कसरी महाधिवेशनका प्रतिनिधीहरुको मन वुझाउन सक्लान् भन्ने थियो । तर उनले कार्यकर्तालाई यसरी सम्वोधन गरे, उनले घोषणा गरेको अपुरो केन्द्रीय समितिको नाम पनि सर्वसम्मत पारित भयो ।


प्रचण्डले केन्द्रीय समिति घोषणा गर्दा के कसरी महाधिवेशन प्रतिनिधीलाई फकाएका थिए त ? प्रचण्डकै शब्दमा :


हामीले पारित गरेको राजनीतिक प्रतिवेदन र विधानसँग तालमेल खानेगरी र पार्टीलाई एकजुट बनाएर पारित नीति, कार्यक्रम र योजनालाई कार्यान्वयन गर्ने ढंगले अव लैजान सकिएला की नसकिएला भन्ने गरी हामी महाधिवेशनमा उपस्थित सवैको ध्यान केन्द्रीत छ ।

मलाई लाग्छ, हामी सवै यसमा गम्भिर पनि छौं । मैले पाएका सूचना अनुसार, साथीहरु चिन्तित पनि हुनुहुन्छ । अलिअलि आवेग पनि तपाईहरुभित्र छ । के हुन लागेको छ पार्टी भन्ने पीडा तपाइहरुलाई भैरहेको छ । यसको ब्यवस्थापन ठिक ढंगले होला त ? भन्ने आशंका पनि छ ।

आठौं राष्ट्रिय महाधिवेशनको वन्दशत्रको हलवाट नयाँ केन्द्रीय समितिको नाम प्रस्तुत गरिरहँदा हामी आयोजकहरुलाई अझ मुख्य रुपमा स्थायी समितिमा हिजो देखि आजसम्म लगातार छलफल हामी गरिरहेका छौं, हामी पनि चिन्तित छौं ।

यो केन्द्रीय समितिको प्रस्ताव बनाउन हामीले बनाएको ५ सदस्यीय एउटा कार्यदल थियो । त्यसले केही दिन देखि लगातार यसमा गृहकार्य गरिरहेको थियो । विहान, वेलुकी र राती उहाँहरु र हामीले भर्खरै स्थायी समिति बसेर हामी यहाँ आउँदैछौं । समसामायिक प्रस्ताव, आर्थिक लगायत अनुमोदन सम्वन्धी विषयहरु यहाँ राखियो, तपाईहरु जस्तै हामी स्थायी समितिमा रहेका साथीहरु पनि गम्भिर छौं । केन्द्रीय समितिको नयाँ प्रक्रियाको विषयलाई लिएर हामी चिन्तित पनि भएका छौं ।

लिडरसिप पनि अलिअलि अपुगतासँग सम्वन्धित छ भन्ने चाहान्छु । तपाईहरु मात्रै होइन, म पनि । जस्तो हुनुपर्ने हो, त्यस्तो हुने भएन । जस्तो चाहिने हो, त्यस्तो नहुने भयो भन्ने वारेमा अलिअलि चिन्ता, अलिअलि अपुगता जस्तो भईरहेको छ । केन्द्रीय समितिसँग सम्वन्धित विषयलाई लिएर तपाईहरु मात्र चिन्तित हुनुभएको तर हामी वडो खुसी भएको स्थिती अहिले होइन । यसवारेमा हाम्रो तपाईहरुसँग उस्तै–उस्तै भाव छ ।

हामीले विगत महाधिवेशनमा गर्ने निर्वाचन भन्दा विल्कुल भिन्न किसिमको निर्वाचन हामी यो महाधिवेशनमा गदैछौं । र, त्यही भिन्न किसिमको निर्वाचनले जन्माएका अप्ठ्यारा/जटिलताहरुको पहिलो चोटी हामीले सामना गर्नुपरयो । यो नयाँ संविधान वन्नु अगाडी यस्तो स्थिती थिएन । पार्टीले देशभरको स्थिती हेरेर, पार्टीको आफनो मूल्यांकनको आधारमा वा प्रत्यक्ष निर्वाचनको आधारमा कमिटिहरु निर्वाचित गर्ने हामीले अभ्यास गदै आएका छौं, यो पटक पहिलो पटक हो । हामी नितान्त नयाँ किसिमको निर्वाचनवाट केन्द्रीय समिति चयन गरेर आउनुपर्ने वाध्यतामा हामी परयौं ।

त्यो अरु कसैका कारणले यो स्थिती सिर्जना भएको होइन । यो स्थिती जन्माउने माओवादी आफै हो । माओवादी आन्दोलन, क्रान्तिकारी आन्दोलन र उनीहरुको त्याग, तपस्या र वलिदानले यो जटिलता निम्ताएको हो ।

यो जटिलता आयो भनेर असन्तुष्टि जनाउने की गर्व गर्ने ? सैद्धान्तिक रुपमा भन्दा हामी सवैले यसमा गर्व नै गर्नुपर्ने हुन्छ । हामीले उत्पीडित जाति क्षेत्र, लिंग, वर्ग समुदाय, अपांग इत्यादी सवैको समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्छ । त्यो समावेशी प्रतिनिधित्व राज्यमा मात्र होइन, राजनीतिक दलहरुमा पनि भन्ने सम्वैधानिक ब्यवस्था हामीले नै गरेको हो । संविधान निर्माण गर्दा सवै वर्ग तह तप्काको सम्मानजनक उपस्थिती, समावेशी–समानुपातिक उपस्थिती राज्यमा आवश्यक छ नै, राज्यको मात्र भएर हुदैन, राजनीतिक दलहरुमा पनि त्यसरी नै जनताको जे परिरिस्थती भयो, जस्तो विशेषता छ, त्यो सवै झल्किनुपर्छ पार्टीहरुभित्र । नेपाल झल्किनुपर्छ ।

कुनै एउटा जातिको, कुनै एउटा वर्ग विभेद (वर्ग भन्दा जनताको वर्ग भनेको हो) देखिनुपरयो, समुदाय देखिनुपरयो, क्षेत्र देखनुपरयो भनेर त्यो लडाँई हामीले नै गरेको हो । र हामीले नै त्यसलाई संविधानमा ब्यवस्था गर्न सफल भयौं । यधपी, त्यो पूर्ण सफलता भएन । हामी चाहान्छौं, पूर्ण समानुपातिक होस । निर्वाचन प्रणाली पनि, राज्यले पनि पूर्ण समानुपातिक मान्यताका आधारमा राज्यका सवै अंगमा त्यस्तो प्रतिनिधित्व प्रणाली ल्याओस । त्यसमा हामी पुग्न सकेनौं । तर हामीले संविधानमा फेरि पनि समानुपातिक समावेशी मान्यतालाई स्थापित गर्न सैद्धान्तिक रुपले एक हदसम्म र ब्यवहारिक रुपले पनि हामी सफल भयौं ।

त्यही सफलताको परिणाम हो – आज जुन कुनै राजनीतिक दलका महाधिवेशन अव मधेसी, आदीवासी जनजाति, दलित, महिला, थारु, पिछडिएको क्षेत्र, अपांगता भएका ब्यक्तिहरु सवै सवैको प्रतिनिधित्व राज्यमा गराउनुपर्ने र राजनीतिक दलहरुमा पनि गराउनुपर्ने वाध्यता भएको छ ।

हाम्रा ऐन पनि त्यसरी नै बनेका छन् । राजनीतिक दलसम्वन्धि ऐन, त्यसभित्र हुने प्रतिनिधित्व प्रणाली सम्वन्धी ऐन पनि त्यही रुपमा बनेका छन् । त्यही रुपमा बन्नु तपाई हाम्रो निम्त्ति दुखको कुरा त होइन, खुसीको कुरा हो । हामी सवैले गर्व गर्नुपर्ने विषय हो । आज के कांग्रेस, के एमाले , के राप्रपा सवैले निश्चित प्रतिशत उत्पीडित समुदायलाई, विभेदमा परेकालाई प्रतिनिधित्व गराउनै पर्ने भएको छ । हामीले नै हो यसको निम्त्ति सवैभन्दा वढी संर्घष र वलिदान गरेको । त्यसकारण पनि हामी अरु भन्दा एक स्टेप अगाडी वढेर यो समानुपातिकता/समावेशी लोकतन्त्रको निम्त्ति यसको मर्मलाई अग्रगामी रुपमा अगाडी वढेर अरुको भन्दा राम्रो, अरुको भन्दा वढी हक हित उत्पीडित वर्ग, समुदायलाई हुने गरी दिनुपर्छ भनेर हामीले भनिरहेका छौं ।

अव हामीले महाधिवशेनवाट गरिने केन्द्रीय समिति निर्माणमा पनि यसको सम्वोधन गरेको पहिलो पार्टी बनेर प्रमाणित गर्नुछ । त्यसकारण पार्टीको संरचनालाई त्यो रुपमा ढाल्नु र त्यो पनि पहिलो पटक त्यो स्वरुपमा बदल्न खोज्नु आफैमा एउटा जटिलता हो । र अर्काेतिर वाट हेर्दा यो आफैमा एउटा अवसर पनि हो । हामीले एउटा अवसर प्राप्त गरेका छौं । हामीले महिलालाई अरु राजनीतिक पार्टीहरुले भन्दा धेरै प्रतिनिधित्व गराएर विशेषाधिकारलाई सम्वोधन गर्ने प्रक्रियाको सुरुआत महाधिवेशन बाट गर्न खोजेका छौं ।

दलितलाई अरुले दिएको भन्दा केही प्रतिशत प्रतिनिधित्वको संख्या वढी दिएर उनीहरुको अधिकारलाई सम्मान गर्ने अवसर हामीलाई छ । मुश्लिमलाई पनि अरुले भन्दा धेरै दिएर सम्वोधन गर्ने अवसर प्राप्त तपाई–हामीलाई भएको छ । त्यसैगरी हामीले सवैलाई समानुपातिक-समावेशी मान्यताका आधारमा आदीवासी, मधेसी लगायत पिछडिएका समुदाय सवैलाई अरुले भन्दा एक स्टेप अगाडी वढेर सम्वोधन गर्ने र आम नेपाली जनतालाई त्यो विश्वास दिलाउने अवसर हामीलाई छ ।

माओवादी पार्टी आफैभित्रका थुप्रै झमेला, जटिलता हुँदा हुँदै पनि समावेशी समानुपातिक मान्यता लागु गर्न अग्रगामी छ । जनताको मस्तिस्कमा यो राजनीतिक दल मात्रै नेपालका सवै उत्पीडित श्रमजीवि जनताका सञ्चा पार्टी हो भनेर देखाउने अवसर हाम्रो अगाडी आएको छ । यो महाधिवेशन अवसरका रुपमा आएको छ ।

हामीलाई पार्टीको केन्द्रीय समिति निर्माणमा जुटिरँहदा जटिलताहरु अनेक खालका आए ।

देशका राजनीतिक पार्टीहरु र देशको अहिलेको राजनीतिक प्रणालीभित्र सामान्तवादी वा एउटा भाषा विशेष, वर्ग विशेष, जाति विशेष हावी हुँदै आएको सन्र्दभमा हाम्रो पार्टीमा पनि ५० प्रतिशत भन्दा वढी जनसंख्या भएका महिलाहरुको सहभागिता कति छ ? भन्दा नितान्त कम संख्या मात्र महिलाहरुको छ । पार्टीका केन्द्र देखि सवै तहका कमिटिमा महिलाको संख्या अत्यन्त कम हुँदै आएको छ ।

यो आजको मात्र कुरा होइन, दशकौं देखि हामीले गरेको अभ्यासका रुपमा हामी भित्र पनि कँही न कँही पितृसत्तावाद देखा परिराख्यो । कुनै न कुनै रुपमा हिजोका टाठावाठा जाति समुदाय, उनीहरु नै हावी हुने, विगतमा जो टाढाटाठा थिए, उनीहरु नै कमिटिमा आउने परम्परा हाम्रो अगाडी छ । हाम्रो अहिले भएको केन्द्रीय कमिटिमा पनि तपाईृ हामीले हेरयौं भने पुरुषहरुको अत्याधिक ठूलो संख्या छ र महिलाहरु अत्यन्त कम संख्यामा हुनुहुन्छ । त्यसैगरी मधेसी, आदीवासी, जनजाति ,मुस्लिम, थारु पिछडिएको क्षेत्रको प्रतिनिधित्व हेरयो भने पनि त्यस्तै नितान्त कम छ । सम्मानजनक उपस्थिती त्यहाँ छैन ।

त्यसलाई क्रम भंग गर्ने चुनौति हाम्रा लागि पनि थिए । त्यसले गर्दा हामीले चाहे जसो गरी समावेशी समानुपातिक दिऊ न त भन्दा पैदा हुने एउटा जटिलता, एउटा ऐतिहासिक सन्र्दभमा उत्पीडित भएर आएको समुदाय र त्यसका नेताहरुको टिम, त्यसको क्लस्टर, केही प्रदेशमा यति धेरै केन्द्रीय समितिका सदस्य छन, केही प्रदेशमा यति थोरै केन्द्रीय कमिटिका सदस्य छन । कोही प्रदेशमा भएका धेरै केन्द्रीय सदस्य एउटैवाट परेको तर अन्य जातिवाट छैन, आदी इत्यादी । यो जटिलता हामीले सामना गरेका छौं, गरिरहेका छौं ।

अर्काेतिर, हामीले बनाएको संविधान र कानुन अनुसार प्रतिनिधित्व गराउनु पर्ने वाध्यता पनि छ । त्यसो गर्दा हामी अहिले के देखिरहेका छौं भने, यदि यो पार्टीले आउने दिनका लागि सवै उत्पीडित वर्ग,जाति क्षेत्र, लिंग, समुदायमा संगठन विस्तार गर्ने, सदस्यता वितरण गर्ने, स्कुलिंङहरु चलाउने, वैचारिक रुपमा चेत हुने गरी अगाडी लैजाने अभियान नै चलाउने काम गरेनौं भने यो जटिलता आज मात्र होइन, भोलि पनि रहिरहन्छ ।

त्यसकारण महाधिवेशनको यो हल र तपाई हामी सवैले आज एउटा मनको संकल्प लिएर पार्टीको एउटा स्वरुप वदल्नेछौं । पार्टीको यो रुपलाई उत्पीडित वर्ग, क्षेत्र, समुदायमा पार्टीलाई फैलाएर, संगठित गरेर प्रशिक्षित गरेर सवै जाति, समुदाय, क्षेत्र, वर्गवाट समानुपाितक ढंगले नै पार्टीका नेता कार्यकर्ताको विकास गर्ने एउटा नयाँ चेतनाको अभियान लिएर हामीले अर्काे महाधिवेशनसम्म आउँदा जस्तोकी, प्रतिवेदन पारित गर्दा मैले भनेको छु विशेष महाधिवेशनसम्म जाँदा हाम्रो पार्टीको अहिलेको संरचना, स्वरुपलाई वदलेर समावेशी समानुपातिक ढंगले नै कार्यकर्ता विकास गर्ने एउटा योजना, कार्यक्रमलाई पूरा गरेर हामी आउनुपर्नेछ । हामी सवैले त्यो संकल्प नलिने हो र आउने दिनमा संगठनलाई हामीले त्यसरी विस्तारित नगर्ने हो भने आज हामीले भोगिरहेको जटिलता भोलि पनि आउनेवाला छ । यसमा सवैले विशेष रुपमा ध्याना दिन जरुरी छ ।

अर्काे अहिले हामी अर्काे जटिलतामा पनि छौं । तपाई हामी सवैलाई थाहा छ, तत्कालिन नेकपा (माओवादी केन्द्र) र तत्कालिन नेकपा एमाले एकता गर्दा हामीले केन्द्रीय समिति भनेर जस्तो बनाएका छौं – २ सय र २४१ गरेर ४४१ जनाको । त्यो भन्दा अगाडी हाम्रो केन्द्रीय समिति के थियो, तपाई हामी सवै त्यसका भुक्तभोगी छौं । कति हो कति ? हामीलाई पनि थाहा भएन, कतिको केन्द्रीय कमिटि थियो ? ५ हजार, ४ हजार, ७ हजार, ९ हजार ? वडो विचित्रको थियो । जति गर्दा पनि नहुने । त्यो वेला पार्टीका सवै सदस्यलाई केन्द्रीय सदस्य भनौं भनेर हाम्रो ब्याङग्य पनि चल्ने गरेको थियो ।

साँच्चैको भूमरी जस्तोमा हामी पर्न थालेका थियौं । त्यसवेला भर्खरै हामीले १० वटा माओवादीहरुको एकता गरेका थियौं, र नेकपा (माओवादी केन्द्र) भएका थियौं । सवैलाई समेटौं भन्दै जाँदा असिमिति केन्द्रीय कमिटि हुने र त्यसलाई घटाउने वैज्ञानिक विधि विधान बनाउने तिर त हामी सोच्दै थियौं, अव राष्टिय भेला वा सम्मेलन जे गरेर भएपनि घटाउनुपर्छ भनेर हामी लाग्दै थियौं, त्यही वेला निर्वाचन आयो ।

निर्वाचनको प्रक्रियामा हामीले वामपन्थी गठवन्धनको कुरा गरयौं । र पार्टी एकताको कुरा गरयौं । परिणामतः एकताका बेलामा जे सहमति भयो, त्यस आधारमा हामीले २ सय जनालाई केन्द्रीय समितिमा झारयौं, त्यही वीचमा । गठवन्धनबबाट चुनाव लड्ने, जित्ने एउटा उभार भयो । कार्यकर्तामा पनि एउटा उभार, उत्साह भयो । त्यहाँ कुनै ठूलो असन्तुष्टि, विरोध या अरु केही भएन । स्वाट्टै हामीले २ सयमा झारयौं ।

जव अदालतले फेरि हामीलाई दुई वटा पार्टी बनाईदिईसकेपछि हामीले २ सयलाई आधार बनाएर जति वाँकी रहेका थिए, केही मानिसहरु प्रक्रियामा दायाँवायाँ भए, वाँकी हामी जति थियौं, त्यसैलाई केन्द्रीय समिति मान्दै निर्वाचन आयोगलाई त्यही अनुसार छलफल, लेखापढी गदै प्रक्रिया विधी मिलाउँदै यो ठाँउसम्म आयौं ।

यो महाधिवेशन आयोजना गदै गर्दा पार्टी सदस्यता वितरण, नविकरण, वडा, गाँउ, नगर सम्मेलन हुदै प्रदेश सम्मेलन देखि यहाँसम्म आइृपुग्दा यही आयोजक समिति या केन्द्रीय समितिले काम गरयो । त्यसलाई पनि हामीले विर्सनु हुँदैन

हाम्रो पार्टी नै यसरी विकास भएर आएको छ की, यसलाई समावेशी, समानुपातिक बनाउने चुनौति छ । अर्काे कुरा जसले यो महाधिवेशन आयोजना गरयो, उसलाई अहिले केन्द्रीय समितिबाट हटाउन हामीले सम्भव हुने देखेनौं । १७९ जना छ । पछि सवै गर्दा १८४ को पुगेको थियो, त्यो संख्यालाई हटाएर नयाँ सदस्यहरुलाई थप्ने यसपटक त्यो सम्भव भएन । एकातिर यो पनि जटिलता हो ।

हुन त स्थायी समितिमा हामीले यस वारेमा छलफल गर्दा हामीले छोडिदिउँ भन्ने गरी छलफल पनि भए । ५/७ जना स्थायी समितिका साथीहरुले हामीले छोडिदिउँ भनेर हात पनि उठाउनुभयो । नयाँ साथीहरु आउनुहुन्छ तलवाट भन्ने पनि भयो । तर अहिले ५/७ जनाले छोडिदिँदा र नयाँ ५÷७ जना ल्याउँदैमा ठूलै रुपान्तरण होला त ? त्यो पनि हुँदैन । बरु हामीले समावेशी, समानुपातिक मान्यतालाई अधिकतम सम्वोधन गरेर अर्काे अधिवेशन सम्म सम्पूर्ण तयारी गरेर पुरै पार्टीलाई नयाँ ढंगले बनाउने सोच्दा हामी सवैको जिममेवारी एक ढंगले पूरा हुन सक्छ । अहिले भावावेशमा आएर ल छोडछु यसो गर्छु भन्दैमा यो समस्याको समाधान हुँदैन भन्ने हामीले महसुस गरयौं ।

त्यसो हुँदा हामी अरु भन्दा एक स्टेप अगाडी समावेशी समानुपातिक पनि हुने, र नेतृत्व पनि त्यसैगरी निर्माण गर्दा के गर्नुपर्ला भन्नेमा छलफल गदै जादा नीतिगत रुपमा नै हामीले संविधान र कानुनको ब्यवस्था अनुसार ६० प्रतिशत खुल्लावाट र ४० प्रतिशत समानुपातिक भन्ने ब्यवस्था छ । कांग्रेसले अहिले गरेको त्यही हो, एमालेले गरेको पनि त्यही हो । हामीले समानुपातिक वढाईदिनुपर्छ भन्ने तिर हाम्रो कुरा भयो । नीतिगत रुपमा नै हामीले त्यसलाई ६०/४० होइन, ५०/५० गर्नुपर्छ । यसो गर्दा कानुनले फेरि समानुपातिक वढी गर्न पाइदैन भन्ने होइन ।

त्यसकारण अहिलेको अवस्थामा ५० प्रतिशत समानुपातिक बनाइयो भने, हामीले समानुपातिक मान्यतामा ल्याउने विधिमा विभिन्न कल्ष्टरहरुमा जनजाति,महिला, दलित सवै सवैमा स्वत नै उनीहरुलार्ई प्रतिनिधित्व वढी हुन जाने विधिगत रुपमा भयो । संगठनमा पनि त्यही अनुसार ब्यवस्था गर्न सकिन्छ भनेर हामीले समानुपातिकको मात्रा वढाईदिउ भनेर गरेको हो । यसको मर्म ठूलो छ । यसलाई सवैले गम्भिरतापूर्वक वुझन जरुरी छ । यो आँट माओवादीले मात्रै गर्न सक्छ, अरुले गर्न सक्दैन ।

हामीले अझ ६० समानुपातिक गर्ने की भन्ने छलफल नचलाएको पनि होइन, तर यसो गर्दा अन्य पार्टीहरुले सवै समानुपातिक माओवादीले गर्ने भए भनेर पनि मलाई त्यक्ति विधि गर्नुभएन भन्न थालेका थिए । फेरि हाम्रोमा पनि त्यसो गर्दा अहिले खस आर्यमा रहेका धेरै केन्द्रीय नेताहरु हटनुपर्ने स्थिती हुने भयो । जुन कुरा अहिले भर्खरै हटाउँदा एउटा संक्रमणकालको अवस्थामा रहेका हामीले पार्टीलाई रुपान्तरण गर्ने कुरामा कँही न कँही ठेस पुग्न सक्थ्यो । सवैलाई समानुपातिक समावेशी सहज ढंगले वुझने, वुझाउने र त्यसरी नै प्रतिनिधित्व गराउने बनाउन हामीलाई अझै थप एकाध वर्ष मेहनत गरौं भन्ने हो ।

अहिले नै त्यसो गर्दा हामी सवैले छोडनु पर्ने अवस्था पनि देखियो । यो अहिलेको अवस्थामा उचित हुन्छ त ? त्यसो गर्नु वस्तुवादी हुदैन । त्यसो भएकोले हामीले ५०/५० गरि हेरयौं, जे पर्छ पर्छ भनेर आएका हौं । हाम्रो कानुनी ब्यवस्था भन्दा एक स्टेप अगाडी वढेर हामीले समानुपातिक ब्यवस्था गर्न खोजेका हौं । यो सवैलाई सम्वोधन गर्न पनि हुन्छ । यसले देशका सवै जाति, समुदाय, उत्पीडित वर्ग क्षेत्रमा माओवादी नै रहेछ सवै हक हितको सम्वोधन गर्ने भन्ने प्रमाणित हुन्छ । हामो प्रवक्ता पार्टी माओवादी नै रहेछ भन्ने कुरा उत्पीडित वर्ग, क्षेत्र, समुदायमा सुस्पष्ट रुपमा जान्छ । त्यो हाम्रो लागि गर्वको कुरा हुन्छ ।

एकातिर पूरानो केन्द्रीय समितिका साथीहरुलाई पनि अहिले भर्खर हटाउन नखोज्ने, वाहिरवाट वेलुनमा हावा भरेको भरयै हावा निस्कने ठाँउ छैन, अनि फुटला की भनेको जस्तो । निकास चँही छैन, केन्द्रीय समितिमा आएकालाई यो विधिमा यति प्रतिशत निस्कने भन्ने विधि हामीले बनाईसकेका छैनौं । त्यो अनुसार पार्टीलाई व्रेन गर्ने, मानसिकता तयार पार्ने, उनीहरुलाई काहाँ राख्ने, कसरी ब्यवस्थापन गर्ने भन्ने बारेमा हाम्रो तयारी भएकै छैन । एकैचोटी नाटकिय ढंगले हटाउने भन्दा त्यहाँ पनि एउटा जटिलता र दुर्घटनाको खतरा आउँछ पार्टीमा भनेपछि हामीले समानुपातिकलाई पनि अगाडी वढेर सम्वोधन गर्ने र पहिलेका लाई पनि धेरै नचलाउने भन्दा हामी सवैभन्दा वढी अप्ठयारोमा परयौं ।

यो माओवादी आफैले ल्याएको अप्ठ्यारो पनि भएकोले माओवादीले नै त्यसलाई सल्टाउनुपर्छ । सवै उत्पीडित वर्ग, क्षेत्रको प्रतिनिधित्व हुदै जादा हामीले यो महान काम गरेका हुन्छौं । यो साच्चै नेपालको राष्टिय एकताको विकास गर्ने, नयाँ आन्दोलनको विकास गर्ने नयाँ ठाँउमा पुग्नेछौं भन्ने यसले देखाउनेछ ।

अहिले आउन पर्ने छुटिरहेको र अहिले नआएपनि हुने भन्ने चही खुरुखुरु आईरहेको अवस्था छ । यो जटिलता पनि हामीले नवुझेका होइनौं । वुझेका छौं, राम्रैसाग । हामीले भन्दा महिलालाई ३५ प्रतिशत भन्यौं, दलितलाई १५ प्रतिशत, मुश्लिमलाई ५ प्रतिशत भन्यौं, युवाहरुलाई २० प्रतिशत भन्यौं । त्यस्तै सवै क्लष्टरलाई पनि निश्चित प्रतिशत दिनै पर्नेछ । एउटा हामीले पनि राम्रोसँग काुननी ब्यवस्थाको अध्ययन नगरीकन र हामीले यो प्रणालविाट रामे ब्यवस्था नगरी गर्न सक्ने पनि थिएनौं । तर हामीले गरेरै देखाउनुपर्ने छ । किनकी हाम्रो पार्टी विशेषाधिकारवाला पार्टी हो । उत्पीडित वर्ग समुदायलाई धेरै भन्दा धेरै अधिकार दिनुपर्छ । पहिचान दिनपर्छ । सम्मान दिनुपर्छ भन्ने पार्टी भयो, त्यसकारण हामीले वढो गर्वका साथ अलिक वढी हौसिएर प्रतिशतका कुरा दलित, महिला, मुस्लिम र युवालाई गरेका छौं ।

तर हामी ब्यवहारमा जाने वेलामा के देखा परयो भने, यो जनसंख्याको यति प्रतिशत भनेर दिन सक्ने स्थिती अहिले होइन रहेछ । दलितको जनसंख्या जति छ, त्यसको १५ प्रतिशत दिन सक्ने स्थिती अहिले ब्यवहारले होइन रहेछ । महिलाले जनसंख्या जति छ, त्यस आधारमा दिन सम्भव छैन । जनसंख्याका आधारमा त्यही संख्यामा कसैलाई पनि दिन सम्भव छैन, ब्यवहारिक रुपमा । कानुनी रुपले त्यो वाध्यता पनि होइन । कानुनले भने भन्दा दुई प्रतिशत वढी दिने भनेर १५ प्रतिशत भनेपछि । त्यो १३ प्रतिशत समानुपातिक ४० लाई सय मानेर १३ भनेको रहेछ । हामीले १५ दिने भयौं । ब्यवहारिक जटिलता त्यहाँ आयो हामीलाई ।

पहिला हामीले विधानमा लेख्दा जनसंख्याका आधारमा भनेर लेखिदियौं । त्यसपछि तपाई हामी सवैको दिमागमा उत्पीडित जाति जनजाति सवैले ल अव केन्द्रीय समितिमा ४५ जना दलित हुने भयो भनेर हिसाव गर्नुभयो । सायद सवैले हिसाव गर्नुभयो होला । अव हिजो विधान आउँदा ४५ वाट घटेर २०, २५ कतिमा आउने भयो ।

पहिला दलित साथीहरुले झण्डै झण्डै आक्रोशमा धोका भयो भन्ने गयो । पटक पटक हामीले छलफल गरयौं । धोका दिएको पनि होइन, दिने नियत पनि होइन । वरु हामीले वढी दिएको हो । मलाई लाग्छ सवै साथीहरुले पार्टीको नियत खराव रहेनछ भन्ने अहिले वुझनुभएको छ ।

हामीले सवैको ब्यवस्थापन गर्नुपर्ने हुन्छ । मुख्यतः दलितको । कसरी गर्ने भयौं ? भने अहिले समानुपातिकमा जति केन्द्रीय सदस्यहरुलाई प्रदेशवाट सिफारिस भएर आएको छ, उहाहरुलाई समानुपाितकबाट हटाउने निर्णय भएको छ । त्यसो भएपछि यी सवै साथीहरु खुल्लामा जाने भए । खुल्लामा जाने भएपछि समानुपातिकबाट आउने पुरुषहरुको संख्या वढने भयो ।

अव प्रतिशत पनि १५ प्रतिशत नै हुन्छ । समानुपाितकवाट छुटेका नेताहरु खुल्लामा आउने हुनुभयो । समग्रमा दलितको प्रतिशत पनि वढेर जाने भयो ।

अव हामीले त्यहाँ भन्दा पनि वढी गर्नका लागि संगठन विस्तारमा ध्यान दिन जरुरी छ ।

दलित मात्रै होइन, सवैलाई भन्न चाहान्छु, हामीले विधानमा पनि, डकुमेन्टमा पनि भनेको छु, विशेृषाधिकार सम्वन्धी नीतिलाई अझ जोड दिएर समावेशी समानुपातिक मान्यतालाई ठोस रुपमा राखिन्छ । त्यसो भएमा भोलिका दिनको लागि ढोका खुल्ला हुन्छ ।

अन्य समुदायका पनि अरुको भन्दा हामीले प्रतिनिधित्व अग्रगामी रुपमा दिने भयौं । तपाई हामी सवै जिम्मेवार छौं, यति भएपछि यो महाधिवेशन एउटा जिम्मेवार महाधिवेशन हो । यो एउटा उचाईमा उठेको महाधिवेशनमा लैजानुपर्छ । अलि अलि गाह्रो साहोलाई धक्कामक्का सहदै हामी अगाडी वढनुछ । एउटा क्रान्तिकारी समानुपातिक समावेशी मान्यतालाई उत्पीडित वर्गका रुपमा स्थापित गर्नुछ ।

अव महिले जोड गरेर अर्काे कुरा भन्नु छ । यसमा ध्यान खिच्नुपर्ने भएको छ । त्यो के हो भने, खाली दलितको मात्र होइन, अरु थुप्रै युवा साथीहरु जो सक्षम हुनुभएको छ, योगदान पार्टीमा गर्नुभएको छ । यो के भयो भन्ने परेकै छ, सवैलाई । हामीले यसलाई पनि सम्वोधन गर्ने उपाय निकालेका छौं ।

विधानमा हामीले १० प्रतिशत मनोनित गर्ने भनेका थियौं, केन्द्रीय समितिको । त्यो १० प्रतिशतमा हामीले वढाएर १५ प्रतिशत भनेका छौं । त्यसो गर्दा झण्डै ४०, ४१ जना हामीले मनोनित गर्ने ठाँउ बनाएका छौं । यो छुटेका सिनियर साथीहरुलाई के गरी ल्याउने भन्ने चिन्ताले १० लाई हामीले १५ बनाएका हौं ।

एकदम नोट गर्नुहोला, यहाँवाट निर्वाचित हुने केन्द्रयि समितिले ४०, ४१ जना भोलि मनोनित गर्नुपर्छ । त्यसो गर्दा म पहिले नै भनिदिन्छु, जुन मनिस्थितमिा हुनुुहुन्छ, त्यो मनस्थितीलाई सम्वोधन गर्नेगरी केन्द्रीय प्रतिनिधी भनेर जसलाई हामीले विधार्थीवाट छोडेर आएका केन्द्रीय प्रतिनिधी, एकतामा आएका केन्द्रीय प्रतिनिधी जो–जो लाई भनिएको छ, ति ३७ जना हुनुहुन्छ, जो अहिले हामीले बनाएको समानुपातिक समावेशीमा पर्नुभएको छैन । मैले महाधिवेशनको हलमा आयोजक समितिको अध्यक्षको हैसियतले भन्दैछु, मेरो मात्र होइन, स्थायी समितिको सर्वसम्मत निर्णयको हैसियतमा ति कमरेडहरुलाई केन्द्रीय समितिमा ल्याइन्छ ।

पख्नुस मलाई पुरै भन्न दिनुस हैं, त्यो ब्यवस्था गरिएको छ । ति कमरेडहरुलाई मनोनित गरिन्छ ।

अर्काे ४४ जना त्यहाँ छ । त्यक्तिले पनि सवै छुटेका साथी त्यहाँवाट आउँदैनन भन्ने चिन्ता हामीलाई भयो । त्यसकारण हामीले अहिले सवै पूर्णता नगर्ने भयौं । यो केन्द्रीय समितिमा १० प्रतिशत भोलिको हेर्डक्वार्टरले छुटेका र ल्याउनै पर्नेलाई ल्याउन हुने गरी १० प्रतिशत त्यो भनेको २९ जना लाई केन्द्रीय समितिमा ल्याइन्छ ।

यो पनि स्थायी समितिको सर्वसम्मत निर्णयले गरिएको छ । कसैको विमति छैन । यही बाट यो हाउसलाई विश्वासमा लिने र एकजुट बनाएर भोलि चुनावमा हाम्फाल्ने, आन्दोलनमा जाने यही तरिका हो भनेर हामी त्यहाँ गयौं । कोही चिन्ता मान्नुपर्ने छैन । त्यसो हुँदा झण्डै ८० को आसपासमा संख्या हामीले निर्धारण गरिसकेपछि अव हामी कोही पनि टेन्सनमा वस्नुपर्ने अवस्था छैन ।

यति निर्णय गरेर हामी पनि टेन्सनमुक्त भएर आएको हो । हामी टेन्सनमा भएको भए यहाँ आएर म पनि छाती खोलेर भन्न सक्ने स्थितीमा हुन्नथे । मेरो वानी तपाईलाई थाहा छ नि टेन्सन भयो भने मेरो अनुहार नै उज्यालो हुँदैन । अहिले म उज्यालो अनुहार सहित आएको छु । समस्या हल गरियो भन्ने आत्मविश्वास भएको छ । अव कोही नल्याई नहुने साथीहरु छुटनुहुन्न । युवा पनि छुटनुहुन्न । महिला पनि छुटनुहुन्न । अरुहरु पनि छुटनुहुन्न ।

तपाईहरुलाई खुसी बनाएर नै यो पार्टीलाई अगाडी वढाइनेछ । कसैलाई पनि दुखी बनाइने छैन । अहिले २९९ मा सवै फुलफिल गदैनौं । मैले अघि भने १० प्रतिशत वाँकी राखेका छौं । समानुपाितक सवै प्रदेशले टुग्याएर नाम दिन सकेनन । हामीले प्रदेशवाट नाम माग्यौं । यो कुनै चलाखी होइन, यो सही जनवादी केन्द्रीयताको तरिका हो । तलवाट छलफल गरेर ल्याईदिए अलिक सहज हुन्थ्यो की भनेर प्रदेशलाई भनेको हो । नेतृत्वको यो भए भनेर कसैमा आग्रह छैन, हुँदा पनि हुदैन । सजिलो हुन्छ भन्ने मान्यतावाट प्रदेशवाट सल्लाह गरेर हेर्डक्वार्टरमा दिनुस भनेर जनवादको अभ्यास पनि हो । एक ढंगले केन्द्रको कामलाई पनि सहज होस भनेर गरेको हो । यो कुनै अपारदर्शी पनि छैन । जनवादको अभ्यास हो ।

हामीले २९९ केन्दीय समितिमा १५४ समानुपतिक र १४५ खुल्लामा हुनेछ । तर अहिले समानुपातिक १२५ जना र खुल्लामा १११ जना गरी २ सय ३६ जनाको केन्द्रीय समिति हामी घोषणा गदैछौं ।

यसो गर्दा वाँकी २९ जना समानुपातिकमा सम्वोधन गर्ने र खुल्लातर्फ ३४ जना वाँकी रहन्छ । ति दुवै जोड्दा ६३ भयो । त्यो थप गर्न वाँकी छ । हामी यसलाई पनि गछौं । मनोनितकोमा पनि विधानको ब्यवस्था हामी तुरुन्तै लागु गछौं ।

यो महाधिवेशनमा घोषणा गरिएको ऐतिहासिक घोषणा हो । यसलाई अन्यथा नलिईदिनुहोला । हामी ठूलो लडाई वाट आएका पार्टी हौं । दुई चार महिना यसो भएन भनेर निराश नहुनुहोस यो अपिल म गर्छु ।

(केन्द्रीय समिति घोषणा गदै गर्दा प्रचण्डले वन्दशत्रमा महाधिवेशन प्रतिनिधीसँग राखेको धारणाको सम्पादित अंश)

प्रतिक्रिया