मंगलबार, वैशाख ११, २०८१

अहिलेसम्म म सिङ्गल नै छु-सुमन थापामगर, गायिका

नरेन्द्र रौले २०७८ पुष १० गते १८:१३

एक करोड ९१ लाख भन्दा बढी भ्युज पाएको गीत ‘झ्यालमा पर्दा छ…’ कि गायिका हुन्, सुमन थापामगर । यसभन्दा पछाडी उनले बजारमा ल्याएका गीत पहिलो भेट, साली भेना, फूलमायाले पनि लाखौं भ्युज पाएका छन् । तर, ओझेलमा परेकी छिन् सुमन । अन्तर्मुखी र लजालु स्वभावकी सुमन आफ्ना कुरा सबैसँग गर्न धकाउँछिन् । चुपचाप सांगितिक कर्ममा रमाइरहेकी छिन्, सुमन । स्याङ्जा ८ चापाकोटकी सुमनको संघर्ष भने लामो छ । हालै उनलाई अन्र्तवार्ताका लागि समय माग्दा, ‘मेरो बारेमा लेख्ने बेला भइसक्यो र ?’ भनेर उल्टै प्रश्न गरिन् । प्रचारमा भन्दा बढी गुणात्मक काम गर्न रुचाउने गायिका सुमन थापामगरसँग मेरोन्यूजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

तपाईको गीत ‘झ्यालमा पर्दा छ…’ यति चर्चित छ । दर्शक, श्रोताहरुले अझैँ जुन रुपमा चिन्नु पर्ने हो, आफूलाई चिनेनन् कि भन्ने लाग्दैन ?

लाग्छ । किन नलाग्नु ? जीवनमा यति संघर्ष गरियो । दु:ख गरियो । तर, कहिलेकाहीं फरक तरिकाले पनि सोच्छु । अरुले चिनेनन् भनेर दु:ख मान्नु भन्दा आफैले बरु नयाँ काम गर्न पाए भन्ने लाग्छ । आफूले राम्रो काम गर्दै गए एकदिन पक्कै चिन्लान् ।

दर्शकहरुले अत्यन्त रुचाउनु भएको झ्यालमा पर्दा छ बजारमा आएपछि तपाईंलाई कत्तिको अवसरहरु आए ?

‘झ्यालमा पर्दा छ…’ गीत बजारमा आएपछि धेरै दर्शक श्रोताहरुको माया पाइयो । सानै भए पनि एउटा उचाई पाइयो । एउटा खुड्किलो टेकियो । सुमन थापामगरलाई यही गीतले चिनायो । बिभिन्न मेला, महोत्सवहरुमा मलाई बोलाउन थाले । गीतहरु त यो भन्दा पहिले पनि मैले बजारमा ल्याएकी थिएँ । तर, यसैले परिचित बनायो ।

‘झ्यालमा पर्दा छ…’ आउनु अगाडि कुन–कुन गीतहरु बजारमा ल्याउनु भएको थियो ?

धेरै वटा गीत आए । मनको बह, डाडैको लाकुरी, मादलको खरी, मै बेहोसी हो, कौडा, सालैजो र दोहोरी गीतहरु बजारमा ल्याइसकेकी थिएँ । त्यस पछाडी भने पहिलो भेट, साली भेना, फूलमाया (रोयला) गीत बजारमा ल्याएकी छु ।

तपाईंको सांगितिक यात्रा कसरी सुरु भयो ?

सानैदेखि गीत गाउनमा मलाई रहर थियो । स्कुलमा हुने कार्यक्रमहरुमा भाग लिन्थें । कति चोटी पुरस्कार पनि पाइयो । त्यसले गर्दा हौसला पनि मिल्थ्यो । साथीभाइले हौस्याउँथे । सरहरुले आफ्नो प्रतिभा देखाउनु पर्छ, लजाउनु हुन्न भनेर सम्झाउँनु हुन्थ्यो । मैले मेलापात र घरगाउमा गीत गाइरहन्थें ।

मेरी दिदी संगीता थापामगरले तिम्रो स्वर राम्रो छ भनेर काठमाडौँ ल्याउनु भएको थियो । मेरो सफलताको पछाडी उहाको पनि ठूलो हात छ । ०६७/०६८ सालतिर संगीता दिदीले नै सञ्चालन गर्नु भएको दरबारमार्गको नाम्लो दोहोरीबाट मेरो सांगितिक यात्रा सूरु भयो । त्यसमा मैले ६ महिना काम गरें ।

त्यसपछि ६/७ महिना ललितपुरको बालकुमारीस्थित निरमाया दोहोरी साँझमा काम गरें । अहिले ४ वर्ष भयो ठमेलको नगरकोट दोहोरी साँझमा काम गरिरहेकी छु ।

सांगितिक कार्यक्रमका सिलसिलामा कहाँ–कहाँ पुग्नु भयो ?

विदेशमा कोरिया, दुबई, थाईल्याण्ड पुगें । नेपाल भने गुल्मी, रोल्पा, पाल्पा, तनहुँ, गोर्खा, नवलपरासी, नेपालगञ्ज, धादिङ लगायतका स्थानहरुमा पुगें । त्यसपछि बिभिन्न ठाउबाट अफर आयो । तर, लकडाउनले गर्दा कतै जान पाईएन ।

तपाईंको पहिलो पारिश्रमिक कति थियो ?

मेरो पहिलो पारिश्रमिक २ हजार ५ सय रुपैयाँ थियो ।

दोहोरी साँझमा लामो समय काम गर्नु भयो । अहिले दोहोरीको अवस्था के छ ?

सबै हिसाबले पहिला भन्दा राम्रो छ । अहिले काम गर्नका लागि धेरै ठाउबाट अफरहरु पनि आउँछन् । अहिले गरिरहेको ठाउमा किन छाड्नु भन्ने लाग्छ ।

एउटा गीत तयार पार्न कति खर्च लाग्छ ? लगानी गरे अनुसार फाइदा छ कि छैन ?

लगानीका हिसाबले एउटा गीत तयार पार्न ५/७ लाख रुपैयाँ नै लाग्छ । त, लगानी उठ्दैन । कुनै न कुनै दिन सफलता मिल्छ होला भनेर लगानी गर्न मन लाग्छ । वर्षमा एउटा आफ्नै र ५/७ वटा अरुको गीतमा काम गरिरहेकी छु ।

संगीतको क्लास लिनु भयो कि भएन ?

केही समय मैले बालाजुमा भोकल क्लास लिएकी थिएँ । रातीको समयमा दोहोरीमा काम गर्नु पर्दा भ्याएन । पढ्न त अझै मन थियो । काम गर्दै पढ्न गार्‍हो पनि भयो । मैले कामलाई बढी प्राथमिकता दिएँ । पढाईलाई समय ब्यवस्थापन गर्न मुस्किल भयो ।

गीत, संगीतमा नआएको भए अन्य कुन क्षेत्रमा हुन्थें जस्तो लाग्छ ?

सकेसम्म मलाई यसै क्षेत्रमा जीवन बिताउन मन हो । यदि यो क्षेत्रमा नआएको भए म समाजसेवा गरिरहेकी हुन्थें जस्तो लाग्छ ।

तपाईं कुन कलाकार जस्तो बन्न मन थियो ? को बाट बढी प्रेरित हुनुहुन्छ ?

गायिका शर्मिला गुरुङ, बिमा कुमारी दुरा, लक्ष्मी न्यौपाने जस्ता दिदीहरुका गीत सुन्दै हुर्कियौं । उहाँहरुबाट नै प्रेरित भएको हु । उहाहरुकै जस्ता गीतहरु गाउँन पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो ।

अब त तपाईं स्थापित गायिका भइसक्नु भयो । एक्लै हुनुहुन्छ कि कसैको भरमा हुनुहुन्छ त ?

म एक्लै छु । कसैको भरमा छैन । कसैको भर पनि लागेन । परिवारमा जेठी छोरी भएकाले मेरा जिम्मेवारीहरु पनि थिए । त्यो जिम्मेवारी बहन गर्नु पर्ने भएकाले त्यतातिर सोच्न भ्याइएन ।

तपाईको भावी सपना, लक्ष्य के छ ?

गीत, संगीत क्षेत्रमै समर्पित भएर अघि बढ्ने, नाम कमाउने मेरो सपना छ ।

प्रतिक्रिया