सोमबार, माघ ३, २०७८

राष्ट्रिय सम्मेलन वहस

माओवादीको राष्ट्रिय सम्मेलनको कार्यभारबारे

- पुष्पकमल दाहाल (प्रचण्ड) २०७८ पुष ८ गते ११:१६

माओवादी पार्टी अध्यक्षको हैसियतमा पार्टीको राष्ट्रिय सम्मेलनको निम्ति दस्तावेज तयार पार्ने, प्रतिवेदन लेख्ने प्रक्रियामा छु। यद्यपि कामको चाप राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा थुप्रै, विविध गतिविधिको आवश्यकताको कारणले गर्दा मैले ध्यान र शक्ति केन्द्रित गरेर त्यसलाई पूर्णतामा लान सकेको त छैन। मोटामोटी ट्याक खोल्ने कामसम्म भएको छ। हाम्रो अगाडिका चुनौती के हुन् ? वैचारिक राजनीतिक चुनौती कहाँनिर हुन् ? संगठनात्मक रूपले हाम्रो रूपान्तरणको चुनौती कहाँनिर हो ? र यो पार्टी अरूजस्तो होइन, यो भिन्न विचार, भिन्न पहिचान, भिन्न कार्यशैली, भिन्न संस्कृति, भिन्न आचरण भएको पार्टीको रूपमा कसरी स्थापित गर्ने ? र हामीले समाजवादी क्रान्तिको कुरा गरेका छौं, त्यो कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारेमा भोलि राष्ट्रिय सम्मेलनमा विचारहरूको बारेमा मन्थन गर्न सजिलो होस् भन्नेको निम्ति म यहाँ केही राख्ने जमर्को गदैछु ।

मैले पूरा कुरा त राख्न सक्दिन, दस्तावेज तयार गरेर हामी राष्ट्रिय सम्मेलनमा नै विस्तारपूर्वक छलफल गरौंला। बहस गरौंला, एउटा निष्कर्षमा पुगौंला। तर गएको केन्द्रीय कमिटीले जे संकल्प गरेको थियो, हामी कहिँ न कहिँ हाम्रो उद्देश्यबाट अलिकति विचलित हुन थालेको हो कि ? हाम्रो वैचारिक स्तर कमजोर भएर हामी अस्पट हुन थालेका हौं कि ? हाम्रो संगठन जस्तो खालको एकीकृत र केन्द्रीकृत हुनुपर्ने कम्प्याक्ट खालको क्रान्तिकारी संगठन हुनुपर्ने, त्यसबाट कता कता कमजोर हुँदै गएर, अरू जस्तै, बुर्जुवा जस्तै, गुटवादी अलि अराजकतावादी अनि अलि व्यक्तिवादी, अलि स्वार्थी पो हुन थालेका हौं कि ?

हामीले हाम्रो इतिहास र हाम्रो विरासतलाई बिर्सिन पो थालेका हौं कि ? हामी पनि अरू बुर्जुवा पार्टी वा पेटी बुर्जुवा पार्टी जस्तै नकारात्मक रूपान्तरण हुन थालेको हो कि ? भन्ने चिन्ताको साथमा हामीले हाम्रो केन्द्रीय समितिमा गम्भीर समीक्षा गरेका थियौं। सबैभन्दा पहिला हामीले आफ्नै आत्मसमीक्षाबाट सुरु गर्न जरुरी छ। यो पार्टीको क्रान्तिकारी रूपान्तरणको निम्ति, यसले आफ्नो ऐतिहासिक मिसन अगाडि बढाउनको निम्ति, यो राष्ट्रलाई हामीले जहाँ पुर्‍याउने सोचेका थियौं, हिजो जनयुद्धको वेलामा या जनआन्दोलनको बेलामा हामीले नेपाली जनताका सामु जे प्रतिवद्धता गरेका हौं, हामी यो गर्ने छौं, हामी त्यो गर्नेछौं, हामी मजदुर किसानको निम्ति हामी यसरी काम गर्ने छौं, हामी उत्पीडित वर्गहरूको निम्ति, उत्पीडित जाति, सबै मधेसी, जनजाति, दलित, महिला, मुस्लिम सबै सबैको पहिचान र अधिकारलाई होइन, अन्तिम समयसम्म लगेर उनीहरूको आत्म सम्मानलाई स्थापित गरिछाड्ने छौं।

उनीहरूको हक अधिकार स्थापित गरिछाड्ने छौं भनेर हामीले जे भनेका थियौं हामीले विकास र समृद्धिको यो नयाँ मोडेल देशलाई दिने छौ भनेर हामीले जे भनेको हो, हामी त्यही बाटो तिर अगाडि बढिराखेका छौं त ? या हामी त्यो बाटोबाट कहीँ विचलित त भइरहेका छैनौं ? हामी जसरी एउटा कम्युनिष्ट पार्टीको हैसियतले निश्चित विचारद्वारा निर्देशित भएर निश्चित विचारद्वारा प्रशिक्षित भएर, एक ढिक्का भएर उद्देश्यको निम्ति समर्पित हुने र बुर्जुवाका विरुद्ध, प्रतिक्रियावादका विरुद्धको संघर्षमा नयाँ-नयाँ सफलता हासिल गर्दै नेपाली जनतालाई नयाँ-नयाँ शिखरमा चढाउँदै लगेको काम हामीले गरेका छौं त ?

यहाँ हामीले जनतालाई विस्तारै विस्तारै उनीहरूका सपना, शहीदहरूका सपना, वेपत्ता योद्धाहरूका सपना, उनीहरूका त्याग तपस्या, यहाँ हजारौं घाइते अपांगका सपनाहरू या लाखौं करोडौं जनताले हामीबाट जे अपेक्षा गरेको हो, हामी त्यतैपट्टि बढिरहेका छौं त ? या हाम्रो यात्रा पनि अरू बुर्जुवा पार्टी जस्तै, संशोधनवादी पार्टी जस्तै विस्तारै विस्तारै आफैभित्र गुटबन्दी गरेर आफ्नै साथी साथी बिचमा खुट्टा तानातान गर्ने, एकले अर्कालाई हिलो छ्याप्ने, विभिन्न खालका संकिर्ण स्वार्थी गुटहरू बनाउन रमाउने, यतातिर जान थालेका त छैनौं भन्ने समीक्षा हामीले केन्द्रीय समितिमा गर्न खोजेको हो। हामीले स्थायी समितिमा गर्न खोजेको कुरा त्यही नै हो।

Advertisement

मैले अहिले राष्ट्रिय सम्मेलनको दस्तावेजमा कहाँ फोकस गर्न बल गर्दैछु भने यो सबैको चुरो कारण न कार्यकर्ता हो न नेता हो। नेता र कार्यकर्ताको व्यक्तिगत समस्याको रूपमा यसलाई बुझिनु हुँदैन। यो विश्व इतिहास र नेपालको पनि इतिहासमा क्रान्तिको नयाँ विचारको खोजीको चुनौती हो। यो हामी सबैभित्र देखा पर्ने भनेको विचारको समस्या हो। वैचारिक स्पष्टताको समस्या हो। हाम्रो अबको गन्तव्य स्पष्ट नदेखिनु नेताको दिमागले पनि कार्यकर्ताको दिमागले पनि अब हामीले हिँड्ने बाटो यही हो, भनेर प्रष्ट नदेखिनु नै हामी सबैको समस्या हो।


हामीभित्र कहीँ न कहीँ समस्याहरू देखा पर्न थालेका छन्। हामी एउटा क्रान्तिकारी पार्टीको रूपमा, कम्युनिष्ट पार्टीको रूपमा यो देशको भाग्य, भविष्यलाई समाजवादतिर डोर्‍याउने पार्टीको रूपमा र यो देशको मात्र होइन संसारभरिका श्रमिकहरूलाई नयाँ मार्गदर्शन गर्ने सिद्धान्तको विकास गर्ने विचारको विकास गर्ने यात्रामै अघि बढिरहेका छौं त ? भन्दा हामी कहीँ न कहीँ बाटो बिराएको जस्तो भएका छौं। कहीँ न कहीँ हामी विचारमा, सिद्धान्तमा, निष्ठामा, उद्देश्यमा, हाम्रो मिसनमा हामी कहीँ न कहीँ भड्किएका यात्री जस्ता भएका छौं अहिले। १०/१५ वर्षको विभिन्न दलहरूको संसर्ग र सहयोग सहयात्रा भनौं, या हाम्रा संसदीय गतिविधि भनौं, यो सबैको बीचमा जाँदा हामी कहीँ न कहीँ हामीभित्र फोहोर मैला जम्मा भएको छ। धुलो मैलो लागेकै छ।

अब हामीले त्यो धुलो मैलो टकटक्याउने कि न टकटक्याउने ÷ हामी आफूलाई सफा गर्ने कि नगर्ने ? भन्नेबारेमा हामीले केन्द्रीय समितिमा विचार गरेको हो। र, हामीले के भनेका हौं भने हामी केही न केही विचारमा अस्पष्ट त भएका छौं। हामीभित्र संगठनात्मक अराजकता र अस्तव्यस्तता पनि देखापरेको त छ। विभिन्न खालका कमजोरीहरू सांस्कृतिक रूपले पनि देखा पर्न थालेका त छन्। तर फेरि पनि आजको विश्व सन्दर्भ, अन्तर्राष्ट्रिय सन्दर्भ र आजको राष्ट्रिय सन्दर्भसमेत हेर्दा हाम्रो पार्टी नै त्यस्तो पार्टी हो, जसले नेपाल राष्ट्रको एकतालाई बचाउन फेरि एकचोटि महाअभियान चलाउन सक्छ। हाम्रो पार्टी नै त्यस्तो पार्टी हो, जसले विचारलाई विकास र परिमार्जन गर्दै संगठनलाई क्रान्तिकारी रूपान्तरण गर्ने हिम्मतसहित, फेरि एउटा महान् आन्दोलनको नेतृत्व गर्न सक्ने गुणतत्व भएको, भित्र त्यो चाहना भएको त्यो सपना बोक्ने मान्छेहरू भएको हाम्रो पार्टी नै हो भन्ने निष्कर्ष पनि हामीले केन्द्रीय समितिमा निकालेका थियौं।

हामीले यो पार्टीलाई रूपान्तरण गरेर क्रान्तिकारी पार्टीकै रूपमा, यो राष्ट्रलाई रूपान्तरण गरेर महान राष्ट्रको रूपमा, समाजवादी आन्दोलनलाई विकास गरेर एउटा एक्काइसौं शताब्दीको एउटा नयाँ मोडेल विश्वलाई दिने हिम्मत हामीले गर्नैपर्छ। यही पार्टीले गर्‍यो भने सम्भव छ । नेपालमा आजको युग कालखण्डमा अरू कुनै पार्टी, अरू कुनै नेता, अरू कसैबाट सम्भव छैन भन्ने निष्कर्ष पनि हामीले निकालेका थियौं। यस अर्थमा भन्दा अहिले हाम्रो अगाडि चुनौती र अवसरको दोसाँध छ। तपाई हामी सबै एउटा मोडमा छौं। अब तपाई हामीभित्र देखा पर्दै गएका कमजोरी बढ्दै गएर सच्चिनै नसक्ने गरी यो पार्टी विचलित हुने हो कि ? यो पार्टीलाई कमीकमजोरी सच्चाएर एउटा क्रान्तिकारी पार्टीको रूपमा एउटा अन्तर्राष्ट्रवादी पार्टीको रूपमा समाजवादी क्रान्ति नेता पार्टीको रूपमा यसलाई रूपान्तरण गर्ने यस्तो दोसाँधमा हामी अहिले छौं। र, हाम्रो केन्द्रीय समितिले संकल्प गरेको होइन, हामीले यो अवसरलाई सदुपयोग गर्नैपर्छ, चुनौतीको सामना हामीले गर्नैपर्दछ।

यो अहिले मैले खाली औपचारिक रूपमा मात्र भनेको होइन, मैले अध्ययन गरेको अहिलेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, अन्तर्राष्ट्रिय राजनीति या अहिलेको आर्थिक, राजनीति, सामाजिक, सांस्कृतिक, विकासको स्थिति साम्राज्यवादको स्थिति सबै हेर्दा विश्वमा नै हाम्रो पार्टी मात्र त्यस्तो ठाउँमा छ, जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ। अहिलेका चुनौतीहरूको सामना गर्ने आधार पनि बोकेको छ। र, क्रान्तिकारी रूपान्तरण गर्दै एक्कासौं शताब्दीको क्रान्तिको नयाँ मोडेल, पूरानो कुनै मोडेलले काम गर्नेवाला छैन, हामीले नयाँ मोडेलको खोजी गर्नुपर्ने छ। र, त्यो मोडेल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि यही पार्टी हो भने हामीले केन्द्रीय समितिमा भन्यौं। त्यहीअनुसार हामीले योजना र कार्यक्रम बनायौं राष्ट्रिय सम्मेलनसम्मको।

नयाँ दस्तावेज ल्याउँदैछु। हामी निरन्तरतामा क्रम भंगता भन्दै आएका थियौं। अब हामी अर्को क्रमभंगताको चरणमा प्रवेश गर्दैछौं। यो जानकारी चाहिँ म तपाईंहरूलाई गराउन चाहन्छु। यही निरन्तरताले हुँदैन। त्यसकारण पहिलो क्रमभंगता विचारबाटै हुनुपर्‍यो।

अरू पार्टीले अधिवेशन भनेर ठूल-ठूला भीड जम्मा गर्ने गरेका छन्। तपाई हामीले देख्यौं। एमाले नामको अधिवेशन पनि देख्यौं। कांग्रेसको पनि देखयौं । एमालेलाई त मैले पञ्चर्‍याली भन्दा अरू देख्दै देख्दिनँ। त्यो बिलकुल सिद्धिने बेलाको, निभ्ने बेलाको बत्ती भन्या जस्तो मात्रै हो। त्यहाँ कुनै विचार, त्यहाँ कुनै बहस, न कुनै विधि, न कुनै पद्धति, निरंकुशताको विचार शून्यता र विचारहिनताको अधिवेशनको रूपमा गयो त्यो। दुनियाँले देख्यो। तपाई हामी सबैले देख्यौं नि। त्यहाँ कुनै प्रस्तावमाथि छलफल भयो ? कुनै विचारमा बहस भयो। त्यहाँ मार्क्सवादको म पनि उच्चारण गरियो नेतृत्वबाट कहीँ ? समाजवादको बारेमा कुरा गरियो भन्दा कहीँ केही छैन। त्यहाँ व्यक्तिपूजाको कुरा गरियो। व्यक्तिको अन्तताको प्रचार गरियो। र, सिद्धान्तहिनताको प्रदर्शन गरियो। नेपाली कांग्रेसको पनि हामी हेरिराखेका छौं। उहाँहरूको त झन् विचार सिद्धान्त छैन। सम्मेलन भनेको उद्घाटन भयो, नोमिनेशन भयो, चुनाव भयो सकियो ।

त्यहाँ राष्ट्र कस्तो हुन्छ, कसरी बनाउने, कसरी लैजाने, हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन। इतिहासको समीक्षा हामीले कसरी गर्ने, हाम्रा कमजोरीहरू कहाँ भए, हामीले ती कमजोरीहरू कसरी सच्याउने भन्नेतिर ती ठूला भनिएका दुई पार्टीका महाधिवेशनमा कहीँ कतै चर्चा भएको हामीले देख्यौं त ? ती पार्टीहरूका कुनै अधिवेशन विचार केन्द्रित छैनन्। राजनीतिक मुद्दा केन्द्रित छैनन्। समाजवाद केन्द्रित छैनन्। जनतालाई अधिकार दिने कुरामा केन्द्रित छैनन्। यो संविधानलाई सुधार गरेर अझ राम्रो संविधानमा लैजाने हो भन्ने कुरा छैन।

तर हामी नयाँ क्रान्तिकारी विचारको खोजी, नयाँ क्रान्तिकारी पार्टी निर्माणको खोजीमा केन्द्रित छौं । हामीलाई कोही कोही, कतै कतैबाट भनियो पनि। हामी पनि त्यस्तै तामझाम गरौं कि ? किनभने आठ लाख सदस्य भएको पार्टी हामी पनि भई नै सक्यौं। आठ लाखमध्ये चार लाखलाई उपस्थित हुन उर्दी जारी गर्‍यो भने मात्र पनि अरूका भन्दा ठूला मेला र भेला हामी पनि गर्न सक्छौं। गरौंला पनि कुनै दिन। तर अहिले सम्मेलनको दौरानमा हामी विचारमै केन्द्रित हुन जरुरी छ। हामीले तामझाम भन्दा गुणतत्व निर्माण गर्नतिर लागौं।


आफूभित्र गुण तत्व निर्माण गरियो भने तामझाम त कुनै बेला गर्न सकिन्छ भनेर हामीले विचारमा नै केन्द्रित हुने गरिकन भेला सम्मेलनहरू गर्दै आएका छौं। र, राष्ट्रिय सम्मेलनको तयारी पनि त्यही दिशामा लादैछौं। यो भिन्नतालाई हामीले ख्याल गर्न जरुरी छ। जतीवेला हामीभित्र क्रान्तिकारी गुणतत्व भनौं, त्यो तत्व जागेर आयो भने थोरै भयो भने पनि लाखौं करोडौं भएको भनिएकालाई पछार्न सकिँदो रहेछ। हाम्रो गुणतत्व कमजोर भयो, क्रान्तिकारी स्प्रिट मर्‍यो भने हामी लाखौं भएपनि केही नि हुँदो रहेन छ भन्ने हामीले इतिहासबाट पनि देखेका छौं।

हाम्रो अनुभवबाट पनि हामीले देखेका छौं। त्यसकारण सबैभन्दा ठूलो कुरा पार्टी क्रान्तिकारी हुने, राष्ट्रको नेतृत्व गर्ने र रूपान्तरण गर्ने पार्टी हुने, इतिहासलाई नयाँ चीज दिने पार्टी हुने भनेको विचारलाई विकास गर्ने कुरा नै रहेछ। क्रान्तिकारीहरूभित्र नयाँ आत्मविश्वास पैदा गर्ने, म जेको निम्ति लडिरहेको छु, म विल्कुल सही उद्देश्यको निम्ति, आफ्नो जीवन मैले दिँदैछु भन्ने गर्वबोध गर्नुपर्‍यो। अनि मात्र त्यहाँ ऊर्जा पैदा हुन्छ मान्छेभित्र। त्यसपछि ठूल–ठूला आन्दोलनहरू, ठूल-ठूला लडाइँहरू, ठूल–ठूला परिवर्तनहरू सम्भव तुल्याउन सकिन्छ। यदि आफूभित्र त्यो तत्व भएन, त्यो स्प्रीट भएन भने फेरि ठूलो भयौं, चुनाव जित्यौं, धेरै ल्यायौं भनेर पनि त केही हुने रहेनछ। त्यो त हामीले अनुभवबाट देखेका छौं नि।

त्यसकारण हाम्रो ध्यान र जोड यतिबेला के छ भने हामीले कसरी अहिले एक्काइसौं शताब्दीको युगमा समाजवादी क्रान्तिको नयाँ मोडेल विकास गर्ने। कसरी तपाई हामीभित्र कहीँ न कहीँ उकुसमुकुस जस्तो, मुख्यतः माओवादी पार्टीभित्र उकुसमुकुस छ। अरूलाई त के भयो र ? सबै स्वार्थको निम्ति काम गर्ने हो। सबैले गुट बनाउने र लड्ने हो। जसले जित्यो त्यसैले जित्यो भन्ने हो। त्यहाँ परिवर्तन, रूपान्तरण गर्नु छैन।

उनीहरूको बनिबनाउ यन्त्रहरू छन्। बनिबनाउ साधनहरू छन्। त्यसकारण उनीहरूलाई कुनै टेन्सन छैन। टेन्सन छ भने माओवादी पार्टीलाई नै छ। के हामी साँच्चै हाम्रो पार्टीलाई क्रान्तिकारी नयाँ पार्टीको रूपमा यो देशको नेतृत्व गर्न सक्ने पार्टी बनाउन सकौंला त। यहाँ हामी आफै पनि कहीँ न कहीँ सोच्दै जाँदा हामी कहीँ बिग्रिराखेका छौं। हामीलाई थाहा छ नि हिजो युद्ध गर्दा हामी कस्ता थियौं, ठूल–ठूला जनआन्दोलन गर्दाको बेला हामी कस्ता भयौं ? भूमिगत कालमा हामी कस्ता थियौं ? कसरी काम गथ्यौं ? के सोच्ने गथ्र्यौं ? हाम्रा ती हजारौं सहिदहरू मोर्चामा जाँदा हाँसीहाँसी खुसीसाथ मृत्युवरण गर्ने एक जनाको कुरा होइन, दुई जनाको कुरा होइन, हजार होइन, दुई हजार होइन हजारौं हजार मर्न तयार हुने कसरी भएका थिए ? अहिले हामी धेरै भएका छौं। तर सबै आफ्नो आफ्नो सोच्ने, सोच्नुपर्ने। यहाँ मैले कसैलाई आरोप लाउन खोजिरहेको छैन। एउटा ऐतिहासिक सन्दर्भ म भन्न खोज्दैछु।

हामी किन त्यस्तो भयौं ? हामीलाई नै सबैभन्दा बढी चिन्ता छ। त्यसकारण विचारको विकासको आवश्यकता, रूपान्तरणको आवश्यकता र यो पार्टीलाई नयाँ पार्टी बनाउने आवश्यकता, यो देशलाई र यो देशमार्फत दुनियाँलाई नै नयाँ सन्देश दिनसक्ने आवश्यकता बोधले हामी सबैलाई उद्वेलित बनाएको छ।

हामीभित्र केही कमजोरी पनि विकास भएका छन् भन्ने कुरा र यही पार्टी मात्र क्रान्ति गर्न लायक पार्टी, रूपान्तरण गर्न सक्ने पार्टी हो भन्ने दुईओटा कुरा अहिले तपाईं केन्द्रीय समितिको डकुमेन्ट हेर्नुहोस् या स्थायी समितिको या हाम्रो अभिव्यक्ति हेर्नुभयो भने हामी दुवै कुरा भनिरहेका छौं। हामीले आत्मसमीक्षा गर्नुपर्छ आफ्नो। त्यहीबाट सुरु गर्नुपर्छ भन्ने कुरा पनि भनेका छौं। हाम्रो पार्टी मात्र त्यस्तो पार्टी हो जसले यो देशलाई सामाजिक रूपान्तरणमा लिन सक्छ। आफैलाई रूपान्तरण गर्न सक्छ भन्ने सकारात्मक कुरा पनि हामीले त्यतिकै जोडतोडले भनेका छौं। प्रतिक्रियावादी र अवसरवादीले कहिले हामीभित्र नै कमजोरी छन् भनी प्रचार गरेर ल माओवादी त कमजोर भएछ भनी प्रचार गर्छन्। हामी मात्र क्रान्तिकारी पार्टी हौं। हामी नै यो राष्ट्रको परिवर्तनको नेतृत्व गर्ने पार्टी हो भन्दाखेरि उनीहरूले अर्को ढंगले आलोचना गर्छन्। उनीहरूको कुरा छोडी दिऊ। हामी हाम्रो कुरा गरौं। हाम्रो कुरा गर्दा यी दुइटै पाटोबाट आत्मसमीक्षा पनि गर्ने, रूपान्तरण हुने एक मात्र पार्टीको रूपमा आफैलाई फेरि परिवर्तन गर्ने संकल्पसहित अगाडि बढ्ने हामीले कुरा गरेका छौं।

दोस्रो कुरा, हाम्रा यावत कुराहरू छन्। गुटबन्दीका समस्या अराजकता समस्या स्वार्थका समस्या पदलोलुपका समस्या। हाम्रो चिन्ता हिजो चाहिँ जसरी पनि क्रान्ति सफल पार्ने भन्ने हुन्थ्यो। आज कसरी पद प्राप्त गर्ने भन्नेमा गएका छौं हामी। कहीँ न कहीँ मैले त्यो पद पाउँदैन कि ? त्यो पदमा पुग्दैन कि भन्ने चिन्ता बढी हुन्छ। यस्तो भएको सन्दर्भमा हामीले के निष्कर्ष निकाल्यौं र मैले अहिले राष्ट्रिय सम्मेलनको दस्तावेजमा कहाँ फोकस गर्न बल गर्दैछु भने यो सबैको चुरो कारण न कार्यकर्ता हो न नेता हो। नेता र कार्यकर्ताको व्यक्तिगत समस्याको रूपमा यसलाई बुझिनु हुँदैन। यो विश्व इतिहास र नेपालको पनि इतिहासमा क्रान्तिको नयाँ विचारको खोजीको चुनौती हो। यो हामी सबैभित्र देखा पर्ने भनेको विचारको समस्या हो। वैचारिक स्पष्टताको समस्या हो।

हाम्रो अबको गन्तव्य स्पष्ट नदेखिनु नेताको दिमागले पनि कार्यकर्ताको दिमागले पनि अब हामीले हिँड्ने बाटो यही हो, भनेर प्रष्ट नदेखिनु नै हामी सबैको समस्या हो। हामी सबैको समस्या गन्तव्य क्लियर देखिँदैन। हेर्न खोज्यो चित्र धमिलो हुन्छ। यताबाट हेर्दै गयो अँध्यारो देखिन्छ। अँध्यारो देखिपछि कसरी जाँगर आउने ? कसरी जोस आउने ? रूपान्तरण त्याग केको लागि गर्ने भन्ने हुन्छ। त्यसकारण यो सबैको चुरो कुरा चाहिँ एक्कासौं शताब्दीमा नयाँ क्रान्ति। म यहाँनिर बल गर्दैछु। बढी वस्तुवादी र वैज्ञानिक कुरामा बल गरिरहेको छ। नयाँ दस्तावेज ल्याउँदैछु। हामी निरन्तरतामा क्रम भंगता भन्दै आएका थियौं। अब हामी अर्को क्रमभंगताको चरणमा प्रवेश गर्दैछौं। यो जानकारी चाहिँ म तपाईंहरूलाई गराउन चाहन्छु। यही निरन्तरताले हुँदैन। त्यसकारण पहिलो क्रमभंगता विचारबाटै हुनुपर्‍यो।

विचारबाट हेर्दा १८ औं शताब्दीमा औद्योगिक पुँजीवादको विकास भयो, खासगरी युरोपमा। मजदुर आन्दोलनको विकास भयो। पुँजीवादी क्रान्तिको विकास भयो। र, त्यो पूँजीवाद औद्योगिक पुँजीवादको रूपमा देखा पर्‍यो। त्यतिबेला द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन विज्ञानको रूपमा, सामाजिक क्रान्तिको विज्ञानका रूपमा त्यसको अनुसन्धान भयो। अन्वेषण भयो। त्यो अन्वेषण मार्क्स एंगेल्सले गर्नुभयो, मुख्यतः मार्क्सको नेतृत्वमा। र, त्यतिबेला द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद वैज्ञानिक समाजवाद निर्माणको रूपमा अगाडि आयो, त्यो १८ औं शताब्दीको प्रारम्भिक चरणमा युरोपमा विकास भएको मजदुर आन्दोलन, मार्क्स जस्ता एउटा मेधावी विद्वानको मस्तिष्कद्वारा गरिएको इतिहासको गहन अध्ययन तत्कालीन मजदुर आन्दोलन र पुँजीपति वर्गको चरित्रको अध्ययनबाट पुँजीसम्म आइपुग्दा एउटा नयाँ संश्लेषण गरियो, जसलाई मार्क्सवाद भनियो। त्यसले वैज्ञानिक समाजवाद दियो। तर त्यसले यसरी नै क्रान्ति गर्ने भनेर सूत्र दिन सक्दैनथ्यो, दिएन पनि।

हामी कहिलेकाहीँ सूत्र पनि दिएको छ कि ? भनेर खोज्छौं। समाजमा अरू विज्ञानमा जस्तो सूत्रमा सबै चिज भेटिँदैन। सामाजिक क्रान्तिको विज्ञान गतिशील परिवर्तनको एउटा प्रक्रियामा अगाडि बढिराख्ने हुन्छ। मार्क्सले वैज्ञानिक समाजवादको रूपमा गरेको संश्लेषण त्यो विज्ञान थियो। त्यो अहिले पनि सही नै छ। तर सामाजिक क्रान्तिको व्यवहारमा त्यसलाई कसरी लागु गरेर जान सकिएला भन्ने कुरामा भने मार्क्स एंगेल्स जीवितै छँदा पनि फ्रान्सको पेरिस कम्युन र त्यसको असफलतापछि पनि नयाँ एउटा प्रतिक्रान्तिको दौड चल्यो र मार्क्स लण्डनको लाइब्रेरीमा गएर पुँजी लेख्ने कामतिर केन्द्रित हुनुभयो। दर्शनशास्त्रको बढी विकास भयो। पहिलो कुरा यो हो।

दोस्रो कुरा, मार्क्स एंगेल्सको अवसानपछि मार्क्सवादको रूपमा विज्ञान त सार्वभौम रूपमा स्थापित भयो। त्यसको खण्डन गर्ने धेरै कोसिसहरू भए, तर त्यसको खण्डन भएन। किनकि त्यो विज्ञान थियो। विज्ञानको खण्डन हुन सक्दैनथ्यो, भएन। कोसिस धेरै भए त्यहाँ। धेरै कोणबाट खण्डन गर्ने कोसिसहरू भए । १९ औं शताब्दीतिर आउँदा नआउँदै पूँजीवाद अब औद्योगिक र प्रतिस्पर्धात्मक रूपमा पूँजीवादको रूपमा रहेन। त्यो एकाधिकार पूँजीवादको रूपमा विकसित भयो। त्यो साम्राज्यवादको रूपमा विकसित भयो। त्यो संसारको विभाजन र पुनर्विभाजन गर्ने र बजार हडप्नको निम्ति ठूल–ठूला साम्राज्यवादी गुटहरूको विचमा भयानक प्रतिस्पर्धा र लडाइँ गर्नेतिर गयो। एकाधिकार पूँजीवाद र साम्राज्यवादका विषयमा सबै कुरा मार्क्स र एंगेल्सले देख्न सम्भव थिएन। र, देख्न सक्नुभएन।

उहाँहरूले त प्रतिस्पर्धात्मक र औद्योगिक पूँजीवाद, त्यस्ता बैंकहरू, बैंकहरूले लगानी गर्ने भनेको औद्योगिक प्रतिष्ठानहरूमा हो। त्यहाँबाट मुनाफा कमाउने हुन्थ्यो, त्यस्तो पूँजीवाद उहाँहरूले देख्नुभयो। त्यसको व्याख्या गर्नुभयो, विश्लेषण गर्नुभयो। सही अध्ययन गर्नुभयो। विज्ञान नै निकाल्नुभयो। तर एकाधिकार पूँजीवादको चरित्र कस्तो हुन्छ ? त्यसले विश्वलाई कता लैजान्छ ? मानव जातिलाई के असर गर्छ भन्ने कुरा चाहिँ फेरि २० औं शताब्दीका वैज्ञानिकहरूले क्रान्तिकारीहरूले खोजी गर्नुपर्ने विषय थियो त्यो। एंगेल्सले त प्रष्ट भन्नुभएको छ – अब आउने पिँढीले खोज्ने हो यो कुरा। हामीले भन्न सक्ने कुरा होइन।

लेनिन र बोल्सेविक आन्दोलन त्यस्तै पार्टी र आन्दोलन भयो जसले एकाधिकार पूँजीवाद र साम्राज्यवादको गहिरो अध्ययन विश्लेषण, संश्लेषण गरेर यो युग चाहिँ अब पूँजीवादको होइन, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग सुरु भयो, यो युगमा परिणत भयो भन्ने निष्कर्ष निकाल्यो। साम्राज्यवादीहरू आपसमा पृथ्वीको बजार कब्जा गर्नका लागि प्रतिस्पर्धामा पहिलो विश्व युद्ध, दोस्रो विश्वयुद्धतिर गए। करोडौं मानिसहरूको संहार भयो। त्यतिबेला लेनिन मात्र त्यस्तो व्यक्ति, बोल्सेभिकको नेतृत्वमा मात्र त्यस्तो आन्दोलन भयो, जसले साम्राज्यवादी युद्धलाई समाजवादी क्रान्तिमा फेर्नका लागि आँट गर्‍यो। त्यसको निम्ति आवश्यक पर्ने विचार, रणनीति कार्यनीतिको पूरै श्रृंखला लेनिनले तयार पार्नुभयो। राज्य र क्रान्ति हेरे पनि, साम्राज्यवाद र पूँजीवादको चरम अवस्था भन्ने किताबमा हेरे पनि भौतिकवाद र अनुभवसित आलोचना भन्ने कुरा हेरे पनि त्यहाँ विज्ञानको विकासले दिएका कुरादेखि एकाधिकार पूँजीवादको चरित्रको विश्लेषण गरेर अब सर्वहारा क्रान्ति गर्ने बेला यही हो भन्ने छ।


साम्राज्यवादी युद्धमध्ये यसलाई वा त्यसलाई समर्थन गर्ने थुप्रै समाजवादी नामधारी देखा परे। युद्धमा होमिएका यो वा त्यो पार्टीलाई। तर लेनिनले यसो गर्नु विल्कुल गलत हो। मजदुरहरूप्रति, श्रमिकहरूप्रति र क्रान्तिप्रति गद्दारी हो, धोका हो। हामीले कुनै गुटको पछि लाग्ने होइन। बरु यिनीहरूको लडाइँ भित्रपट्टिबाट समाजवादी क्रान्तिमा हामी अगाडि बढ्नुपर्छ भन्नुभयो। र, त्यही प्रक्रियामा अक्टोबर समाजवादी क्रान्ति भयो। र, त्यो विचारलाई हामीले लेनिनवादको रूपमा मार्क्सवादको विकास भन्यौं। मार्क्सवादको रिपिटेसन होइन लेनिनवाद। मार्क्सवाद पनि त्यही हो, लेनिनवाद पनि त्यही हो भनी बुझ्ने कतिपय ठाउँमा चलन छ, त्यस्तो होइन। मार्क्सवादका आधारभूत सिद्धान्तमा टेकेर २० औं शताब्दीको आन्दोलन र साम्राज्यवादको विश्लेषणका चरित्रका आधारमा विकसित गरिएको विचार र त्यो विचारअन्तर्गत विकसित गरिएको संगठन र रणनीति, कार्यनीति, कार्यशैली, संघर्षका शैलीहरू निर्धारण गरियो र अक्टोबर समाजवादी क्रान्ति भयो। त्यसले विश्वमा नै एउटा यति ठूलो तरंग ल्यायो। त्यसले ठूलो सन्देश दियो, त्यो हामी सबैलाई थाहा छ।

लेनिनको अवसानपछि, क्रान्ति अलि पिछडिएका देशतिर, जहाँ किसानहरूको बाहुल्य छ, जहाँ उपनिवेशवादको चपेटामा परेका छन्, साम्राज्यवादको उपनिवेशका रूपमा रहेका छन्। धर्तीको विशाल जनसंख्या पनि त्यही छ। त्यहाँ क्रान्ति कसरी गर्ने भन्ने केही प्रस्तावना लेनिनले अघि सार्नुभएको थियो। पूर्वीय देशमा क्रान्ति कसरी गर्ने भन्नेबारेमा। तर समग्र व्याख्या लेनिनलाई गर्न सम्भव पनि थिएन। र, लेनिनले कैयौं लेखहरूमा भन्नुभएको छ कि यो काम पूर्वीय देशका कम्युनिस्टहरूले नै पत्ता लगाउनुपर्ने हुन्छ। किसान बहुल भएका उपनिवेशवाद देशहरूमा कसरी क्रान्ति गर्ने भन्ने कुराको खोजी र अनुसन्धान त्यहीका कम्युनिस्टहरूले त्यहीका वैज्ञानिकहरूले गर्नुपर्छ भनेर भन्नुभयो। र, त्यसै प्रश्नको जवाफको रूपमा चीनमा नयाँ जनवादी क्रान्तिको विचार विकास भयो। र, माओकै जीवनकालमा कसरी फेरि, किनकि चिनियाँ क्रान्तिको सफलताले विश्वको शक्ति सन्तुलन बदलिदिएको थियो। रुसमा समाजवाद विकास भइराखेको, चीनमा पनि जनवादी क्रान्ति सफल भएर समाजवादतिर अग्रसर भएपछि पूर्वी युरोप, भियतनाम, क्युबा जतासुकै क्रान्तिको लहर आएपछि पूँजीपति वर्ग नराम्रोसँग झस्कियो। संसार कम्युनिस्टहरूको हुने भयो। समाजवादले विश्वविजय गर्ने भयो भन्ने देखियो। शक्ति सन्तुलन फेरियो।, म अहिले इंगित मात्र गर्छु। त्यसको समग्र व्याख्या अहिले सम्भव छैन।

त्यसपछि साम्राज्यवादीले कस्तो नीति अपनायो भने, एकातिर संरक्षणवादको नीति अपनाउन थाल्यो, आफ्नो देशमा राज्यलाई अझ प्रभावकारी बनाउने, कृषिमा, उद्योगधन्दामा या बैंकलाई थुप्रै अनुदान दिने, राज्य नियन्त्रित थुप्रै संस्थाहरूमार्फत जनतालाई राहत दिने, समाजवादी खालका जे रुसमा वा चीनमा या अरू समाजवादी देशमा जनताको पक्षमा गरिएका कैयौं कामहरू अमेरिकामा हुन थाले। यसरी आफ्नो देशमा आउन लागेको क्रान्तिको लडाइँ रोक्नका लागि मजदुरहरूलाई अलि सुविधा दिने, तलब बढाइ दिने, उनीहरूलाई पनि गाडी दिने अथवा विभिन्न तरिकाद्वारा अब क्रान्ति विद्रोह गर्न परेन भन्ने बनाउनतिर लगे।

एकातिर समाजवादका नीतिहरू, रणनीतिहरू चोरे र जनतालाई भ्रमित पार्न उनीहरूले निकै ठूलो षड्यन्त्र गरे भने अर्कोतिर कम्युनिस्ट आन्दोलनभित्र फुट पार्नका लागि उनीहरूले साम, दाम, दण्ड भेद सबै हतियार प्रयोग गरे। अरबौं खरबौं लगानी गरे। रुसमा कम्युनिष्ट आन्दोलनलाई कसरी विभाजित गर्न सकिएला ? बाहिरबाट लडेर जित्न सकिने भएन। कहीँ पनि पूँजीवादले कम्युनिस्टसँग लडेर विजय हासिल गरेको एउटा पनि छैन। लडेर त जहाँ पनि कम्युनिस्टहरूले कहीँ पनि जितेका छन्, क्रान्तिकारीले जितेका छन्। श्रमिकहरू र जनताले नै जितेका छन्। हारेका छन् भने सम्झौता गरेर हारेका छन्। या सत्तामा गएर हारेका छन्। त्यसको पाटो अर्कै छ। मेरो पोइन्ट त्यहाँ होइन।

मेरो पोइन्ट कहाँ हो भने, एकातिर उनीहरूले संरक्षणवादको नीति अलिअलि समाजवादका रणनीतिद्वारा त्यहाँका आन्दोलनलाई कमजोर पार्ने कोसिस गरे। अर्कोतिर समाजवादी आन्दोलनमा फुट पार्नका लागि अनेक खालका सिद्धान्त, अनेक खालका रणनीति र लगानी गरे। यो लगानीको प्रतिफल भनौं, सूक्ष्म अध्ययन गर्न थाले, कम्युनिस्ट पार्टीभित्र को नेता कस्तो ? कसको प्रवृत्ति कस्तो ? क–कसका बीचमा टसल छ कि छैन ? यसको पनि सूक्ष्म ढंगले अध्ययन गर्न थाले। पहिला वास्ता थिएन।

कम्युनिस्ट भनेपछि सोलो, डोलो एउटै देख्थे पूँजीपतिहरूले। तर पछि समाजवादको यो विजय अभियान देखेपछि उनीहरूले त्यसको अध्ययन गर्न थाले। कम्युनिस्ट आन्दोलनमा फुटको बारेमा लेनिनले त्यसको संकेत त पर्याप्त गर्नुभएको थियो। र, त्यो बिचमा उनीहरूले केही कुरा कम्युनिस्टहरूले कमजोरी कहाँ छन्, आफूलाई क्रान्तिकारी भन्ने नेताहरूका पनि कमजोरी पनि सूक्ष्म अध्ययन गरेर त्यो कमजोरीलाई सदुपयोग गर्न पनि उनीहरूले धेरै नै मेहेनत गरे।

रुसको सन्दर्भमा कुरा गर्दा लेनिन निकै ठूलो डेमोक्य्राट हुनुहुन्थ्यो। हामीले मार्क्सवाद, लेनिनवाद बुझ्दा पहिलाका नेताहरूबाट बुझेका थियौं। सक्कली मार्क्स के हुन् ? सक्कली लेनिन के हुन् भन्नेतिर भन्दा हामीलाई मार्क्स लेनिनलाई कस्तो बनाएर सिकाइयो भन्नेतिरबाट हाम्रो दिमाग बन्यो पहिला। हामी सक्कली बुझ्नेतिर भन्दा हामीलाई बुझाइयो, यस्तो हो भनेर। वास्तवमा लेनिन महान् डेमोक्य्राट हुनुहुन्थ्यो। पार्टीभित्र पनि पार्टी बाहिर पनि। खुला खुला बहस गर्ने, खुला खुला विचार विवाद हुन दिने, विवादमा रमाउने, बाहिर पनि विवाद गर्ने। उतिखेर पार्टी फुट्या छ, फेरि जुट्या छ। फेरि फुट्या छ। त्यसलाई पनि सहजै लिने। राज्य र क्रान्तिमा बुर्जुवा डेमोक्रेसी राम्रो कुरा हो भन्नुभएको छ उहाँले। बुर्जुवा डेमोक्रेसीलाई कलाइमेक्समा पुर्‍याएपछि बल्ल समाजवादी डेमोक्रेसी सुरु हुन्छ भन्नुभएको छ। कुनै तानाशाहीवादी, कुनै एकाधिकारवादी उहाँ होइन। आफूसँग विचार नमिल्नेसँग सजिलै क्रान्तिको निम्ति जरुरी पर्छ भने सजिलै मिल्ने, क्रान्तिलाई हानी हुन्छ भने आफ्नो नजिकको साथी भए पनि दुत्कार्न सक्ने आँट थियो उहाँको। त्यसलाई हामीले लेनिनवाद भनेका हौं।

साम्राज्यवादीहरूले अब कम्युनिस्ट आन्दोलन, समाजवादी आन्दोलनलाई सिध्याउनलाई पार्टीभित्र पनि गहन अध्ययन गर्ने, नेताहरूको कमजोरी, नेताहरूको आपसी सम्बन्ध। उनीहरूले लेनिन र स्टालिनको पनि कस्तो छ सम्बन्ध, लेनिनको श्रीमती र स्टालिनको सम्बन्ध कस्तो छ भन्नेसम्मको गहन अध्ययन गर्नेतिर लागे। त्यतातिर नजाऔं। कमरेड स्टालिन महान् क्रान्तिकारी हुनुहुन्थ्यो भन्ने कुरामा अहिले कहीँ भ्रम पनि छैन। हुन पनि हुँदैन। द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले विज्ञानको रूपमा जसरी प्रस्तुत गर्नुभएको थियो र स्थापित थियो। र, लेनिनले त्यसलाई जसरी आत्मसात् गर्नुभयो। त्यसलाई विकास गर्नुभएको थियो कमरेड स्टालिनमा त्यसलाई केही बुझ्नेमा कमी भएको देखियो। द्वन्द्ववादलाई बुझ्ने केही अधिभुतवादी कमजोरी, वर्ग संघर्षलाई बुझ्ने मनोगतवादी कमजोरी। त्यसले गर्दा उहाँले अब समाजवाद आइसक्यो भनी ठान्नुभयो। आएकै रहेनछ समाजवाद पूरै त।

वर्गसंघर्ष सिद्धियो भनेको त सिद्धिएकै रहेनछ। वर्गसंघर्ष त पार्टीभित्रै भयानक रूपमा चल्दै रहेछ। हामी भइसक्यो भनेको त भएकै रहेनछ। यस खालका कमिकमजोरीहरूलाई पनि साम्राज्यवादीहरुले राम्रोसँग उपयोग गरे। अनि समाजवादी आन्दोलनभित्र र समाजवादको नेतृत्व गरेको पार्टीलाई वैचारिक ढंगले कन्फुज्ड गर्नेतिर या पूँजीवादी बाटोतिर लैजानलाई राम्रै घुस पनि दिए। उनीहरूले त्यस्ता नेताहरूलाई जो अलि–अलि पूँजीवादी हुने सम्भावना, विचारबाट बिचलित हुने सम्भावना भएका नेताहरूलाई विभिन्न खालका प्रलोभन, घुस, आफ्नो देशमा बोलाउने, सम्मान यति धेरै गरिदिने, त्यो सम्मानले नै पुरिदिने, त्यस्तो गर्न थाले। तपाई गोर्भाचोभ हेर्नुहोस्, नोबेल प्राइज दिएका पूँजीपतिहरूले, तपाई महान भनेर। यस्ता उदाहरण थुप्रै छन्।

गद्दारहरूलाई कसरी उपयोग गर्दा रहेछन् त भन्ने पनि देखियो। अब समाजवादी आन्दोलन जो आक्रामक ढंगले अगाडि जाँदै थियो, शितयुद्धको चरणमा आउँदै जाँदा रक्षात्मक हुँदै गएर औपचारिक ढंगले सोभियत संघको विघटन र पूर्वी युरोपका देशहरूको विघटन भइसकेपछि आक्रामक समाजवादी आन्दोलन अब रहेन। कम्युनिस्ट आन्दोलन अब आक्रामक रहेन। लेनिन र माओको पालासम्म आक्रामक रहेको कम्युनिष्ट आन्दोलन समाजवादी आन्दोलन, मजदुर आन्दोलन शितयुद्धको पछिल्लो चरणमा आइपुग्दा त्यो रक्षात्मक अवस्थामा धकेलियो। र, चिजहरू कन्फ्युज हुन थाल्यो। अलि-अलि क्रान्तिका भुल्काहरू, देखिए। तर ती सबै पनि विचारको विकासको अभावमा एउटा समग्र मार्क्सवादी विचार, एउटा समग्र क्रान्तिको विचार क्लियर गर्न नसक्दा भएका त्यस खालका क्रान्तिकारी सबै युद्ध पनि पराजित भए। भएका त्यस्ता आन्दोलनहरू पनि सफल हुन सकेनन्। असीको दशकदेखि प्रयास त भए। श्रीलंकामा भए, भारतमा भए, फिलिपिन्समा भए, टर्कीमा भए, कोलम्बियामा प्रयास भयो। पछिल्लो पेरुमा त अलि बढी नै अगाडि जाने प्रयास भयो। तर ती कोही पनि दिगो रहन सकेनन्। र, सफलताको विन्दुसम्म पुग्न सकेनन्।

हामीले सुरु गरेको पनि हामी सफल भएको चाहिँ होइन। हामीले असफल हुन नदिएको त पक्कै हो। हामीले अरू जस्तो असफल हुन दिइएन। अरूको जस्तो बुद्धि लिएको भए गति पनि अरूको जस्तो हुने सम्भावना र खतरा थियो। हामीले नेपाली वर्गसंघर्ष र नेपाली राजनीति संघर्ष नेपालको वस्तुस्थितिको अध्ययनबाट हामी उपयुक्त समयमा शान्ति प्रक्रियातिर आउने राजनीतिक परिवर्तनतिर लाग्ने गरेको हुनाले हामीले त्यस्तो नियति भोग्न परेन। परेको छैन अहिलेसम्म। र, म आशा गर्छु पर्दैन हामीलाई। किनकि विज्ञानसम्मत भयो भने त्यस्तो पर्दैन।


अहिले हामी त्यस्तो ठाउँमा छौं, तपाईं हामीलाई माओवादी पार्टी यस्तो भयो, नेतृत्वले बिगार्‍यो। कहिलेकाहीँ नेतृत्वसँग झोक चल्छ होला, के भयो होला, यो किन यस्तो भयो ? भन्ने पनि पर्छ होला। तर म के भन्न चाहन्छु भने यो विश्वव्यापी समस्या हो। हामीले भोग्न परेको, हामीले सामना गरेको समस्या राष्ट्रिय समस्या मात्र होइन। यो माओवादी पार्टी र आन्दोलनको समस्या मात्र होइन। यो अन्तर्राष्ट्रिय समस्याको हिस्सा हो। हामी त्यही अन्तर्राष्ट्रिय विचार विकासको चुनौती सामना गर्ने प्रक्रियामा एउटा प्रशव पीडा भोगेका छौं। प्रशव पीडाबाट उन्मुक्त हुने भनेको विचार सुस्पष्ट ढंगले वैज्ञानिक छ यो, ठिक आयो भन्ने पनि हामी सबैलाई लाग्ने, अब यो विचारमा ज्यान फालेर लागे मुक्त भइन्छ। किनभने मर्न पनि आनन्द लाग्न पर्‍यो नि। आनन्द लागि लागि मर्न पनि आनन्द हुदोरहेछ नि त। के हो, के हो भन्दाखेरि त अन्धकारमा त कोही पनि मान्छेले हाम फाल्न सक्दैन।

त्यसकारण आजको समस्या के हो त ? मार्क्सवादको औद्योगिक पूँजीवादबाट कस्तो सिद्धान्त भन्ने मार्क्स र एंगेल्सले दिनुभयो। अहिले पनि त्यो हामीलाई काम लाग्ने भयो। एकाधिकार पूँजीवादको बेला क्रान्ति कसरी भन्ने कुराको सिद्धान्त र विचार लेनिनले दिनुभयो। त्यो अहिले पनि हामीलाई काम लाग्छ। पूर्वीय देशमा किसान बाहुल्य भएका उपनिवेशवाद, साम्राज्यवादका विरुद्ध पूँजीवादी क्रान्ति र नयाँ जनवादी क्रान्ति कसरी गर्ने भन्ने कुराको जवाफ र कम्युनिस्ट पार्टीभित्रै पूँजीपति जन्मेपछि त्यसलाई त्यसका विरुद्ध कसरी लड्ने भन्ने निरन्तर क्रान्तिको सिद्धान्तसम्म जाँदा माओले एउटा उज्यालो दिनुभयो। विश्वभरि ठूलो प्रकाश छर्ने काम गर्नुभयो। तर शितयुद्धको अन्त्यपछि कम्युनिस्ट समाजवादी भनिएका देशहरू गल्र्यामगुर्लुम ढलेपछि पूँजीपतिहरुले ल अब कम्युनिज्मको युग सिद्धियो, पूँजीवाद अब सार्वभौम, कसैले पूँजीवादलाई छुन सक्दैन, पूँजीवाद विश्वव्यापी विजयी भइसक्यो, विचारको मृत्यु भयो। अब त सब चीज बजारै हो। सबै चीज पूँजी नै हो भनेर होहल्ला गरियो। नब्बेको दशकपछि हामीले यो धेरै सुन्यौं।

अब अहिले कहाँ आयो त एकाधिकार पूँजीवाद या संशोधनवाद पनि त्यहाँ जोडिएर कहाँ गयो त भन्दा त्यो वित्तीय एकाधिकार पूँजीवादमा, भूमण्डलीकृत वित्तीय एकाधिकार पूँजीवादमा दुनियाँ गयो। यो भूमण्डलीकृत वित्तीय एकाधिकार पूँजीवाद चाहिँ न लेनिनले, न माओले राम्रोसँग देख्न अध्ययन गर्न, विश्लेषण गर्न पाउनुभयो। त्यो जिम्मा हाम्रो काँधमा आयो। एक्काइसौं शताब्दीका कम्युनिस्टहरू मार्क्सवादीहरू या बुद्धिजीवीहरू वा क्रान्तिकारीहरूको जिम्मामा, यो वित्तीय एकाधिकार पूँजीवाद भनेको के हो ? यसको चरित्र कस्तो हुन्छ ? यसलाई परास्त कसरी गर्ने हो ? भन्ने जिम्मा चाहिँ तपाई हाम्रो काँधमा छ। वित्तीय एकाधिकार पूँजीवाद भन्दा यसको मुख्य के हुन्छ भने पहिला पहिला पूँजीको लगानी उद्योगमा हुन्थ्यो, उत्पादनमा लगानी हुन्थ्यो। त्यहाँबाट आउने नाफा चाहिँ पूँजीपतिहरुले लिन्थे।

आजभोलि पूँजीको लगानी उत्पादनमा हुँदैन। मुख्य गरी पूँजीको लगानी पूँजीमै हुन्छ। वित्तीय एकाधिकार पूँजीवादको मुख्य विशेषता त्यो भएर देखा परेको छ। अहिले हेर्ने हो भने यो धितोपत्र बोर्ड, सट्टा बजार, आइएमएफ, वल्र्ड बैंक, एसियाली बैंक। हामीले हेर्दा पैसा यताउता गर्ने भन्ने हुन्छ। होइन त्यति सजिलो। यो साम्राज्यवादका विकसित रूपहरू हुन्। यसबाट आम जनताले तत्काल सीमित लाभ लिएको त देखिन्छ। तर, पुँजीको केन्द्रीकरण र नाफाको मुख्य हिस्सा उनीहरूको हातमा हुँदैन, ठूला वित्तीय पूँजीपतिहरूको हातमा हुन्छ। यो वित्तीय एकाधिकार पूँजीवादलाई बलियो बनाउने, अगाडि बढाउने र नाफा सोहोरेर संसारका सीमित पूँजीपतिको हातमा एकीकृत गर्ने र विश्वका ८० प्रतिशत नागरिकलाई भोका नांगो राख्ने प्रणाली हो भयो। सिधै पूँजीबाट पूँजी लिने। पूँजीको लगानी अब उत्पादनमा हुँदैन, सट्टा बजारमा हुन्छ। धितोपत्रमा हुन्छ। बैंकहरुले पूँजी सिधै घर जग्गा किनबेचमा लगाउँछन्। घर जग्गाको किनबेचबाट त सिधै पैसा आउने भयो। अरबौं अरब थुप्रिने भयो। विश्वभरि नै त्यस्तोमा लगानी हुन थाल्यो। त्यसो हुँदा मजदुरहरू अब कटौती हुन थाल्यो। यो निकै विचारणीय पक्ष हो।

त्यसकारण यसको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्नुपर्ने छ हामीले। जसरी औद्योगिक पूँजीवादसँग लड्ने तरिका मार्क्सले भन्नुभयो, साम्राज्यवादी एकाधिकार पूँजीवादसँग लड्ने तरिका लेनिनले भन्नुभयो, माओले संशोधनवादसँग लड्ने तरिकादेखि साम्राज्यवादसँग लड्ने तरिका कसरी भनेर नयाँ जनवादी क्रान्ति दिनुभयो। हामीले अब यो भूमण्डलीकृत वित्तीय एकाधिकार पूँजीवादसँग लड्ने तरिकाको खोजी गर्नुछ। पहिलो कुरा यो हो। हाम्रो समस्या त्यहाँ हो। हामी रुमलिन थालेको त्यही हो।

अब मार्क्सको किताबमा हेर्दा पनि ठ्याक्कै देखिँदैन, लेनिनको किताबमा हेर्दा पनि भेटिँदैन। माओको किताबमा पनि भेटिँदैन। यहाँ समस्या परिराखेको छ दिनदिनै। भनेपछि यो कुराको अनुसन्धान नहुँदासम्म हामीमा उज्यालो आउँदैन। ‘ए, भेटियो अब त’ भन्ने जस्तो नआएपछि त के लड्ने। संगठनका निम्ति पनि मरिमेटेर किन लाग्ने ? अर्को योसँग के जोडियो त भने वित्तीय एकाधिकार पूँजीवादले असाध्यै राम्रोसँग सूचना प्रविधिमा भयानक विकास भयो, क्रान्ति भयो त्यो सूचना प्रविधिलाई यति राम्रोसँग प्रयोग गर्‍यो कि यो इन्टरनेटको विकास, ग्बोबलाइजेसन र डिजिटलाइजेसनलाई उनीहरूले नाफा कमाउनलाई अर्को ढंगले प्रयोग गर्न थाले।

आफूभित्र गुण तत्व निर्माण गरियो भने तामझाम त कुनै बेला गर्न सकिन्छ भनेर हामीले विचारमा नै केन्द्रित हुने गरिकन भेला सम्मेलनहरू गर्दै आएका छौं। र, राष्ट्रिय सम्मेलनको तयारी पनि त्यही दिशामा लादैछौं। यो भिन्नतालाई हामीले ख्याल गर्न जरुरी छ।

आजकाल हेर्ने हो भने एउटै फ्याक्ट्री एउटै देशमा हुँदैन। एउटा पार्ट त्यसमा, अर्को पार्ट अर्कोमा। जम्मा गर्ने अर्को ठाउँमा, बजार अर्को ठाउँमा। यस्तो प्रवत्ति छ, पक्रिनै गाह्रो। अनि उनीहरूले त्यस्तो ठाउँमा लगेर सामान उत्पादन गर्छन्, जहाँ नाफाको लागि प्राकृतिक स्रोतसाधन प्रशस्त छ। जहाँ सस्तोमा प्राकृतिक स्रोत साधन पाइन्छ। जल, जमिन, जंगल, जडिबुटी लगायत अरू सबै जहाँ सस्तो पाइन्छ, त्यहाँ पुगेका छन् उनीहरू। अनि जहाँ श्रम शक्ति सस्तो छ त्यहाँ पुगेका छन् उनीहरू। त्यहाँ पुग्यो भने एकदम सस्तोमा सामान तयार हुने भयो। अनि बेसरी नाफा कमाउन पाइने भयो। अर्को एउटै ठाउँमा उद्योग स्थापना गरेर लाखौं मजदुर जम्मा गरे बन्द हुने, हडताल हुने समस्या हुने भयो। १८ औं, १९ औं, २० औं शताब्दीमा हैरान भोगे नि त पूँजीपतिहरूले। त्यसो भएर आजभोलि उनीहरूले मजदुरलाई एकै ठाउँमा हुन नदिने गर्न थाले। नेपालका मजदुरहरू कोही मलेसिया, कोही मध्यपूर्वमा, कोही अमेरिका कोही कहाँ। अब कसरी एक ठाउँमा उभिने ? कसरी हड्ताल गर्ने ? त्यसमाथि ती सबै करारमा छन्। पूँजीपतिले जतिबेला चाह्यो त्यतिबेला निकाली दिन्छ। भनेपछि यो स्थिति चिरफार गर्नुछ हामीले। यसलाई हामीले यसरी चिरफार गर्छौं भनेर सोच्नुछ।

अहिले जलवायु परिवर्तन र पृथ्वीको तापक्रम जो बढेर गएको छ। मानव जाति र भूगोलको के हुन्छ भन्ने समस्या पैदा भइसकेको छ। यो पूँजीवादी उत्पादन प्रणालीका कारणले भइरहेको छ। वित्तीय एकाधिकार पूँजीवादका कारणले नै भइरहेको छ। जंगल विनाश, मरुभूमिकरण, अब हिउँ पग्लिने प्रक्रिया, जलवायु परिवर्तन, नयाँ–नयाँ विचित्र विचित्र हुन थालेको छ। न आउने बेलामा बाढी आएर मान्छे मर्छन्। अस्ति हामी मनाङमा जाँदा देख्यौं। सयौं वर्षदेखि यस्तो बाढी आएको थाहा थिएन। न आउनुपर्ने बेलामा त्यत्रो बाढी आयो। मान्छेका घर बगायो। हुँदा–हुँदा कार्वन उत्सर्जन, विभिन्न उद्योगबाट, यातायातबाट, तेलबाट जो कार्बन निक्लिन्छ, त्यसले गर्दा अब यो ग्रीनल्याडतिरका सबै ठाउँमा पानीको सतह पग्लेर अब महासागरको सतह बढ्दैछ। अब महासागर वरिपरिका देशहरू डुब्ने खतरा दिनप्रतिदिन बढ्दो छ। हिमाल पग्लेर यो क्षेत्रमा पनि अब ठूलो जलवायु परिवर्तनको संकट आउने खतरा देखिसकेको छ। तर पूँजीपतिहरूलाई यसको धेरै चिन्ता छैन। उनीहरूलाई छिटो छिटो नाफा कमाउनुछ।

अहिले गरिब र धनीको अन्तर त झन् बढेको छ। त्यो बढेको कुरालाई तथ्यांकसहित हामीले देखाउनुछ। जलवायु परिवर्तन, पृथ्वीको तापक्रम बढाउने, पर्यावरण बिगार्ने काम जो पूँजीपतिहरुले गरेका छन्। साम्राज्यवादीहरुले गरेका छन्। ती मानव जातीका अपराधी हुन् भन्ने कुरा र तीनलाई घोषणा गर्नुपर्ने कुरा, तीनलाई लखेट्नुपर्ने आवश्यकता छ। कसरी गर्ने त ? अहिले हाम्रो माओवादी पार्टीले सबैलाई लखेट्न त सक्दैन। अहिले हामी हतियार बोकेर हिँड्ने स्थिति पनि छैन। भनेपछि के गर्ने त ?

हामीले संघीय लोकतान्त्रिक गणतन्त्र भनेर जो यहाँ स्थापित गरेका छौं। स्थानीय तह, प्रदेश तह, संघीय तहका सरकार पनि हामीसँग छन्। हामीले पार्टी पनि त्यस्तो बनाएका छौं। मेरो दिमागमा के आएको छ भने, पहिलो नम्बरमा अब हामीले समुदायबाट सुरु गर्नुपर्‍यो। तलबाट, स्थानीय तहमा हाम्रो प्राकृतिक स्रोत साधनलाई लुट्न आउने विदेशी बहुराष्ट्रिय कम्पनीहरूलाई खबरदार भनेर त्यहाँबाट रोक्न सुरु गर्नुपर्‍यो। तलबाट रोक्न सुरु गर्नुपर्‍यो। हामीले दिँदैनौं भन्नुपर्‍यो। हाम्रो जंगल, पानी, भूमि तिमिहरूलाई दिनौं हाम्रो जडिबुटी तिमीहरूलाई दिन्नौं, हामी आफै उपयोग गर्छौं भन्नेबाट सुरु गर्नुपर्‍यो। साम्राज्यवाद र तीनका दलालहरूले गर्ने क्रियाकलापलाई रोक्न सबै जनतालाई नेतृत्व गर्नुपर्‍यो। त्यहाँ यो पार्टी, त्यो पार्टी नभनीकन, किनभने जलवायु परिवर्तनबाट हुने क्षति रोक्नको लागि प्राकृतिक स्रोतसाधन बचत गर्नुपर्‍यो।

हाम्रा युवाहरू विदेश जान रोक्नका लागि त्यस्ता खालका उत्पादन प्रणालीको खोजी गर्नुपर्‍यो स्थानीय तहमा। र, स्थानीय तहमा एउटा वृहत् मोर्चा बनाएर यो वित्तीय एकाधिकार पूँजीवादले लादेको थाहा नपाउने गरी लुट्न खोजेको कुरालाई हामीले पनि उसले थाहा नपाउने गरी मोर्चा बनाएर ल्याउनुपर्‍यो। र हाम्रो राज्यको बजेट, प्रदेशको बजेट, संघको बजेट, स्थानीय सरकारको बजेट अनि हाम्रो स्थानीय समुदाय र हाम्रा पार्टी संगठन सबै एकीकृत र केन्द्रीकृत रूपमा सबै उत्पादनको नयाँ समाजवादी भ्रुण हामीले तलबाट विकास गर्दै ल्याउनुपर्‍यो। त्यही काम हामीले प्रदेश तहमा गर्नुपर्‍यो। राष्ट्रिय स्तरमा पनि हामीले त्यस्तै आन्दोलन सृष्टि गर्नुपर्‍यो। वृहत् संयुक्त मोर्चा राष्ट्रको रक्षाका लागि, प्राकृतिक स्रोत साधनको रक्षाका लागि हाम्रो संस्कृतिको रक्षाका लागि हुनुपर्‍यो। यो देश यति सुन्दर, यति राम्रो यति स्वच्छ यति धेरै प्राकृतिक विविधता भएको देशलाई कहाँ कहाँबाट आएर लुटिएको छ भन्ने कुरा जनतालाई बुझाउनुपर्‍यो। सबै बुद्धिजीवीलाई बुझाउनुपर्‍यो। वृहत् संयुक्त मोर्चा गर्नुपर्‍यो।

तेस्रो, अन्तर्राष्ट्रिय रूपमा पनि जलवायु परिवर्तनका विरुद्ध, पर्यावरण विनासको विरुद्ध, वित्तीय एकाधिकार पूँजीवाद प्रणालीले रोजगारी खोसेको छ, त्यसका विरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा एउटा बृहत्तर मोर्चा चाहिन्छ। तपाई हामीले देख्यौं नि सन् २००८, २०१० र २०११ सम्म जो आर्थिक संकट भोग्यो साम्राज्यवादले। त्यतिबेला ‘वान स्टेट’ कब्जा गरौं भनेर नारा लाग्यो न्युयोर्कमा। पूँजीवाद असफल भयो भन्ने नारा लाग्यो। त्यहाँ लाखौ मानिस सडकमा निस्के। ९ सय सहरमा ठूल–ठूला जुलुसहरू भए। हामी ती जुलुसहरूसँग गएर मिसिन पर्‍यो। त्यहाँ कम्युनिस्ट मात्र छैनन्, मजदुर पनि छैनन्। ती धर्ती विनास हुँदैछ, साम्राज्यवाद र पूँजीवादले बर्बाद पार्‍यो मानव जातिलाई भन्ने बुझ्ने मान्छेहरू हुन्। तिनीहरूसँग मोर्चा गर्नुपर्‍यो। र, हामीले नयाँ आन्दोलन सृष्टि गर्नुपर्‍यो। यतातिर सोच्नुहोला तपाईंहरूले। राष्ट्रिय सम्मेलनसम्म आउँदा हामीले यसलाई एउटा निष्कर्षसम्म पुर्‍याउनुछ।

अहिले तपाई हामीले हेर्‍यौं, दलित, महिला, जनजाति, मधेशीलाई समावेशी समानुपातिक या मुस्लिमलाई ल्याउन जसरी सुरु गरेका छौं। यो सानो कुरा गर्न खोजेको होइन। यो ठूलो उद्देश्यका साथ गरिएको छ। यो जनतालाई नयाँ ढंगले एकतावद्ध गर्ने, नयाँ ढंगले विश्वासमा लिने र आन्दोलनको नयाँ स्वरूप निर्माण गर्ने उद्देश्यद्वारा सुरु गरिएको छ। यो सुरु मात्र हो।

हामी यसरी जान्छौं, हाम्रो रणनीति, हाम्रो कार्यनीति त्यहाँ बनाउनुछ। हामीलाई यस्तै खालको संगठन चाहियो अब। सम्पूर्ण रूपमा खट्ने योग्य नेता कार्यकर्ताहरूको जमात चाहियो। हामीले पार्टीलाई नयाँ बनाउने खालले जानुपर्‍यो। अहिले तपाई हामीले हेर्‍यौं, दलित, महिला, जनजाति, मधेशीलाई समावेशी समानुपातिक या मुस्लिमलाई ल्याउन जसरी सुरु गरेका छौं। यो सानो कुरा गर्न खोजेको होइन। यो ठूलो उद्देश्यका साथ गरिएको छ। यो जनतालाई नयाँ ढंगले एकतावद्ध गर्ने, नयाँ ढंगले विश्वासमा लिने र आन्दोलनको नयाँ स्वरूप निर्माण गर्ने उद्देश्यद्वारा सुरु गरिएको छ। यो सुरु मात्र हो। हामी यसमा दृढतापूर्वक गयौं भने मलाई लाग्छ सबै समुदाय हाम्रो वरिपरि गोलबन्द गर्न सकिन्छ। हामीले संगठनलाई त्यही ढंगले निर्माण गर्नुपर्‍यो। हामी आफ्नै खुट्टामा उभिनुपर्‍यो, हामीले आफ्नै संगठनलाई बलियो बनाउनुपर्‍यो, एकचोटि हामी सबैले संकल्प गर्नुपर्‍यो।

हामीलाई हेपिएको छ। किन हेपिएका छौं भने हामी आफै कन्फूज्ड भएको हुनाले हो। हामी भित्रबाट उज्यालो बलेर आयो, ज्योति बलेर आयो, हाम्रो त भविष्य यस्तो हो, राष्ट्रको भविष्य, मानव जातिको भविष्य, हामी सबैको निम्ति हिँड्ने बाटो यो हो भन्ने कुरा क्लियर भएर स्टेपहरू पनि कदमहरू कहाँ–कहाँ टेक्ने हो भन्ने कुरा थाहा पायौं भने हामीलाई कसैले पनि हराउन सक्दैन। माओवादीलाई हराउन सक्ने तागत नेपालमा छैन। यो काम हामीले राष्ट्रिय सम्मेलनसम्म जाँदाखेरि पूरा गर्नुछ। सबै कमरेडहरू एकचोटि यो पार्टीलाई अरू जस्तो होइन। यो राष्ट्र, जनता र मानव जातिको निम्ति काम गर्ने नयाँ खालको पार्टी हो भन्ने कुरा फेरि एकचोटि स्थापित गर्ने र साबित गर्ने एउटा ऐतिहासिक जिम्मेवारी हामीसामु छ। त्यसको निम्ति हामीले इतिहासको अध्ययन, विज्ञानको अध्ययन गर्नुपर्छ र निष्कर्षमा पुग्नुपर्छ।

उनीहरूले विज्ञानलाई त्यसरी प्रयोग गरेका छन्। हुन त हामीले पनि सातवटै प्रदेशलाई एकैठाउँमा जोडेर हेर्नका निम्ति प्रयोग गर्‍यौं। तर हामीले होइन पूँजीपतिले नै बढी प्रयोग गरेको छ। यसलाई भत्काउने रणनीति पनि हामीले सोच्नुछ।

फेरि पनि मूल चुरो कुरा विचारको विकास गर्ने कुरा हो। क्रान्तिकारी रूपान्तरणको कुरा हो। हामी भनेको अलि अर्कै विरासतका मान्छे हौं। हामी अर्कै जातका मान्छे हौं। एउटा कथा जस्तो भेडासँग हिँड्दाहिँड्दै भेडा भइयो कि भन्या जस्तो, लाग्छ कहिलेकाहीँ। हामी भेडा होइनौं, हामी सिंह नै हौं। हामी सिंह जस्तो गर्जिनुपर्छ। आ–आफ्नो ठाउँमा गर्जिउ। आउने चुनावमा हामी एक नम्बर भएर देखाउने हो। म युवा, विद्यार्थी, महिला सबैलाई भन्न चाहन्छु, आक्रामक ढंगले प्रस्तुत हुनुहोस्। आक्रामक ढंगले विचारको स्पष्टतासहित गयौं भने कुनै यस्ता दक्षिणपन्थी बुर्जुवा विदेशी दलालहरूले हामीलाई केही गर्न सक्ने छैनन्, हामीले जित्नेछौं।

(नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीको पुस ११ देखि १३ सम्म हुन लागेको राष्ट्रिय सम्मेलनमा ल्याउन लागेको दस्तावेजको सार खिच्दै प्रदेश सम्मेलन उदघाटनमा दिएको सम्वोधनको सम्पादित अंश)

प्रतिक्रिया