सोमबार, जेठ ७, २०८१

कांग्रेस महाधिवेशन

आफ्नै समुह मिलाउन नसक्दा शेखर पराजित

सञ्जिता खनाल २०७८ मंसिर २९ गते ४:४९


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचनमा शेखर कोइराला पराजित बने । कुलचार हजार ६२३ मत खसेको मध्ये शेरबहादुर देउवाले २७३३ मत ल्याउँदा शेखरले १८५५ मत ल्याएका थिए । अर्थात शेखर देउवासँग ९०७ मतान्तरले पराजित बने ।

Advertisement

पहिलो चरणको निर्वाचनमा सभापतिका आकांक्षी कसैले पनि ५० प्रतिशत मत नल्याएपछि पुन कांग्रेस सभापतिको चुनाव दोस्रो चरणको गएको थियो । शेखर १३ औं महाधिवेशनमै सभापतिको आकाक्षी थिए । तर उनको तयारी नपुगेको भन्दै समुहका नेताहरुले भनेपछि उनी १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेर निवार्चित बनेका थिए । १३ औ महाधिवेशनपछि शेखरले १४ औं महाधिवेशनको सभापतिका लागि तयारी गरेका थिए । त्यसपछि उनी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार त बने तर आफ्नै समुह तिरबितर हुदाँ शेखरले निर्वाचन जित्न सकेनन् ।


‘मेरो बाँकी सम्पूर्ण जीवन पार्टी र राष्ट्रका लागि समर्पण गर्न चाहन्छु’ दोस्रो चरणको निर्वाचनमा जानुभन्दा अघिको पत्रकार सम्मेलनमा शेखरले भनेका थिए ।


संस्थापन ईतर निर्वाचनमा तितरबितर


शेखर आफ्नै समुहका प्रकाशमान सिंहसँग मिल्न सकेनन् । संथापन ईतर समुहको बैठक पटक पटक रातदिन नभनी बस्यो । एउटै समुहबाट दुई नेता सभापतिमा उम्मेदवार दिदाँपनि शेखर पराजित बनेका हुन् ।


शेखरले आफ्नै घरका दुई सदस्य सुजाता र शंशाकलाई पनि आफ्नो समुहमा राख्न सकेनन् । शशांक आफु तटस्थ बस्ने भनेर कतै खुलेनन् ।
यता,बहिनी सुजातालाई पनि शेखरले आफ्नो समुहमा राख्न सकेनन् । सुजातालाई शेखरले वास्ता नगरेपछि प्रकाशमान समुहमा गएकी कोइराला परिवार निकट एक नेताले बताउँछन् । यदि सुजातालाई पनि शेखरले आफ्नो समुहमा राख्न सकेका भए केही मत बढी आउँने शेखर निकट नेताहरुको भनाई छ ।


संस्थापनइतर समुहकै बरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिका आकाक्षी थिए । तर आफ्नै समुहमा दुई नेताले प्रकाशमान र शेखरले दाबी गरेपछि पौडेलले एक जना सभापतिका साझा उम्मेदवार उठ्न आग्रह गरे । तर प्रकाशमान र शेखर सभापतिमा अडिग भएपछि पौडेलले चित्त दुखाएर सभापतिबाट पछि हटे । निर्वाचनकै दिन बिहान आफु निर्वाचनमा पनि भाग नलिने र आफ्नो समर्थन कतै पनि नरहने बताए । शेखरले पौडेललाई खुसी बनाउँन नसक्दा पनि पराजित बनेका ईतर समुहका नेताहरु बताउँछन् ।


पौडेल निकट ६४ जना मतदाताले मतदान नै गरेनन् । यदि शेखरले पौडेलको मत जित्न सकेका भए त्यो मत उनलै पाउँथे । पटक-पटक फोन बार्तामा साथ दिने भनेका बिमलेन्द्र निधिलाई पनि शेखरले फकाउँन सकेनन् । निधिले पनि पहिलो निर्वाचनको मतदान गरेर बाहिरिने क्रममै यदि निवार्चन दोस्रो चरणको गयो भने आफ्नो साथ शेखरलाई हुने घोषणा गरेका थिए ।


तर निधिले दोस्रो निर्वाचनमा देउवालाई साथ दिए । शेखरले अर्का सभापतिका प्रत्यासी कल्याण गुरुङ समेतलाई आफ्नो समुहमा ल्याउँन सकेनन् । यदि दोस्रो निर्वाचनमै पनि शेखरले गुरुङ, निधि र सिंहलाई फकाउँन सकेका भए सभापतिको बाजी मार्थे । तर त्यो शेखरले गर्न नसक्दा पराजित बने ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया