बुधबार, वैशाख १२, २०८१

एमालेमा चुलियो ब्यापक असन्तुष्टि, ओलीको कार्यविभाजन प्रस्तावले तरंग

झपट रावल, निरज आचार्य र श्रीमाया थकालीद्वारा जिम्मेवारी अश्वीकार

शित्तल शर्मा २०७८ मंसिर २७ गते २१:०४

काठमाडौं । नेकपा एमालेमा नेताहरुको कार्यविभाजन र मनोनित केन्द्रीय कमिटि थपको विषयले ब्यापक असन्तुष्टि बढाएको छ । १० औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधीको विवेकलाई बन्धक बनाएर काठमाडौं फर्केका अध्यक्ष केपी ओलीले दोस्रो केन्द्रीय कमिटिको पूर्ण बैठकमा नेताहरुसँग खासै परामर्श समेत नगरी पदाधिकारीको वरियता निर्धारण, स्थायी कमिटि, पोलिटब्यूरो गठन, केन्द्रीय सदस्य मनोनयन र विभागिय जिम्मेवारी सहितका केन्द्रीय नेताहरुको कार्यविभाजन जस्ता प्रस्ताव ल्याएका थिए ।

चितवनबाट फर्किदै आफुसँग फरक मत राख्ने र आलोचनात्मक चेत भएका नेतालाई महाधिवेशनबाटै किनारा लगाएर काठमाडौं फर्केका ओलीले कार्यविभाजनमा आफ्नालाई काखी च्यापेका छन् भने भोलिका दिनमा आलोचक बन्न सक्ने ठानेकालाई पाखा लगाएका छन् ।

ओलीलाई ‘कमरेड’ भन्ने होइन ‘केपी बा’ को रूपमा आदर्श ठान्नेहरूको बाहुल्यता रहेको केन्द्रीय कमिटि बनाएका ओलीले केन्द्रीय कमिटिको पूर्ण बैठकमा ल्याएको प्रस्ताव पारित नहुने कुरै भएन । ओलीले जे –जे प्रस्ताव वैठकमा ल्याएका थिए, ति सवै पारित भईसकेका छन् ।

तर ओलीले ल्याएको त्यस्तो प्रस्ताव र नेताहरुको कार्यविभाजनले भने एमालेभित्र ब्यापक मात्रामा असन्तुष्टि बढाएको छ ।

केन्द्रीय नेताहरुको कार्यविभाजन र मनोनित केन्द्रीय सदस्यमा ओलीले १० वुँदे सम्झौता गरी माधव नेपालसँगै पार्टी विभाजनमा नगएका र एमालेभित्रै रहेका नेताहरुलाई भने छानीछानी जिम्मेवारीमा वेदखल बनाउने प्रयास गरेको आरोप महाधिवेशन लगत्तै ओलीलाई लागेको छ ।

जसकाकारण लिखित रुपमै केही नेताहरुले केन्द्रीय कमिटिले टुंग्गो लगाएको कार्यविभाजन प्रस्ताव अश्वीकार गरेका छन् । ओलीले अझै पनि पक्षपातपूर्ण ब्यवहार गरेको भन्दै आहत बनेका केन्द्रीय सदस्य झपट रावल, निरज आचार्य लगायत नेताहरुले कार्यविभाजन स्वीकार नगर्ने भन्दै लिखित रूपमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उनीहरुले आफुलाई दिइएको जिम्मेवारीबाट हटाइयोस् भनेर लिखित रूपमै केन्द्य्रीय कार्यालयमा जिम्मेवारीप्रति असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय सदस्य श्रीमाया थकालीले आफुलाई डिमोशन गरेर अपमानित गरेको भन्दै आक्रोश पोखेकी छिन् । थकालीका अनुसार, अघिल्लोपटक पोलिटब्युरो सदस्य भएकामध्ये उनी मात्र अहिले डिमोसनमा परेकी हुन् । केन्द्रीय कमिटी बैठकले थकालीलाई अहिले पोलिटब्यूरोमा समेत नसमेटेर मुस्ताङ जिल्लाको इञ्चार्जको मात्रै जिम्मा दिएको छ ।

उनले महासचिव शंकर पोखरेललाई टेलिफोन गरी आफ्नो राजनीतिक भविश्य समाप्त पार्न खोजिएको भन्दै असन्तुष्टि जनाएकी छिन् ।

‘मलाई के कारण डिमोसन गरियो, त्यसको प्रस्ट कारण र तथ्य नहुँदासम्म कुनै जिम्मेवारी स्वीकार गर्ने अवस्था छैन । मेरो ४० वर्षे राजनीतिक जीवन समाप्त पार्न खोजिएको छ, त्यो मलाई मान्य छैन भनेर महासचिवलाई टेलिफोन गरेर बताईसकेको छु,’ थकालीले भनिन् ।

उनी महाधिवेशनमा ओलीले महाधिवेशन प्रतिनिधीको विवेक वन्धक नराखी चुनावी प्रक्रियामा जान दिएको भए पदाधिकारी चुनाव लड्ने गरी चितवन झरेकी थिइन् । तर ओलीले आफै केन्द्रीय कमिटिको नाम घोषणा गर्ने अधिकार लिएर निर्वाचन प्रक्रियालाई वन्धक बनाएपछि उनी केन्द्रीय कमिटिमा खुम्चिन परेकी थिइन् । उनलाई कम्तीमा ओलीले स्थायी कमिटिमा समेटने विश्वास लागेको थियो । तर त्यस्तो नभएपछि उनलाई आफुलाई किनारा पार्न खोजिएको अनुभूति भएको छ ।

केन्द्रीय सदस्य झपट रावलले त केन्द्रीय कमिटि बैठकमै ओलीले ल्याएको कार्यविभाजनको प्रस्तावमा असहमति जनाएका थिए ।

‘ म कैलाली इन्चार्ज थिएँ। म केन्द्रीय कमिटी सदस्य भएको ४ वर्षपछि मनोनित भएका साथीलाई पोलिटब्युरो बनाएर उसको मातहतमा मलाई राख्ने काम गरियो, त्यो कसरी स्वीकार गर्ने ? ,’ – रावलले भने ।

उनलाई ओलीले ल्याएको कार्यविभाजन प्रस्तावमा कैलालीको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो ।

‘ मैले मलाई कैलालीको सहइन्चार्जबाट हटाइयोस् भनेर लिखित रूपमा दिएको छु। त्यसरी राख्नु भनेको मेरो अपमान हो। बरू मलाई जिम्मेवारी केही पनि चाहिँदैन भनेको छु ,’ – रावलले भने ।

ओलीले जाजरकोटका नेता निरज आचार्यलाई पनि त्यस्तै अपमान गरेका छन् ।

जाजरकोटको संयोजकमा भैरवसुन्दर श्रेष्ठ छन्। श्रेष्ठलाई जिल्ला इन्चार्ज, प्रदेशमा सहइन्चार्ज र केन्द्रमा पनि पोलिटब्युरोसम्मको भूमिका दिइएको छ ।

श्रेष्ठको मातहात हुने गरी आचार्यलाई भने सहइन्चार्जको जिम्मेवारी दिइएको छ । उनले पनि उक्त जिम्मेवारी अश्वीकार गर्ने बताएका छन् । लिखित रुपमा उनले पनि जिम्मेवारी नलिने भन्दै केन्द्रीय कार्यालयमा असहमति पत्र दर्ता गराएका छन् ।

त्यसो त ओलीले विवदास्पद ब्यापारी दुर्गा प्रसाईलाई केन्द्रीय कमिटिमा मनोनित गरेको र सँगै जेल बसेका झापाका नरेश खरेल र पवित्रा खरेल निरौलालाई केन्द्रीय कमिटिमा नल्याएको भन्दै आलोचना पनि भएको छ ।

झण्डै १७ वर्ष जेलजीवन बिताएका झापाका खरेललाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीमै ल्याउन चाहेनन् । महाधिवेशनको हलमा ओलीले पेश गरेको केन्द्रीय कमिटिको सूचीमा खरेल पारेनन् नै, उम्मेदवारै नभएका उनलाई भोट नहाल्न भन्दै पर्चा समेत बाँडिएको थियो ।

त्यस्तै चितवनका सांसद रहेका कृष्णभक्त पोखरेललाई चितवनको महाधिवेशन हलमा पनि ओलीले नाम ल्याएनन, मनोनित केन्द्रीय कमिटिमा पनि उनलाई समेटेनन । उनी पनि पहिले माधव नेपालसँग नजिक थिए । त्यस्तै कञ्चनपुरका सांसद दीपकप्रकाश भट्टलाई पनि ओलीले केन्द्रीय कमिटीमै ल्याउन चाहेनन् । न महाधिवेशन हलवाट ओलीले भट्टको नाम ल्याए, न मनोनित केन्द्रीय सदस्यको सूचीमै । यसले पनि एमालेभित्र असन्तुष्टिको मात्रा चुलिएको छ ।

ओलीले भने असन्तुष्टि बढन थालेपछि र तोकिएका जिम्मेवारी एकपछि अर्काे गदै नेताहरुले अश्वीकार गर्न थालेपछि पार्टीले तोकेको जिम्मेवारी सवै नेताहरुले पूरा गर्नुपर्ने निर्देशन गरेका छन् ।

प्रतिक्रिया