शनिबार, वैशाख ८, २०८१

संसदको प्रभावकारीताका लागि दलहरुको भूमिका निर्णायक : सभामुख सापकोटा

मेरोन्यूज २०७८ मंसिर २७ गते १५:०९

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले भोली (मंगलबार)देखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताए ।

उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने पनि उनले बताए ।

उनले भने – ‘मुख्यत्ः यो सदन भनेपछि पार्टीहरुकै भुमिका निर्णायक हुन्छ । सभामुखको भुमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने हो । जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भुमिका देखिदैँ जान्छ । हामीले आफुले गर्नुपर्ने तयारी गरेका छौँ । संविधानले, नियमले, कानूनले निर्दिष्ट गरेको भोली नै गर्नुपर्ने कतिपय कुराहरु भोली नै हुन्छ । अरु त क्रमशः छलफल गर्दै, समन्वय गर्दै, सहजीकरण गर्दै जाने कुरा हो । मेरो तर्फबाट सोचेको, कार्यव्यवस्थामा पनि छलफल गर्ने, उहाँहरुलाई खुलाउनुस्, सुचारु गरौँ भनेर उहाँहरुसित छलफल गर्ने र फेरी पार्टीहरुसँग छलफल गर्ने, आवश्यकता अनुसार फेरी सर्वदलीय बैठकहरु गर्ने, मेरो भुमिका त त्यही होला जस्तो लाग्छ ।’

सभामुख सापकोटाले विधेयक अधिवेशन भएकाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गरे । सञ्चारकर्मीहरुको जिज्ञासामा सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताए । उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताए । उनले भने – ‘उहाँहरुले जे गरिराख्नु भएको छ त्यो संविधान, नियम, कानून अनुसार छैन । नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन् । जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रुपमै गरेको छु र अझ मैले भन्नुपर्दाखेरी मैले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैभरी त्यही गर्न म प्रतिवद्ध छु ।’

मंगलदेखि संसद अधिवेशन सुरु हुने भएकाले सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वर पुगेर संसद सचिवालयको तयारीको अवलोकन गरेका छन् । संसद बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसदहरु र कर्मचारी लगायतको एन्टीजेन परिक्षण भइरहेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया