शुक्रबार, चैत १६, २०८०

कांग्रेस महाधिवेशन

झण्डै चार घण्टापछि कांग्रेसको मतदान शुरु

मेरोन्यूज २०७८ मंसिर २७ गते ११:४८

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि झण्डै चार घण्टापछि मतदान शुरु भएको छ ।

विहान ८ बजेदेखि मतदान शुरु हुने पूर्व निर्धारित तालिका भए पनि मतदानको तयारी नपुग्दा झण्डै चार घण्टा ढिला गरी मतदान शुरु भएको हो ।

राष्ट्रिय सभागृहमा दुई वटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिले जनाएको छ ।

ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । नेकपा एमाले र राप्रपाको महाधिवेशनमा जस्तो विद्युतीय मतदानको प्रयोग भने कांग्रेसले नगर्ने भएको छ । जसले गर्दा मतदानपछिको परिणाम आउन पनि समय लाग्ने देखिएको छ ।

महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्राङ्गणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनबाट सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।

Advertisement

प्रतिक्रिया