बिहीबार, वैशाख ६, २०८१

पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

मेरोन्यूज २०७८ मंसिर २७ गते ११:४०

दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्कालाई थापा हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार (उपसचिव) इन्द्रबहादुर कार्कीले थापा हत्याका मुख्य कसुरदार तीन जनालाई २० वर्ष र शव गाड्न सहयोग गर्ने कोहलपुर नगरपालिका–३ निवासी भक्तिराम लामिछानेलाई तीन वर्ष कैद तोकिएको जानकारी दिए ।

प्रहरीले हत्यामा संलग्न नौमध्ये पाँच जनालाई २०६९ पुस २० गते पक्राउ गरी डेकेन्द्र थापा मुद्दाको अनुसन्धान अघि बढाएको थियो । तीमध्ये अरुण भनिने बमबहादुर खड्का, मुक्ति भनिने बमबहादुर खड्का, केशव खड्का र भक्तिराम लामिछाने फरार थिए ।

शान्ति प्रक्रियापछि नेपाल पत्रकार महासङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा थापाको कङ्काल उत्खनन गरी डिएनए परीक्षण गरिएको थियो । निर्दोष पतिको हत्यामा संलग्नलाई कानूनी कारबाहीको माग गर्दै डेकेन्द्र पत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्याल दैलेखमा किटानी जाहेरी दिएका थिए ।

उक्त जाहेरीका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो । जिल्ला अदालतले २०७१ मङ्सिर २१ गते हत्यामा संलग्न नौमध्ये निरकबहादुर घर्ती, हरिलाल पुन, जयबहादुर शाही, लक्ष्मीराम घर्तीमगर र वीरबहादुर केसीलाई कैद सजाय सुनाउनुका साथै फरार अभियुक्तका हकमा यो मुद्दा मुल्तबी राखिएको थियो । (रासस)

प्रतिक्रिया