शुक्रबार, वैशाख १४, २०८१

माधव नेपालको पार्टीको प्रचार विभागमा विवाद

भुसाल भर्सेज खतिवडा शक्ति संघर्षमा

मेरोन्यूज २०७८ मंसिर २७ गते १०:४४
फाइल तस्बीर

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टीमा प्रचार विभाग गठनको विषयमा विवाद भएको छ ।

प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडालाई थाहै नदिई विभाग गठन भएको बाहिरिएपछि विवाद सतहमा आएको हो ।
महासचिव बेदुराम भुसालले खतिवडालाई थाहै नदिई प्रचार विभाग गठन भएको भन्दै विभागमा रहेका सदस्यहरुको नाम जारी गरेपछि खतिवडाले सच्याउन माग गरेका छन् ।

‘यो विभाग कसरी गठन भयो मलाई नै जानकारी छैन कुन आधारमा सदस्यहरु चयन गरिएको हो यसको मापदण्ड के हो यसबारे कही कतै छलफल भएको छैन’, विभाग गठन भएपछि समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठसहितको टोलीसँग खतिवडाले गुनासो गरेका थिए । उनले अब महासचिवले सबैकुरा जान्ने भए अन्य विभाग किन चाहियो र विभागी प्रमुखहरु किन बनाउनु पर्यो भन्दै महासचिव भूषालसँग असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ ।

नेकपा (एस)ले ३१ विभाग गठन गरेको छ । केन्द्रीय सचिवालयको बैठकहरूबाट ती विभाग गठन गरी जिम्मेवारी दिएको पार्टीले जनाएको हो ।
यस्तै, पार्टीले दुई वटा प्रदेश कमिटीसमेत संगठन गरी अनुमोदन गरिएको जनाएको छ । अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै पार्टीले विस्तार गरेको विभागको बारेमा जानकारी दिएको हो ।

महासचिव भुसालले तयार पारेको सूचीमा विभागको प्रमुखमा उपमहासचिव जगन्नाथ खतिवडा छन् भने उपप्रमुखमा केन्द्रीय सदस्य तथा समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ छन् । विभागमा सो संगठनका महासचिव भूपराज खड्कालाई राखिएको छैन ।

विभागको सदस्यमा राममाया भट्टराई (चमिना), जीवन विसी, टंक पन्त, विश्वमणी सुवेदी, नरेन्द्र साउँद, माधव पौडेल, रोहित दाहाल, तेजप्रसाद वाग्ले, दुर्गा थापा, धनराज वास्तविक, प्रकाश खतिवडा, रामकुमार एलन र शान्तराम विडारी रहेका छन् ।

उनीहरुमध्ये रोहित दाहालले आफू नरहने जानकारी गराइसकेका छन् । दाहालले सामाजिक सञ्जालमासमेत पार्टी निकटको कुनै पनि संगठनमा नभएको उनले बताएका छन् ।

प्रचार विभागको सूची सार्वजनिक भएपछि संगठनका संस्थापकहरुले पूर्व प्रस्तावित वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी, नरेन्द्र साउद र महासचिव रामकुमार एलनलाई सोही पदमा कायम गर्न माग गर्दै आएका छन् ।

पार्टीका प्रचार विभाग प्रमुख खतिवडा र अध्यक्ष श्रेष्ठले एलनलाई महासचिव अस्वीकार गरेपछि विवाद अहिलेपनि समाधान भएको छैन ।

गत शुक्रबार सार्वजनिक भएको सूचीमा १५ सदस्यीय प्रचार विभाग सार्वजनिक हुँदा असुन्तष्टहरुलाई समेटिएको छ । विभाग प्रमुख खतिवडा, उपप्रमुख श्रेष्ठ र सदस्य प्रकाश खतिवडाले एलनलाई महासचिव बनाउने कुरामा साथ नदिएपछि सम्मेलनस्थलबाटै बाहिरिएका थिए ।

अध्यक्ष श्रेष्ठले भूपराज खड्का हटाउने भए आफू संगठनको अध्यक्षबाटै बाहिरिने बताएका छन् ।

प्रतिक्रिया