बिहीबार, चैत १५, २०८०

कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदै

मेरोन्यूज २०७८ मंसिर २७ गते ७:१९

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सोमवार नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

बिहान ८ बजे सुरु हुने मतदानका लागि तीन वटा मतदान केन्द्र राखिएको छ । नयाँ केन्द्रीय समिति चयनका लागि आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

राष्ट्रिय सभागृहमा दुई वटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिले जनाएको छ ।

ती मतदान केन्द्रमा करिब एक हजार एक सय बुथ व्यवस्था गरिएको छ । नेकपा एमाले र राप्रपाको महाधिवेशनमा जस्तो विद्युतीय मतदानको प्रयोग भने कांग्रेसले नगर्ने भएको छ । जसले गर्दा मतदानपछिको परिणाम आउन पनि समय लाग्ने देखिएको छ ।

महाधिवेशनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्राङ्गणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचनमा विभिन्न २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ, सबै मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नु पर्नेछ ।

प्रतिक्रिया