सोमबार, जेठ ७, २०८१

कांग्रेस महाधिवेशनमा सात करोड खर्च लाग्ने

महाधिवेशन एक दिन लम्बिए खाना र बसोबासमा ८० लाख खर्च थपिने

सञ्जिता खनाल २०७८ मंसिर २४ गते ९:०१

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरू हुँदै छ । दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय छ ।

Advertisement

कांग्रेसले करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधिलाई र विदेशका विभिन्न जनसम्पर्कबाट आएकाहरूलाई काठमाडौँमा बिहीबार साँझदेखि मंसिर २७ गतेसम्म बसोबास र खानाको व्यवस्था गरेको छ । योसँगै महाधिवेशन अवधिभर सात करोड रूपैयाँ खर्च लाग्ने कांग्रेस केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिले अनुमान गरेको छ ।

उक्त रकम आर्थिक समितिकै सदस्यबाट संकलन गर्ने काम भइरहेको आर्थिक समितिका एक सदस्यले बताए । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीको संयोजक सात सदस्य गठन भएको छ ।

महाधिवेशन प्रतिनिधिलाई बिहान र बेलुकी महाधिवेशन स्थलमै खाना खुवाउने व्यवस्था गरेको छ । खाना र बसोबासका लागि मात्रै कांग्रेसले साढे तीन करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको ती सदस्यले बताए । उनले भने, ‘पार्टीले महाधिवेशनका लागि गठन गरेको आर्थिक समितिकै सदस्यहरुबाट पैसा लिन्छौँ, अन्य सदस्यहरुसँग चन्दा उठाउँदैनौँ ।’

आर्थिक समितिकै संयोजक रहेका मन्त्री कार्कीले १० लाख सहयोग गरेका छन् । उक्त समितिका सदस्य एवम् राज्यमन्त्रीसमेत रहेका नेता उमेश श्रेष्ठले २५ लाख, सांसद विनोद चौधरीले २५ लाख र नेता जीपछिरिङ लामाले २५ लाख रूपैयाँ महाधिवेशन गर्न खर्च दिएको समेत उनले जानकारी दिए ।

महाधिवेशन एक दिन थपियो भने पनि खाना र बसोबासका लागि ८० लाख थप खर्च लाग्ने समितिले अनुमान गरेको छ । समितिले महाधिवेशनका लागि संकलन गरेको रकम छुटै खाताबाट सञ्चालन गर्ने बताएको छ ।

उक्त खातामा मन्त्री एवम् आर्थिक संयोजक कार्की, दीपक खड्का र मोहन आचार्यको हस्ताक्षर चल्ने गरी खाता खोलिएको समेत सोही समितिका एक नेताले बताए । ती नेताका अनुसार महाधिवेशनमा हुने सबै खर्च पारदर्शी हुने उनको भनाई छ ।

क्रियाशील सदस्यता वितरण र नवीकरणबाट उठेको पैसा महाधिवेशनका लागि खोलेको खातामा नराखिएको समेत जानकारी दिए । बिहीबारको कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टीको खातामा १० करोड रूपैयाँ रहेको कोषाध्यक्ष सीतादेवी यादवले तयार पारेको आर्थिक प्रतिवेदन उल्लेख छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया