सोमबार, जेठ ७, २०८१

कुन प्रदेशबाट कति आए महाधिवेशन प्रतिनिधि ?

सबैभन्दा बढी बागमति प्रदेशबाट

सञ्जिता खनाल २०७८ मंसिर २३ गते १८:२६

काठमाडौं । नेपाली कांग्रेसको १४ औं केन्द्रिय महाधिवेशन शुक्रबार (भोलि)बाट सुरु हँुदैछ । महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउँन थालेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको अन्तिम बैठक थियो ।

Advertisement

भित्र पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक थियो भने बाहिर विभिन्न प्रदेशबाट आएका केन्द्रीय सदस्यहरु महाधिवेशन प्रतिनिधिहरुको निकै घुईचो देखिन्थ्यो ।

महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि कांग्रेसभित्र रस्साकस्सी चर्किँदो छ । संस्थापन ईतर (रामचन्द्र पौडेल )समूह साझा उम्मेदवार तय गर्न पटक पटक छलफल गर्दा पनि छान्न सकेको छैन ।

यता, वर्तमान सभापति शेरबहादुर देउवा पुनः दोस्रो कार्यकाल दोहोराउँन चाहेका छन भने सोही समुहका उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कांग्रेसका तेस्रो धार मानिने कृष्ण प्रसाद सिटौलाले आज आफू निकट नेताहरुको छलफलमा आफूसँग रहेका नेतालाई स्थापित गर्ने आफ्नो तयारी रहेको बताएका थिए ।

कांग्रेसका केन्द्रीय निर्वाचन समितिको हालै सार्वजनिक गरेको तथ्यांकअनुसार कांग्रेसको सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि बागमतीमा रहेका छन् । दोस्रोमा प्रदेश १ मा देखिएका छन् ।

कुन प्रदेशबाट आए महाधिवेशन प्रतिनिधि ?
विभिन्न देशबाट आएका जनसम्पर्कका प्रतिनिधि बाहेक सातै प्रदेशको महाधिवेशन प्रतिनिधिको कुल चार हजार ३१९ जना रहेका कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

१ नम्बर प्रदेश
प्रदेश १ भनेको नेपाली कांग्रेसका तेस्रो धार मानिने कृष्णप्रसाद सिटौला र संस्थापन ईतर समुहका नेता शेखर कोईरालाको पकड रहेको प्रदेश भनेर चिनिने गरेको छ । अर्का अहिलेका सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की र संघिय समाजबादीबाट गत बर्ष कांग्रेस प्रवेश गरेका विजय कुमार गच्छदारको प्रदेश पनि हो । यस प्रदेशका १४ जिल्लाबाट ७३३ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

२ नम्बर प्रदेश
प्रदेश २ बाट १४ औँ महाधिवेशनमा प्रदेश २ का आठ जिल्लाबाट ७०५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । यस प्रदेश सभापतिका आकाक्षी विमलेन्द्र निधि पनि यही प्रदेशका हुन् ।

बागमती प्रदेश
सबैभन्दा बढी महाधिवेशन प्रतिनिधि बागमति प्रदेशमा रहेका छन् । बागमति प्रदेशका १३ जिल्ला रहेका छन् । यी जिल्ला मध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा २६७ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । काठमाडौं सभापतिका आकाक्षीद्य प्रकाशमान सिंह र महामन्त्री गगन थापाको पकड रहेको जिल्ला पनि हो ।

काठमाडौं जिल्लामा १० निर्वाचन क्षेत्र रहेका छन् । जसअनुसार क्षेत्र नम्बर १ बाट २७ जना, २ बाट २७जना, ३ बाट २६ जना, ४ बाट २७ जना, क्षेत्र नम्बर ५ र ६ बाट २७–२७ जना ,७ बाट २६ जना प्रतिनिधि सहभागी हुनेछन् । क्षेत्र नम्बर ८, ९ बाट २७–७ तथा १० बाट २६ जना प्रतिनिधि आएका छन् ।

गण्डकी प्रदेश
गण्डकी प्रदेश बरिष्ठ नेता रामचन्द्र पौडेलको पकड रहेको जिल्ला हो । पौडेल समुहकै नेताले प्रदेश अधिवेशनमा पनि राम्रो मत ल्याएर जितेका थिए । यस प्रदेशका अधिकाशं जिल्ला सभापति पौडेल निकट नेताहरुले जिते । यस प्रदेशमा ४८० जना महाधिवेशन प्रतिनिधि आएका छन् ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा प्रदेश अधिवेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेल निकट सभापति भएका थिए । कांग्रेसको १४ औँ महाधिवेशनमा ६८३ प्रतिनिधि आएका छन् । जसमा संस्थापन र इतर पक्षका प्रतिनिधिहरू बराबरी आएको नेताहरुको दाबी छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशका प्रदेश अधिवेशनमा संस्थापन समुहले जितेको थियो । यस प्रदेशबाट ३१७ जना महाधिवेशन प्रतिनिधिहरु चुनिएर आएका छन् ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश भन्ने वितिकै वर्तमान प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश भनेर चिनिने गरिन्छ । यस प्रदेशमा अहिलेका महामन्त्रीका आकांक्षी एनपी साउद र रमेश लेखकको पकड रहेको जिल्ला पनि मानिन्छ । यस प्रदेशमा देउवा निकट नेता नै प्रदेश सभापति भएका थिए । यस प्रदेशमा ४१९ जना महाधिवेशन प्रतिनिधि आएका छन् । जसमा अधिकांश संस्थापन समुहकै रहेको बताइएको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया