शुक्रबार, वैशाख ७, २०८१

कार्यकर्तालाई वीपीले लेखेको दुर्लभ पत्र

वीपी कोइरालाले ठम्याएका कांग्रेसीको सात खराबी

- वीपी कोइराला

मेरोन्यूज २०७८ मंसिर २३ गते ११:००
नयाँ दिल्ली प्रस्थानका क्रममा त्रिभुवन विमानस्थलमा वीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र अन्य

प्रिय साथी,
तपाईं साथीहरूलाई धेरै दिनपछि यस्तो किसिमको पत्र पठाउँदै छु । मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्न गएको छ । आज हाम्रो प्यारो देश जसरी नै नेपाली कांग्रेस पनि एउटा ठूलो संकटबाट गुज्रँदै छ । यसको पूर्ण निराकरण गर्नमा हामी हाल त्यति समर्थ नभए पनि यसका ठिक-ठिक कारणहरूको ठेगान लगाउनु आवश्यक छ । तसर्थ, हाम्रो पार्टीभित्रका रोगहरू ठेगान लाग्नु आज आवश्यक हुन गएको छ ।

पार्टीहरू देशको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाका प्रतिबिम्ब मात्र हुन्छन् । हाम्रो पार्टी पनि त्यस्तै नै हो । नेपाली कांग्रेस नेपाली जनताको वास्तविक प्रतिनिधि हो भने यो निरोगी र स्वस्थ रहेमा हाम्रो देशको एक-एक रोग र व्याधी आफैँ क्रमशः हट्दै जाने छन् । र, यो देश कालान्तरमा विश्वका अरू देश सरह व्यवस्थित र उन्नतशील भएर जानेछ ।

तपाईं साथीहरूले प्रारम्भदेखि नै मप्रति ठूलो विश्वास र प्रेम देखाउनु भएको छ । मैले पनि आफूलाई यसको उपयुक्त बनाउने सकेसम्म प्रयत्न बराबर गरेको छु । तर, मलाई आफ्नो काममा नै न सन्तोष छ, न त तपाईं साथीहरूको कामबाट नै सन्तोष छ । यसो नभएको भए यस्तो किसिमको पत्र लेख्ने आवश्यक नै पर्ने थिएन । त्यस हुनाले तपाईंहरूको सोही मैत्री र सद्भावका कारणका आधारमा म यो स्पष्ट कुरा लेख्दैछु । र, मलाई आशा छ, यसमाथि तपाईंहरूले अवश्य पनि गम्भीर विचारका साथ मनन गर्नु हुने छ ।

नेपाली कांग्रेसमाथिको ऐतिहासिक उत्तरदायित्वको कुरा म पार्टीका साथीहरूले जहाँसुकै गरेको सुन्दछु । यो ऐतिहासिक उत्तरदायित्व के हो
? हामीले के गर्नुछ ? हामी सबैलाई यसको स्पष्ट बोध नभए जस्तो छ । यसबारे मैले केही विचार गरेँ । मलाई लाग्दछ, नेपालमा क्रान्तिको सफल नेतृत्व गरेर सफलताका साथ कठिन ज्वालामुखीको दुर्गम पहाड चढेर त्यसको अखण्ड ज्वालामा हाम्फालेर पनि अक्षत र सफल भएर निस्केका नेपाली कांग्रेसका क्रान्तिकारी साथीहरू अझै त्यही बितेका सपनाका कथाहरूमा अल्झेर बसिरहेका छन् ।

अतीत सबैका लागि सुखद र प्यारो हुन्छ । झन् बितेका दिन इतिहासका सुनौला पृष्ठ हुन गएका त्यस व्यक्ति वा संस्थाको के कुरा । तर, यसैले हामीमा आफ्नो साध्य र साधनप्रति नै भ्रम पारेको जस्तो छ । क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधन मात्र थियो र साध्य त प्रजातन्त्र थियो । साधनको उपलब्धिको उमंगमा हामीले यस महत्वपूर्ण कुरालाई बिर्सियौ र अझै त्यही गल्ती गर्दैछौँ । यसैले गर्दा हाम्रो देश प्रजातन्त्रको मार्गमा चाहिने जति अगाडि बढ्न सकेन । वास्तविक भन्ने हो भने, क्रान्तिजन्य प्रजातन्त्रका प्राप्तिहरू दिनदिनै घट्दै गए । यसले गर्दा क्रान्तिको महत्व पनि कम हुँदै गयो । यस कुरालाई आज हामीले राम्ररी बुझ्नु परेको छ ।

समयका साथ आज हाम्रो पार्टीभित्र अनेक खराबी आएका छन् । तिनीहरूमध्ये केही प्रमुख खराबीहरूबारे म यहाँ तपाईंहरूलाई आफ्नो मनमा लागेको कुरा भन्न चाहन्छु :

१) सर्वप्रथम क्रान्तिको सफलताले हामी सबैमा आवश्यकताभन्दा बढी एक किसिमको आत्म विश्वासको सिर्जना गर्यो । अनवरत कार्यद्वारा यसको पुस्ट्याई भएको भए सम्भव थियो, यसबाट त्यति नोक्सान हुने थिएन । तर, अनेक कारणले त्यसो हुन सकेन । फलस्वरुप आजको हाम्रो निरर्थक आत्मविश्वास हाम्रो बाटोको तगारो हुन गएको छ । यसलाई हामीले हटाउनु परेको छ ।

२) हाम्रो दोस्रो अवगुण के हो भने हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौँ । हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौँ । तसर्थ, हाम्रा धेरैजसो निर्णयहरू आफ्ना व्यक्तिगत चाहना वा रूचि वा अरूचिका छायाँ मात्र हुन जान्छन् । यसलाई हामीले हटाउनु परेको छ ।

३) हाम्रो तेस्रो खराबी के हो भने हामीमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्वबोध कम छ । यद्यपि, जिम्मेवारी उठाउने बारेको हाम्रो चाख भने कम छैन ।

४) यी कारणहरूले गर्दा हामी जनतामा बढ्ता भिज्दैनौँ । र, जनता र हाम्राबीचको सीमा दिन प्रतिदिन बढ्दै गएको छ । यो हाम्रो चौथो दुर्गुण हो ।

५) हाम्रा साथीहरूको पाँचौँ खराबी के छ भने हामी आफुलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्छौँ । जनता र पार्टीकै कार्यकर्ताहरूबीचको यस किसिमको अन्तर पनि आज देखिन थालेको छ ।

६) हाम्रो छैठौँ खराबी भनेको साथीहरूमा अध्ययनको ठूलो कमी हुनु हो । हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पनि पहिल्याउनु पर्दछ । हामी त्यसो गर्दैनौँ । उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु । यसलाई पनि हामीले हटाउनु परेको छ ।

७) अब म तपाईंहरूलाई मैले देखेको पार्टीको सातौँ र अन्तिम खराबी लेख्छु । साथीहरूमा उत्कर्ष र संकट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ । राजनीति र नैतिकता दुई भिन्न तत्व हुन् र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन भन्ने एकथरि विचार तपाईँहरूले पनि अवश्य नै सुन्नुभएको होला । यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै-कसैको भनाइ त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता वाधक मात्र हुन्छ । एउटा अर्को थरिको भनाइ के छ भने नैतिकताबिनाको राजनीति सर्वथा पापाचार मात्र हो । एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पूँजी भनिएको छ । त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ ।

राजनीति भनेको मोक्षको मार्ग होइन । पार्टी मुमुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मुर्खता हो । मेरो भनाइको तात्पर्य के हो भने माथिका नैतिकताका बारेका दुवै दृष्टिकोण अतिवादका उदाहरण मात्र छन् । राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ । म चाहन्छु, देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग प्रारम्भ गर्नुपर्छ । र, कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलने छैन ?

साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकताबिनाको राजनीति निरर्थक र अलिनो हुन्छ । र, त्यस हुनाले अग्राह्य हुन्छ । हामीले साथीहरूबीच नै असत्यको प्रचार गर्‍यौँ, गैर-इमान्दार भएर काम गर्‍यौँ र आपसमा अविश्वास गर्‍यौँ भने हामी राजनीतिक कार्यकर्ताहरूको संघर्षमय शुष्क जीवनको सवल नै के रहन्छ र ? नैतिकताकाबारेमा ठूलो भाषण दिने मेरो इच्छा छैन । मनुष्य आफैँ एउटा अत्यन्त कमजोर र निरीह प्राणी हो । तर कस्तै संकटका अवसरमा पनि हामीले यी मानवोचित गुणहरूलाई भुलेनौँ भने घोर अन्धकार र निराशाका अवसरमा पनि यसको क्षीण प्रकाशले हामीलाई जीवित र उल्लासमय बनाइराख्ने छ ।

माथि नै मैले तपाईंहरूलाई भनेको छु, ममाथिको तपाईंको ठूलो विश्वास, मैत्री र सद्भावनाका भरोसाका कारणले मात्र मैले तपाईंहरूलाई यस्तो किसिमको व्यक्तिगत पत्र लेख्ने धृष्टता गरेको हुँ । यस पत्रको आशय सारा कमजोरीहरूका कारण तपाईंहरू नै हुनुहुन्छ भन्ने होइन । साँच्चै भनौँ भने यी कमजोरीहरूको सबैभन्दा बढी उत्तरदायित्व ममाथि छ ।

हाम्रो केन्द्रीय कार्यालय कमजोर भएको छ । कुन समयमा कुन काम हुन्छन् भन्ने कसैलाई थाहा छैन । यसको जिम्मेवारी पनि धेरैजसो ममाथि नै जान्छ । यसलाई हामी सबै मिलेर हटाउनु छ । स्थिति अझै नसुध्रिने लायक भएको छैन । हामीहरूले अनेकपटक जीवन मरणका सवालमा काँधमा काँध मिलाएर देशका दुश्मनहरूसँग जीवन मरणको युद्ध गर्‍यौँ। भविष्य अत्यन्त अनिश्चित भए पनि त्यस समयको हाम्रो कर्तव्यपरायणता र मैत्री, एकता र उदारताको आज अभाव हुनगएको छ । यसलाई हामीले आज पुनः प्राप्त गर्नु परेको छ । त्यो अझै बढी त्याग र बलिदानले मात्र प्राप्त हुनसक्छ । अनि मात्र देशमा प्रजातन्त्रको विकास हुनेछ र समाजवादको मार्ग प्रशस्त हुनेछ । अनि मात्र हाम्रो ऐतिहासिक उत्तरदायित्व पूरा हुनेछ ।

(साभार : नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ को २०१५ अंकबाट)

प्रतिक्रिया