सोमबार, जेठ ७, २०८१

कांग्रेस प्रदेश अधिवेशन : सभापतिमा संस्थापनकै वर्चस्व

यस्तो छ प्रदेश अंकगणित ?

सञ्जिता खनाल २०७८ मंसिर २० गते १०:२९

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगतको ६ प्रदेशको प्रदेश अधिवेशन सकिएको छ ।

Advertisement

मंसिर १७ देखि १८ गते भएको निर्वाचनको मत परिमाण (आज) सोमबार बिहानसम्ममा आएसँगै ६ प्रदेशको अधिवेशन सकिएको हो । प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशन अगाडी हुने कि नहुनेमै अन्योल देखिन्छ ।

प्रदेश अधिवेशन सकिएका ६ मध्ये ४ प्रदेशमा प्रदेश १,बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा संस्थापन (सभापति शेरबहादुर देउवा) समुह बलियो देखिएको छ ।

यी ४ प्रदेशका देउवा समुहको सभापतिको समग्र मतको अंकगणित हेर्दा ६७३ मतले अगाडी देखिन्छ । तर प्रदेश १ र बागमतिमा कांग्रेसका तेस्रो धार मानिने सिटौला समुहको पनि मत गएको छ ।

यता, संथापन इतर समुहले दुई प्रदेश लुम्बिनी र गण्डकी प्रदेशमा जितेको छ । यी दुई प्रदेशका प्रदेश सभापतिले ल्याएको मतको अंक गणित हेर्दा १६९ मत छ । संस्थापन पक्षको ६७४ र ईतर समुहको १६९ मतको अंक गणित हेर्दा संस्थापन ५०४ मतले अगाडी देखिन्छ ।

यसअघि भएको ६२ जिल्लाको अधिवेशनमा देउवा समुह नै अगाडी देखिन्छ । देउवा निकट एक नेताले भने ‘अहिलेको प्रदेश र जिल्लाको नतिजाले पनि शेरबहादुर दाइलाई सभापति जित्न गाह्रो देखिएन् ।’

त्यसैगरी, पौडेल समुहमा पनि जिल्ला सभापतिको सल्लाह लिएर साझा उम्मेदवार छान्ने विषयमा छलफल सुरु भएको एक नेताले बताए । ति नेताले भने,‘अब अहिलेसम्मको सबै नतिजा हेर्दा हामीहरुले सबै मिलेर एक साझा उम्मेदवार छानेर मैदानमा जानुपर्ने अवस्था आएको छ ।’ केन्द्रिय महाधिवेशन मंसिर २४ देखि २७ काठमाडौंमा हुँदैछ ।

यी प्रदेश हुन देउवा समुहका प्रदेश सभापति

बागमती प्रदेश

बागमती प्रदेश सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षीय इन्द्र बानियाँ निर्वाचित भए । बानियाँले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पराजित गरेका हुन् । केसी अजुर्न नरसिंह केसीका सहदर भाई समेत हुन् । केसी पहिलो ५ सय मत गणना हुँदासम्म अग्रता लिए पनि १ हजार मत गणना गर्दा पछि परे । त्यसपछि भने बाँनियाले अग्रता बढाउँदै लगे । संस्थापन पक्षका बानियाँ र तेस्रोधार कृष्णप्रसाद सिटौला निकट भिमसेनदास प्रधानको समर्थनमा निवार्चित भएका हुन् ।

बानियाँले १ हजार ८५ मत ल्याएर बिजयी भए भने संस्थापन इतर समुहका जगदीश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे । बागमति प्रदेशमा पहिलो चरणको शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेनदास प्रधान कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आइतबार पुनः दोस्रो चरणको मतदान भएको थियो । आइतबार पहिलो र दोस्रोको मात्रै प्रतिष्पर्धामा भएको थियो । जसमा बानियाँलाई तेस्रो बनेका भिमसेन दास प्रधानले समर्थन जनाएका थिए । प्रधानको समर्थनमा बानियाँ प्रदेश सभापति बने । मकवानपुरका बानियाँ वागमती प्रदेशसभा कांग्रेस संसदीय दलका नेतासमेत हुन् । यस प्रदेशमा आइतबार भएको मतदानमा २ हजार २६ मत खसेको थियो ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश संस्थापन (सभापति शेरबहादुर देउवा) समुहले क्लिन स्वीप गरेको छ । सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायरको विजयी भए । उनले संस्थापन इतरबाट प्रतिष्पर्धामा उठेका नारायणदत्त मिश्रलाई चार सय आठ मतले पछि पार्दै विजयी भए । बलायरले ६८८ मत ल्याएका थिए भने मिश्रले २८० पाएका थिए ।

सोही समुहका उपसभापतिमामा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउने विजयी भएका छन् ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् । शाहीलाई संस्थापन समुह (सभापति शेरबहादुर देउवा) समर्थनमा मैदानमा उत्रिएका थिए । ललितजंग निकटतम प्रतिद्वन्द्वी संस्थापन इतर (पौडेल समुह)का भूपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले पराजित गरेका हुन् । ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत प्राप्त गरेका छन् । सभापतिका अर्का प्रत्याशी मोतीराज बमले जम्मा ७ मत ल्याए । बम उपसभापति विमलेन्द्र निधि निकट मानिन्छन् । संस्थापन समुहकै अन्य पदाधिकारीहरु उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की, महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकाया, सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाहीले बाजी मारे ।

प्रदेश १

कांग्रेस प्रदेश १ मा तेस्रो धार मानिने कृष्ण प्रसाद सिटौला समुहका उद्धब थापा निवार्चित भए । थापालाई सभापति देउवा समुहले पनि सघाएको थियो । थापाले संस्थापन ईतर (पौडेल र शेखर कोईराला) समुहबाट मैदानमा उत्रिएका गुरु घिमिरेलाई दुई मतले जितेका हुन् ।

संस्थापनका थापाले ८४४ मत ल्याउँदा इतरका घिमिरेले ८४२ ल्याएर पराजित भए । तर अहिले घिमिरे समुहले पुन गणनाको माग राखेको छ । शनिबार भएको मतदानमा १८०४ मत खसेको थियो ।

पौडेल समुहका प्रदेश सभापति

गण्डकी प्रदेश

गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भए । शनिवार सम्पन्न निर्वाचनको मत परिमाण आईतबार आएको थियो । जसमा शर्माले ८४ मतले प्रतिद्धन्दी अर्जुन प्रसाद जोशी पछि पारेका थिए । शर्माले ६ सय १२ मत ल्याएर विजयी भए भने जोशी ५ सय २८ मत मात्र ल्याए । शर्मा वरिष्ठ नेता पौडेल र शंशाक कोइरालाको समर्थनमा सभापति बनेका हुन । जोशी संस्थापन (देउवा)को समर्थनमा प्रतिष्पर्धामा उत्रिएका थिए । १ हजार १४६ मत खसेको थियो । उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेको थियो ।

उपसभापतिमा कल्पना तिवारी विजयी भएकी छन् । महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ, सह महामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट निर्वाचित भए ।

लुम्बिनी प्रदेशमा

लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर (पौडेल) समुहबाट मैदानमा उत्रिएका अमर पुन विजयी भएका छन् । पुनले ८५ मतले विजयी भएका हुन् । पुनले ८५२ मत ल्याएर संस्थापन समूह (सभापति शेरबहादुर देउवा) का भरत शाहलाई पराजित गरेका हुन् । शाहले ७६७ मत मात्र पाए । पुन समुहका अधिकाशं पदाधिकारी निवाचित भएका छन् । यस प्रदेशमा एक हजार ६३१ मत खसेको थियो ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया