शुक्रबार, वैशाख १४, २०८१

किम्फको १९ औं संस्करण मंसिरको तेस्रो सातादेखि

मेरोन्यूज २०७८ मंसिर १९ गते २०:४१

काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण मंसिरको तेस्रो साता हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही मंसिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिएको हो ।

किम्फको यो संस्करणमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्रको अनलाइन र प्रत्यक्ष प्रदर्शन गरिने भएको छ ।

यो वर्ष किम्फमा एउटा विधा ‘जलवायु कर्म’ राखिएको बताइएको छ । किम्फको उद्घाटनको लागि भारतका वातावरणविद् सोनम वाङ्चुक आउनुहुने भएको छ।

महोत्सवमा अनलाइनबाट देखाइने चलचित्रहरु किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सवको अवधिभर हेर्न सक्ने जनाइएको छ ।

यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नेलाई २ लाख रुपैयाँ, दोस्रो हुनेलाई डेढ लाख र तेस्रो स्थान हासिल गर्नेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ ।

नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार रुपैयाँ र उत्कृष्ट चलचित्रले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट माउन्टेन फिल्मले एक हजार अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया