शुक्रबार, वैशाख ७, २०८१

कांग्रेस महोत्तरी ३ को निर्वाचन बदर

मतदान अधिकृतलाई अपहरण गरी हस्ताक्षर गर्न लगाएको दाबी

मेरोन्यूज २०७८ मंसिर १९ गते १६:१६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनमा वितरण गरिएका सम्पूर्ण प्रमाणपत्र रद्द गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले यसअघि वितरण गरिएको सबै प्रमाणपत्रहरूलाई रद्द गरी क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्न निर्देशन दिइएको जानकारी दिए ।

श्रेष्ठका अनुसार जिल्ला निर्वाचन अधिकृत इन्द्रबहादुर अधिकारीले समितिमा प्रस्तुत गरेको प्रतिवेदनलाई मध्यनजर गरी महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई वितरण गरिएको प्रमाणपत्र रद्द गरिएको छ ।

क्षेत्र नम्बर ३ मा निर्वाचन गराउन खटिएका मतदान अधिकृत धीरेन्द्र मण्डलले आफूलाई अपहरण गरी जबरजस्ती प्रमाणपत्रमा हस्ताक्षर गराउन लगाइएको भन्दै मान्यता नदिन जिल्ला निर्वाचन समितिसँग आग्रह गरेका थिए ।

प्रक्रिया नै पूरा नगरी मतदान अधिकृतलाई बन्धक बनाइ जबरजस्ती प्रमाणपत्र बाँडिएको भन्दै क्षेत्र नम्बर ३ का अधिकांश काँग्रेस कार्यकर्ताले अधिवेशन नमान्ने बताएका थिए ।

प्रतिक्रिया