शनिबार, वैशाख ८, २०८१

कमल थापाले गरे लिङदेनको सपथ कार्यक्रम बहिष्कार (फोटोफिचर)

मेरोन्यूज २०७८ मंसिर १९ गते १५:५२

काठमाडौँ । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित कार्य समितिको सपथ कार्यक्रम निवर्तमान अध्यक्ष कमल थापाले बहिष्कार गरेका छन् ।

अध्यक्षमा पराजित भएका थापाले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका हुन् ।

कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि उपस्थिति जनाएका छन् ।

नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट सपथ लिए । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराएका थिए ।

त्यसलगत्तै नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई अध्यक्ष लिङदेनले सपथ दिलाएका छन् । कार्यक्रममा केन्द्रिय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनलाई प्रमाणपत्र वितरण गरेका थिए ।

काठमाडौंको भृकटीमण्डपमा आइतबार बिहान सम्पन्न एकता महाधिवेशनबाट लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । राप्रपाको १९९ सदस्यीय केन्द्रिय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन ।

अध्यक्षमा पराजित भएपछि थापाले आइतबार विहानबाट नै सामाजिक सञ्जालबाट आक्रोश पोखिरहेका छन् । उनले खासगरी आफ्नो पराजयलाई पूर्वराजा ज्ञानेन्द्रसँग जोडेका छन् । थापाले समाजिक सञ्जालमै निर्मल निवासको नाङ्गो हस्तक्षेप भनी टिप्पणी गरेका छन् ।

निर्वाचन परिणाम लगत्तै थापा समूहको काठमाडौंको एक होटलमा बसेर निर्वाचनको समिक्षा गरिएको थियो । उक्त समिक्षा कार्यक्रममा थापा पक्षबाट महामन्त्रीमा निर्वाचित भुवन पाठक लगायतका निर्वाचित पदाधिकारीसहित सदस्यहरु उपस्थिति थिए ।

थप तस्बीरहरु

तस्बीरहरुः जुली गिरी

प्रतिक्रिया