बिहीबार, चैत १५, २०८०

राप्रपा महाधिवेशन

कमल थापाको सोह्र वर्षे नेतृत्व, फाप कि अफाप ?

मेरोन्यूज २०७८ मंसिर १८ गते २०:५५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पहिलो पटक २०६२ पुसमा पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको पहिलो पटक अध्यक्ष बनेका थिए ।

पार्टी विभाजन र एकता हुँदा पनि एकल वा सामुहिक पद्धतिमा पनि थापा पार्टी नेतृत्वमै रहे । पछिल्लो पटक पार्टी एकतापछि पशुपतिशम्शेर जबरा, लोकेन्द्रबहादुर चन्द र थापा तीनै जना पार्टी अध्यक्ष रहेकैबेला बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन चलिरहेको छ ।

एकता महाधिवेशनमा भने थापालाई जबरा र चन्द नभई आफैले महामन्त्री बनाएका राजेन्द्र लिङ्देन आफ्ना प्रतिद्वन्द्वी भएर खडा भएका छन्, जसले १६ वर्षे नेतृत्वको एक्लो वृहस्पति मानिएका थापालाई चुनौति बनेको छ ।

राप्रपाको राजनीतिक परिदृष्य

२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि ०४७ सालमा पूर्वपञ्चहरु संगठित भएका थिए । जतिबेला सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरापछिको पाँचौ बरियताका थिए, कमल थापा ।

तर पञ्चायतकालमा प्रधानमन्त्री, मन्त्रीसमेत भइसकेका तिनै पञ्चहरुले प्रजातन्त्रको स्थापनापछि ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ नाम दिएर संगठन बनाउँदै गर्दा एकै ठाउँमा अटाएनन् ।

२०४७ जेठ १५ गते एकैदिन लोकेन्द्रबहादुर चन्द नेतृत्वमा राप्रपा (चन्द) र सूर्यबहादुर थापा नेतृत्वमा राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा गरिए ।

पार्टी घोषणा भएको एक वर्षपछि भएको आम निर्वाचनमा देशभरका २०५ निर्वाचन क्षेत्रमध्ये राप्रपा(चन्द)ले तीन सिट मात्रै जित्यो भने राप्रपा (थापा)ले एक सिटमा चित्त बुझाउनु पर्यो ।

उक्त निर्वाचनमा राप्रपा (चन्द) को सिन्धुपाल्चोकबाट पशुपतिशम्शेर राणा, नुवाकोटबाट प्रकाशचन्द्र लोहनी र रसुवाबाट रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए भने राप्रपा (थापा)को दार्चुलाका अकबरबहादुर सिंहले मात्रै चुनाव जितेका थिए । प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आम निर्वाचनको उक्त परिणामले पञ्चहरुको साख गिरायो ।

पहिलो निर्वाचन परिणामपछि एकतामा जोड दिए । २०४८ माघमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द एक भए । सूर्यबहादुर थापा नेतृत्वको राप्रपा ०५१ सालको मध्यावधि चुनावमा देशभर १९ सिट जितेर संसदको तेस्रो शक्ति बन्यो ।

तर सत्ता र शक्तिको लालचाकै कारण चन्द र थापा एकअर्काबीचको होडबाजी कायम रह्यो । २०५४ सालमा एमालेसँगको गठबन्धनमा चन्द प्रधानमन्त्री बनेपछि थापा चन्दलाई नै ढाल्ने खेलमा लागे ।

राप्रपा खिचातानीमा कमल थापाको दाउपेच

देउवा सरकारमा स्थानीय विकासमन्त्री रहेका कमल थापा भने राप्रपाको गुटगत राजनीतिको फाइदा उठाउँदै चन्द नेतृत्वको सरकारमा परराष्ट्र र स्थानीय विकास मन्त्रालय सम्हाल्न पुगे । सत्ताको किचला फेरि चन्दको कित्ता बदलेर कमल थापा सूर्यबहादुरको क्याम्पमा आए । राप्रपा पुनः विभाजित भई थापा र चन्द समूहमा फर्कियो । ०५६ सालको आम निर्वाचनमा विभाजित दुई राप्रपा मध्ये थापाले ११ सिट जिते भने चन्द सून्यमै हरायो ।

थापा–चन्दले २०५७ सालमा फेरि पार्टी एकीकण गरे । २०५९ सालमा ज्ञानेन्द्र शाहले देउवा सरकार बर्खास्त गरेपछि भने कमल थापाले राजालाई साथ दिन पुगे । र, शाहको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीसमेत बने । राजाको प्रत्यक्ष शासनको पक्षमा लागेका थापाले अन्ततः २०६२ सालमा पार्टी फुटाएर राप्रपा नेपाल गठन गरी आफू अध्यक्ष भएको घोषणा गरे ।

पहिलो संविधानसभामा राप्रपाले नराम्रो हार ब्यहोरे पनि हिन्दु राज्य र राजसंस्थाको मुद्दा बोकेका कमल थापाको राप्रपा नेपालले दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट नजिते पनि समानुपातिकतर्फ २४ सिट पायो । चन्द–थापाको राप्रपाले भने प्रत्यक्षमा ३ र समानुपातिकमा ९ सिट प्राप्त गर्यो ।

०७२ सालमा सूर्यबहादुर थापाको निधनपछि ०७४ मंसिरमा पशुपतिशम्शेर र कमल थापाले पार्टी एकता गर्दै कमल थापा पार्टी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष बने ।

कमल थापासँग असहमति जनाउँदै प्रकाशचन्द्र लोहनीले पार्टी छोडिसकेका थिए भने राणाले पार्टी फुटाएर राप्रपा (प्रजातन्त्रिक) बनाए ।
अन्ततः राजावादी शक्तिहरु कमजोर हुँदै गएपछि पछिल्लो पटक ०७६ फागुन २४ मा कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनै जना अध्यक्ष रहने गरी पार्टी एकताको घोषणा गरे ।

तीनै जना अध्यक्ष रहेको राप्रपाको जारी महाधिवेशनमा १६ वर्षदेखि सत्ता र शक्तिको रसास्वादन गर्दै आएका कमल थापा फेरि पनि सिङ्गो राप्रपाको नेतृत्व हत्याउने प्रयत्न के हुने हो अबको केही घण्टापछि नै सार्वजनिक हुनेछ ।

यो पनि पढ्नुस्

कमल थापा भर्सेस राजेन्द्र लिङ्देन, को कति बलियो ?

प्रतिक्रिया