शुक्रबार, वैशाख १४, २०८१

तीन करोड लगानीमा खुलेको नवलपुरको थारु कम्युनिटी लज

नरेन्द्र रौले २०७८ मंसिर १८ गते १६:४०

नवलपुर । नवलपुरस्थित थारु कम्युनिटी होमस्टेको परिवेश कम्ति रमाइलो छैन । पहेंलपुर तोरीबारीको बिचमा रहेको यो होमस्टे शान्त र सुन्दर छ । स्थानीय जनजीवन, रहनसहन र संस्कृति नियाल्न पाउनु यहाँको विशेषता हो ।

होमस्टेबाट थोरै अगाडि बढेपछि नारायणी नदी पुगिन्छ । नारायणीको किनारमा बसेर मनमोहक दृश्यावलोकन गर्नु, जंगली वन्यजन्तु हेर्नु, साँझपख सूर्यास्त हेर्नुमा बेग्लै आनन्द छ ।

दोस्रो लकडाउन खुलेपछि नवलपुरको थारु कम्युनिटी होमस्टेमा पहिला भन्दा बाक्लै चहलपहल छ । नेपाली मात्र होईन विदेसीहरुको रोजाइमा पर्ने गरेको यो होमस्टेमा रुम पाउन गार्‍हो हुन्छ । अनलाइन र फोनका माध्यमबाट रुम बुक गर्न सकिने सञ्चालक मध्येका एक जनक चौधरीले बताए । पहिलो पटक २ वर्ष अगाडि यो होमस्टे सञ्चालनमा आएको हो । त्यसको पाँच महिनापछि लकडाउनले बन्द हुन पुग्यो ।
बिगत दुई महिना यता सञ्चालनमा आएपछि विशेषयरी विदेसीहरुको भीड लाग्ने गरेको सञ्चालक चौधरीले सुनाए । ‘केही अघि इजरायली, ब्रिटिशहरुको टिम आयो ।’ चौधरीले सुनाए, ‘अन्य देशबाट विदेशीको बुकिङ आइसकेको छ ।’

थारु कम्युनिटी होमस्टे तीन जना व्यक्तिको लगानीमा सञ्चालनमा आएको हो । जनक चौधरी (नवलपुर), वुद्धिसेन चौधरी (चितवन), ब्रम्देव चौधरी (सर्लाही) ले यसको सञ्चालन गरेका हुन् । नवलपुरका जनक चौधरीको पुख्र्यौली दुई बिघाहा जमिनमा यो होमस्टे फैलिएको छ । यसको सम्पूर्ण संरचना तयार हुन १ सय ५ दिन लागेको थियो ।

यस होम स्टेका सञ्चालक मध्येका एक जनक सुरुमा चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका ७ वटा लजहरु मध्ये चितवन जंगल लजमा काम गर्थे । उनले ०४२ देखि ०६९ सम्म नेचर गाइडको रुपमा काम गरे । ०६९ पछि निकुञ्जभित्रका होटलहरुको एग्रिमेन्ट नथपिएपछि बाहिर निस्किनु पर्‍यो । जुन होटलमा जनकले काम गर्थे, त्यो होटल सञ्चालनमा आएन । बरु नवलपरासीकै कावासोतीमा सञ्चालनमा आएको मचान कन्ट्री भिल्लामा दुई वर्ष काम गरे ।

उनले पछि गएर चितवनको बरौलीको होमस्टेमा पनि कामको अनुभव बटुले । आफ्ना अन्य दुई साथी वुद्धिसेन चौधरी, ब्रम्देव चौधरीसँग छलफल गरिसकेपछि नवलपुरमा थारु कम्युनिटी होमस्टे सञ्चालनमा आएको हो । सञ्चालक चौधरीका अनुसार हालसम्म एकमुष्ठ लगानी ३ करोड रुपंैयाँ खर्च भईसकेको छ ।

बुद्धिसेनले होमस्टेको मार्केटिङको जिम्मेवारी सम्हालिरहेका छन् भने जनकले म्यानेजमेन्ट सम्हालिरहेका छन् । ब्रम्देवले भने आफ्नै जागिर गरिरहेका छन् । थारु कम्युनिटी होमस्टेले गाइड, कुक, हाउसकिपिङ, ड्राइभर र वेटर गरेर १६ जनालाई रोजगारी प्रदान गरेको छ । यस होमस्टेमा जम्मा १५ वटा रुमहरु उपलब्ध छन् । जसमा ७ वटा एसि रुम र ८ वटा नन एसी रुम छन् । एसि रुमका लागि २ हजार ५ सय र नन एसिका लागि १ हजार ५ सय रुपंैयाँ मूल्य तोकिएको छ । विदेशीहरुका लागि भने फरक मूल्य तोकिएको छ । विदेशीका लागि एसी रुमको ४५ र एसी नभएको २५ डलर तोकिएको छ ।

थारु कम्युनिटी होमस्टेका आकर्षण

पाहुनाहरुको आगमन हँुदा थारु कम्युनिटी होमस्टे थारु पहिरनमा सजिएका व्यक्तिले फूलमाला, टीका लगाएर स्वागत गर्ने चलन छ । त्यसैदिन गाउ घुमाउने चलन पनि छ । साँझपख प्रोजेक्टरमार्फत संस्कृति, वाइल्ड लाइफको प्रस्तुती देखाउने गरिन्छ ।

अर्को दिन बिहान ब्रेकफास्ट खुवाएर ३ देखि ४ घण्टा जीप सफारी गराइन्छ । फर्केर खाना खाइसकेपछि सूर्योदयको दृश्यावलोकन गर्न र बोटिङ गर्न नारायणी नदी पुर्‍याइन्छ । साँझपख स्थानीय महिलाहरुले थारु नाँच प्रदर्शन गर्छन् । थारु नाँच ४५ मिनेटदेखि १ घण्टासम्मको हुने गर्छ । सर्ट स्टेप र लङ स्टेपको नाँचले आगन्तुकहरु मन्त्रमुग्ध हुन्छन् । थारु नाँच हेर्न अतिरिक्त ५ हजार रुपैंयाँ तिर्नुपर्ने हुन्छ ।

थारु नाँच देखाउन २२ जनाको छुट्टै टोली छ । डिनरपछि बार्बिक्यू गर्न पाइने सुविधा पनि छ । भिलेज वाक, जंगल सफारी, बर्ड वाचिङ, नारायणी नदीमा काठको डुंगामा बोटिङको आनन्द लिन पाउँदा यहाँ घुम्न आउनेहरु सबै कुरा भुलिदिन्छन् ।

थारु कम्युनिटी होमस्टेको मेनु

यो होमस्टेमा डिनर र लन्चसँगै थारु सेट, हाँसको छोयला, पोर्क बार्किक्यु, चिकेन बार्बिक्यू जस्ता आइटम उपलब्ध छन् । यो होमस्टेको मेनु धेरै महंगो छैन । भेज खानाको २ सय ५०, नर्मल चिकेनको ३ सय ५० रुपैंयाँ राखिएको छ । लोकल चिकेन र मटन खाना पनि अर्डर अनुसार बनाईन्छ । राती आँगनमा बार्बिक्यु गरेर बस्न, आगो ताप्न मिल्ने सुविधा पनि छ ।

कसरी पुग्ने होमस्टेसम्म ?

चितवनको भरतपुरबाट पूर्वी नवलपरासीको कावासोती पुगेपछि दक्षिणतिर अघि बढ्नुपर्छ । कावासोतीबाट यो होमस्टेसम्म पुग्न जम्मा ९ किलोमिटरको मात्र दुरी छ । फेसबुक पेज वा वेवसाइटमार्फत पनि सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया