बिहीबार, वैशाख ६, २०८१

‘ए’ डिभिजन लिगः मनाङले शीर्ष स्थानमा उक्लिने मौका गुमायो

मेरोन्यूज २०७८ मंसिर १८ गते १५:४८

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शनिवार भएको खेलमा संकटा क्लव र मनाङ मर्स्याङ्दी क्लबले अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा २–२ गोलको बराबरी भएपछि अंक बाँडेका हुन् ।

संकटालाई जित्न नसकेपछि मनाङ लिग तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

बराबरीपछि मनाङ ३ खेलबाट ७ अंक जोड्दै दोसो स्थानमा रहेको छ भने संकटा समान खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।

संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक÷एक गोल गर्दा मनाङका दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे ।

किर्तिमानी आठ पटकको च्याम्पियन मनाङविरुद्ध ३० औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।

लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । तर, खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा फर्काए ।

पुजन उपरकोटीको फ्रिकिकमा फ्रान्कलिन क्वेटाको पासमा भारतीय मिडफिल्डर दयानन्दले हेडरमार्फत गोल गरेका हुन । त्यसपछिको पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन ।

दोस्रो हाफमा दुबै टोलीले आक्रामक खेल देखाए । खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उत्तमले फोडे फोफानाको पासमा जाली चुमाउन सफल भएका थिए । त्यसपछि दबाबमा परेको आठ पटकको च्याम्पियन मनाङका लागि इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।

खेलमा संकटका टाम्पी अर्नेस्ट म्यान अफ दि म्याच चुनिँदा संकटाकै जय गुरुङ इमर्जिङ प्लेयर घोषित भए ।

प्रतिक्रिया