शनिबार, वैशाख १५, २०८१

संसद बैठक बोलाइएपछि एमसीसीबिरोधी दलहरु आन्दोलित

मेरोन्यूज २०७८ मंसिर १७ गते २१:४५

काठमाडौं । सरकारले संघीय संसदको दशौं अधिवेशन आह्वान गरेपछि एमसीसीविरोधी दलहरु आन्दोलित भएका छन् ।
संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि मंसिर २८ गतेका लागि संसदको दशौं अधिवेशन डाकेको छ ।

शुक्रबार शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन बोलाएकी हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नकै लागि संसद बैठक बोलाइएको एमसीसी विरोधी दलहरुले आशंका गरेका छन् ।
एमसीसी पास गर्नकै लागि संसद बैठक बोलाइएको भन्दै ती संगठनहरुले मंसिर २४ गते काठमाडौंमा प्रदर्शनको तयारी गरेका छन् ।

२६ राजनीतिक दल/संगठनको कार्यगत एकताको तर्फबाट नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै मंसिर २४ गते हुने एमसीसी विरुद्धको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।

एमसीसी पारित नभएकोबारेमा छलफल गर्न भन्दै केही समयअघि अमेरिकी उपविदेशमन्त्री काठमाडौं आएका थिए । उपविदेशमन्त्री नेतृत्वको अमेरिकी भ्रमण दलले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरी एमसीसी पास गर्न किन ढिला भएको भनी सोधेको थियो ।

अमेरिकी उपविदेशमन्त्रीद्वारा एमसीसी पारित गर्नका लागि तोकिएको समयसीमाभित्र बोलाइएको अधिवेशन त्यसै प्रयोजनको लागि भएको गजुरेलले दावी गरेका छन् ।

उक्त सम्झौता संसदमा पेश हुन र पारित हुन नदिनका लागि दबाब सिर्जना गर्न मंसिर २४ गते सशक्त विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिएको गजुरेलले बताए ।

उनकाअनुसार, मंसिर २४ गते दिउसो १२ः ३० बजे माइतीघर मण्डलाबाट नयाँ बानेश्वरस्थित संसद भवनसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

एमसीसी सम्झौता खारेजी आन्दोलनमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा माले लगायतका कम्युनिस्ट पार्टीहरुका साथै विभिन्न राष्ट्रवादी पार्टीहरु संलग्न छन् ।

संसदको दशौं अधिवेशन एमसीसी पारित गर्नकै लागि डाकिएको विपक्षी दलहरुले आशंका गरेका छन् ।

सर्वोच्च अदालतमा लामो समयदेखि चकिएको आन्दोलनकाबारेमा छलफल गर्न संसद अधिवेशन डाकिएको हुन सत्ता गठबन्धन दलका नेताहरुले बताएका छन् ।

२६ दलको अपिल

प्रतिक्रिया