शनिबार, वैशाख ८, २०८१

कांग्रेस माओवादी सांसदले भने– प्रधानन्यायाधीशलाई महाभियोग लगाउने तयारी भइरहेको छ

मेरोन्यूज २०७८ मंसिर १७ गते २०:४४

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र माओवादीका सांसदले प्रधानन्यााधीश चालेन्द्र शम्शेर जबरालाई महाभियोग लगाउने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै काँग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्यूत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउन उपयुक्त हुने बताए ।

सांसद अधिकारीले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि छैन भन्ने पुष्टि गर्न पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन ढिलाई गर्न हुन्न भन्ने पक्षमा आफूले सुरुदेखि नै अडान राख्दै आएको स्मरण गराए ।

वरिष्ठ अधिवक्ता समेत रहनु भएका सांसद अधिकारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाएर पदच्यूत गर्न सकिने आधार पर्याप्त रहेको उल्लेख गरे ।

यस्तै, सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मंसीर २८ गते संघीय संसद बैठक आह्वान गरिएको बताए ।

उनले प्रधानन्यायाधीश जबरालाई भ्रष्टको संज्ञा दिँदै छानवीनका लागि ११ सदस्यीय संसदीय छानवीन समिति गठन हुने बताए ।
दलहरुले प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउन छलफल गरिरहेको सांसद बिडारीको भनाई थियो ।

सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई भविष्यमा राज्यबाट कुनै पनि सेवा, सुविधा लिन नपाउने गरी संसदीय समितिले छानविन गर्ने पनि उल्लेख गरे ।

सांसद बिडारीले संसदले महाअभियोग लगाएपछि मात्रै प्रधानन्यायाधीश जबराको बर्हिगमन हुने पनि बताए ।

प्रतिक्रिया