शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस प्रदेश अधिवेशन

छ प्रदेशमै देउवा–पौडेलको छुट्टाछुट्टै प्यानलः को को छन् मैदानमा ?

मेरोन्यूज २०७८ मंसिर १७ गते २०:०२

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विहीबारबाट शुरु भएको प्रदेश अधिवेशनमा ६ प्रदेशमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले छुट्टाछुट्टै प्यालन प्रतिष्पर्धामा उत्रिएको छ ।

प्रदेश २ बाहेक ६ वटै प्रदेशमा निर्वाचन प्रक्रिया अघि बढेपछि संस्थापन र इतर समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । ६ वटै प्रदेशमा शनिवार मतदान हुँदैछ ।

शुक्रबार उम्मेदवारी दर्ता गर्ने र शनिबार मतदान गर्ने कार्यतालिका छ । सबै प्रदेशमा गुटगत प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको छ । कांग्रेसको कृष्णप्रसाद सिटौला र गगन थापा समूह भने देउवा गुटसँग मिलेर उम्मेदवार बनेका छन् । पाँच वटा प्रदेशमा संस्थापनसँग मिलेको सिटौला–थापा गुटले बाग्मति प्रदेशमा भने छुट्टै उम्मेदवारी खडा गरेको छ ।

बाग्मतिमा संस्थापन समूहबाट इन्द्रबहादुर बाँनियाको प्यानल, संस्थापन इतर (पौडेल–कोइराला) समूहबाट जगदीश्वरनरसिंह केसीको प्यानल उम्मेदवारी परेको छ भने सिटौला समूहका भिमसेनदास प्रधान पनि उम्मेदवार बनेका छन् । संस्थापनबाट सभापतिमा उठेका बानियाँ नेपाली कांग्रेसका बाग्मति प्रदेशको संसदीय दलका नेतासमेत हुन् ।

संस्थापनबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का उम्मेदवार बनेका छन् ।

संस्थापन इतर केसीको प्यानलमा उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल, कचनचन्द्र बादे तथा सहमहामन्त्रीमा जीवन डंगोल, दिलबहादुर तामाङ र ऋषिराम घिमिरे उम्मेदवार बनेका छन् ।
..

सुदूरपश्चिम प्रदेशमा पनि संस्थापन र इतर समूहले नै प्यानल उम्मेदवरी दर्ता गराएका छन् ।

संस्थापन समूहबाट पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर र इतर समूहबाट नारायणदत्त मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

बलायरको टीमबाट उप–सभापतिमा रघुबर भट्ट र जनकराज चौधरी, महामन्त्रीमा नरनारायण शाह (मनु) र मेघराज खडका, सह–महामन्त्रीमा चिन्तामणि भट्ट, गोपालदत्त भट्ट र अम्बिका चलाउनेले उम्मेदवारी दर्ता गराएका छन् ।

मिश्रको टीमबाट उपसभापतिमा गोपाल गुरुङ र मानबहादुर रावल, महामन्त्रीमा प्रताप गुर्धामी र रामबहादुर शाही, सह–महामन्त्रीमा पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।


कर्णाली प्रदेशमा कांग्रेसको त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । कर्णालीमा सिटौला समूहले संस्थापनलाई साथ दिँदै गर्दा उपसभापति विमलेन्द्र निधि निकट मोतीराज बमले पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।

कर्णाली प्रदेश सभापतिमा देउवा पक्षबाट ललितजंग शाही, पौडेल पक्षबाट भुपेन्द्रजंग शाही र निधि पक्षबाट मोतीराज बमले मनोनयन दर्ता गराएका छन् ।

कर्णाली प्रदेशको महामन्त्री पदमा देउवा पक्षबाट निरञ्जन केसी र पौडेल पक्षबाट कृष्ण विसीले उम्मेदवारी दर्ता गराएका छन् ।


गण्डकी प्रदेशमा संस्थापन समूहले अर्जुन जोशीको प्यानलसहित मनोनयन दर्ता भएको छ भने संस्थापन इतर समूहबाट शुक्रराज शर्माको प्यानलगत उम्मेदवारी परेको छ ।

जोशीको टिमबाट उपसभापति मेखलाल श्रेष्ठ र नेत्र महत तथा महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्काले मनोनयन दर्ता गराएका छन् । सहमहामन्त्रीमा महिलातर्फ ओमकला गौतम, खुलामा राजनराज पन्त र झुलबहादुर आलेको उम्मेदवारी दर्ता भएको छ ।

गण्डकीमा संस्थापन इतर पक्ष अर्थात शर्माको टिमबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी, महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने तथा सहमहामन्त्रीमा महिलातर्फ कोपिला रानाभाट र खुलामा रमेश पाण्डे र रामचन्द्र जोशीको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा युवराज बस्ताकोटी र गणेश सापकोटाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि संस्थापन पक्षबाट भरतकुमार शाह र संस्थापन इतर पक्षबाट अमरसिंह पुनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापन पक्षको शाह टिममा उपसभापति पदका लागि संस्थापनबाट राजु खनाल र सुधाकर पाण्डे, महामन्त्री पदमा संस्थापनबाट जन्मजय तिमिल्सिना र खिमान सिंह रायमाझी, सहमहामन्त्रीमा संस्थापनबाट लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुनले उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापन इतर पक्ष पुन टिमबाट उपसभापति पदका लागि भुवनप्रसाद श्रेष्ठ र अष्टभुजा पाठक, महामन्त्री पदमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा विष्णु खनाल (मुस्कान), खगराज पान्डेय र निमा गिरीले उम्मेदवारी दर्ता गरेका निर्वाचन समितिका प्रमुख डा. बुद्धबहादुर थापाले बताए ।


प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापा सभापतिको उम्मेदवार बनेका छन् भने पौडेल समूहबाट गुरुराज घिमिरे उम्मेदवार बनेका छन् । संस्थापनका थापा कृष्णप्रसाद सिटौला पक्षका हुन् ।

दुई उपसभापतिका लागि गोविन्द ढुंगाना, टंक राई, रमेशजंग रायमाझी र विश्वनाथ रिजालले उम्मेदवारी दिएका छन् ।

महामन्त्री पदका लागि थापा टिमबाट पद्मसुन्दर पालुङ्वा र भुपेन्द्र राई तथा संस्थापनइतर पक्ष अर्था तघिमिरे टिमबाट दिपेन श्रेष्ठ र उमेश थापाले उम्मेदवारी दिएका छन् ।

तीन सहमहामन्त्रीका लागि प्रमिला गच्छदार, मानबहादुर लिम्बु, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो, रोहितकुमार साह, इन्दिरा थापा, सुभाषचन्द्र राई, सीता कार्की, वीरकाजी राईले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश १ को १४ जिल्ला मध्ये ७ जिल्लामा संस्थापन पक्षले जितेको छ । झापामा देउवासँग एलायन्स भएको सिटौला पक्षका सभापति छन् ।

६ वटै प्रदेशमा शनिवार मतदान हुँदैछ ।

प्रतिक्रिया