शुक्रबार, चैत १६, २०८०

कांग्रेस सुदूरपश्चिम प्रदेशः देउवा–पौडेलको प्यानलगत उम्मेदवारी दर्ता

पुष्कर पौडेल २०७८ मंसिर १७ गते १९:१२

कैलाली । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

संस्थापन अर्थात देउवा प्यानलका सभापतिका उम्मेदवार बीरबहादुर बलायर र पौडेल पक्षका नारायण मिश्रले प्यानल बनाएर शुक्रबार उम्मेदवारी दर्ता गरेका हुन् । सभापतिका लागि पाँच जनाले उम्मेदवारी नै घोषणा गरेको अवस्थामा अन्तिममा चर्चामै नरहेका बलायर संस्थापन पक्षबाट सभापतिका उम्मेदवार बन्न पुगेका हुन् ।

बलायरको टीमबाट उप–सभापतिमा रघुबर भट्ट र जनकराज चौधरी, महामन्त्रीमा नरनारायण शाह (मनु) र मेघराज खडका, सह–महामन्त्रीमा चिन्तामणि भट्ट, गोपालदत्त भट्ट र अम्बिका चलाउनेले उम्मेदवारी दर्ता गराएका छन् ।

मिश्रको टीमबाट उपसभापतिमा गोपाल गुरुङ र मानबहादुर रावल, महामन्त्रीमा प्रताप गुर्धामी र रामबहादुर शाही, सह–महामन्त्रीमा पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार बिहान ८ बजेदेखि मतदान हुने प्रचार–प्रसार समिति संयोजक नृपबहादुर सुनारले जानकारी दिए ।

उम्मेदवार दर्तापछि बलायरले भने– बाध्यात्मक उम्मेदवारी

सुदूरपश्चिममा काँग्रेसको संस्थापन समूहकाबीच सहमति नजुटेपछि देउवा गुटबाट प्रदेश सभापति पदमा उम्मेदवारी दर्ता गराएका पूर्वमन्त्री बलायरले आफ्नो उम्मेदवारीलाई बाध्यात्मक भनेका छन् ।

सभापति पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै बलायरले आफ्नो उम्मेदवारीलाई बाध्यात्मक भनेका हुन् ।

सुदूरपश्चिममा काँग्रेसको संगठनलाई शसक्त बनाउनका लागि सबैले आफूलाई सभापतिमा उठ्नुपर्छ भनेर जोड गरेपछि उम्मेदवार बनेको उनले बताए । अब काँग्रेसको नाममा सूर्यमा भोट हाल्ने प्रवृत्ति अन्त्य गरिने उनले बताए ।

उनले प्रदेशका ९ वटै जिल्लामा आफनो नेतृत्वको संगठनले पाँच वर्षभित्र आगामी निर्वाचनमा नयाँ रुपातरण ल्याउने आफ्नो प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया